खेल

चेल्सीको जितमा ओलिभर जिरौड निर्णायक

ओलिभर जिरौडको निर्णायक गोलमा चेल्सीले मंगलबार च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा एट्लेटिको मड्रिडमाथि १–० को जित हात पारेको छ। ६८औं मिनेटमा जिरौडले गरेको गोल चेल्सीलाई अघिल्लो चरण प्रवेश सम्भावना जीवित राख्न पर्याप्त बन्यो। पहिले अफसाइड भन्दै उनको गोल मान्य भएन। 

भिडियो सहायक रेफ्री (भिएआर) बाट चेल्सी अग्रता लिन सफल भएको थियो। ‘मैले गरेको गोलका बारेमा कसले के सोचे, मलाई थाहा भएन,’ जिरौडले भने, ‘मैले पाएको अवसरमा प्रहार मात्र गरेको हुँ। बलले जाली चुम्न सफल भयो। मलाई म अफसाइड थिएँ वा थिइनँ भन्नेबारे केही पनि थाहा थिएन।

यी दुई टोलीबीच मार्च १७ मा चेल्सीको घरेलु मैदानमा दोस्रो लेगको खेल हुनेछ। स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहे पनि डिएगो सिमोनीको टोलीले लिगका पछिल्ला ४ खेलमा मात्र १ जित हात पारेको छ। चेल्सीसँगको हारले सिमोनीमाथिको दबाब थपिएको छ। ‘हामीले स्वाभाविक प्रदर्शन गरिरहेका छाैं,’ सिमोनीले भने, ‘तर पनि नतिजा हाम्रो पक्षमा आइरहेको छैन। यो हारले हामी निराश भएका छैनौं। हामी अझै मिहिनेत गर्दै छिट्टै जितको लयमा फर्कनेछौं।

‘हामीलाई एट्लेटिकोको बलियो र कमजोर पक्ष थाहा थियो। हामीले त्यही रणनीतिअनुसारको प्रदर्शन गर्‍याैं,’ जिरौडले भने, ‘हामी यो जितबाट क्वार्टरफाइनल प्रवेशको नजिक पुगेका छाैं तर स्थान पक्का गरिसकेका भने छैनाैं। त्यसैले हामीले अझ उत्कृष्ट प्रदर्शन गर्दै निरन्तर जितको लय दिन आवश्यक छ।’ स्पेन सरकारले लगाएको लकडाउनका कारण मड्रिडमा हुनुपर्ने खेल बुखारेस्टमा खेलाइएको थियो।

च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा ला लिगाका तीन क्लब घरेलु मैदानमा सम्पन्न पहिलो लेगमा निराश भएका छन्। यसअघि गत साता बार्सिलोना घरेलु मैदानमा पेरिस सेन्ट जर्मन (पिएसजी) सँग र सेभिया बोरुसिया डर्टमन्डसँग निराश भएका थिए।

च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगअन्तर्गत मंगलबार नै भएको अर्को खेलमा बुन्डेसलिगा महारथी बायर्न म्युनिखले लाजियोमाथि ४–१ को सहज जित हात पारेको छ। बायर्नको सहज जितमा रोबर्ट लेवान्डोवस्की,जामल मुसियाला र लोरी सानेले समान एक गोल गर्दा लाजियोका फ्रान्सिस्को अर्काबीले आत्मघाती गोल गरेका थिए। कोरियाले एक गोल गरे पनि लाजियोलाई खेलमा फर्काउन पर्याप्त भएन।

प्रकाशित: १३ फाल्गुन २०७७ ०२:३२ बिहीबार