खेल

दक्षिण एसियाली एन्टिडोपिङको बोर्ड सदस्यमा डा. शाह

नेपाली खेलकुद क्षेत्रमा काम गर्दै आएका डा. ज्ञानेन्द्रविक्रम शाह दक्षिण एसियाली क्षेत्रीय एन्टिडोपिङ अर्गनाइजेसनको बोर्ड सदस्यमा मनोनयन भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद चिकित्सा तथा अध्ययन केन्द्रमा विज्ञको रूपमा कार्यरत डा. शाह आगामी सन् २०२४ फेब्रअुरीसम्मका लागि नियुक्त भएका हुन्। युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रेमराज खरेलद्वरा हस्ताक्षरित पत्रअनुसार डा। शाहले उक्त जिम्मेवारी पाएका हुन्।

यसअघि डा.सरोजकृष्ण श्रेष्ठले १३ वर्षदेखि यो जिम्मेवारी समाल्दै आएका थिए। यद्यपि, श्रेष्ठको पदावधि सन् २०१९ मा सकिए पनि नेपालको आन्तरिक ढिलाइका कारण डा. शाह गत फेब्रुअरीदेखि तीन वर्षसम्म मात्र बोर्डमा रहनेछन्। डा.शाह हड्डी तथा नसा रोगसम्बन्धी विशेषज्ञ हुन्।  

डा. शाह वीर अस्पतालको ट्रमा सेन्टरमा हड्डी तथा नसा रोगसम्बन्धी विशेषज्ञ हुन्। दक्षिण एसियाली क्षेत्रीय एन्टिडोपिङ अर्गनाइजेसनको बोर्डमा रहँदा डा. शाहले नेपालमा एन्टिडोपिङसम्बन्धी गतिविधिको अध्ययन अनुसन्धान, प्रचारप्रसार गर्नुका साथै त्यसबारे कार्यप्रगतिको नियमित अध्यावधिक प्रतिवेदन मन्त्रालयमा प्रस्तुत गर्नुपर्नेछ।

नेपालमा हालसम्म पनि एन्टिडोपिङको कुनै संस्था नभएका कारण नेपाल ओलम्पिक कमिटी (एनओसी) मार्फत नै एन्टिडोपिङका गतिविधि हुँदै आएका छन्। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले राष्ट्रिय एन्टिडोपिङ एजेन्सी गठनको परिकल्पना गरे पनि त्यसको प्रक्रिया सुरु हुने सकेको छैन। 

प्रकाशित: १२ फाल्गुन २०७७ ०४:३८ बुधबार

दक्षिण एसियाली एन्टिडोपिङ बोर्ड सदस्यमा डा.शाह राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद चिकित्सा तथा अध्ययन केन्द्रमा विज्ञ