खेल

रुचाइएनन् सन्दीप

नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आइपिएल) अक्सनमा कुनै पनि क्लबले खरिद गरेन। बिहीबार चेन्नईमा आइपिएलको २०२१ संस्करणका लागि भएको अक्सनमा कुनै पनि टोलीले सन्दीपलाई खरिद गर्ने इच्छा देखाएनन्। 

सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु थियो। यद्यपि अन्तिम समयमा कुनै टोलीले आग्रह गरेमा सन्दीप पुनः अक्सनमा आउन सक्छन्। त्यसका लागि उनलाई क्लबले न्यूनतम मूल्यमै अनुबन्धन गर्न सक्नेछ। सन् २०१८ मा सन्दीपलाई दिल्ली क्पापिटल्सले २० लाख भारुमा अनुबन्धित गरेको थियो। दुई सिजन दिल्लीमा रहेका सन्दीपलाई यस सिजन भने क्लबले रिलिज गरेको थियो। यस पटकको अक्सनमा २ सय ९२ खेलाडी मध्ये १ सय ६४ भारतीय र १ सय २६ विदेशी तथा ३ एसोसिएट खेलाडी थिए। 

सन्दीप एसोसिएट खेलाडीको सूचीमा थिए। सन्दीपले आइपिएलका दुई सिजनमा ९ खेल खेल्दै १३ विकेट लिएका छन्। गत सिजन भने उनी बेन्चमै सीमित थिए। दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिस आइपिएल इतिहासमै सबैभन्दा महँगो मूल्यमा बिक्री हुने खेलाडी बने। मोरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा अनुबन्धित गरेको हो। त्यस्तै रोयल च्यालेन्जर्स बेंगलोरले अस्ट्रेलियाका ग्लेन म्याक्सवेललाई १४ करोड २५ लाख भारुमा भित्र्यायो। 

यता दिल्लीले अस्ट्रेलियाका स्टिभ स्मिथलाई २ करोड २० लाख भारुमा भित्र्याउँदा चेन्नई सुपरकिङ्सले ७ करोड भारुमा इङ्ल्यान्डका मोइन अलीलाई अनुबन्धित गर्‍यो।

प्रकाशित: ७ फाल्गुन २०७७ ०५:१९ शुक्रबार

लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग