खेल

विराटनगरसँग पुलिस स्तब्ध

नेपाल पुलिस क्लबविरुद्ध बल अगाडि बढाउँदै विराटनगरकी कुसुम खतिवडा । तस्बिर : नागरिक

मोफसलको टोली विराटनगर महानगरपालिकासँग स्तब्ध भएसँगै नेपाल पुलिस क्लबका प्रशिक्षक सञ्जीव जोशीले आफ्नो टोलीको लक्ष्य जारी महिला राष्ट्रिय फुटबल लिगमा दोस्रो या तेस्रो स्थान रहेको बताएका छन्।  

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बुधबार भएको दोस्रो खेलमा विराटनगर महानगरपालिकासँग १–० ले स्तब्ध भएपश्चात् पुलिसका प्रशिक्षकले सो किसिमको प्रतिक्रिया दिएका हुन्। खेलको सुरुआतमै पार्वती घलेले गरेको गोल निर्णायक बनेपछि पुलिसले जारी लिगमा दोस्रो हार बेहोरेको थियो। सात टोली सम्मिलित लिगमा बुधबार पहिलो चरणको लिग खेल सकिएको छ। यो हारसँगै पुलिस ६ खेलबाट ८ अंकसहित चौथो स्थानमा झर्दा विराटनगर तेस्रो स्थानमा उक्लिएको छ।  

पुलिसका प्रशिक्षक जोशीले आशातीत खेलाडीको प्रदर्शन राम्रो हुन नसक्नु र पाएका अवसर पनि सदुपयोग नहुँदा हार सामना गर्नुपरेको बताए। ‘आजको खेलमा केही अवसर पनि गुमायौं। आशा गरेका खेलाडीले पनि राम्रो प्रदर्शन गर्न सकेनन्,’ पुलिसका प्रशिक्षक जोशीले भने, ‘सुरुआतमै गोल बेहार्दा दबाबमा पर्‍यौं। केही खेलाडी विभागीय तालिममा रहेकाले पनि तालमेल मिल्न सकेन। अब हाम्रो लक्ष्य दोस्रो या तेस्रो स्थानका लागि हुनेछ।’

जोशीले पहिलो चरणमा आशाअनुरूप प्रदर्शन गर्न नसकेको स्वीकार गर्दै दोस्रो चरणको लिगमा सुधार गर्ने लक्ष्य रहेको बताए। विराटनगरविरुद्ध पुलिसले चोटका बावजुद डिफेन्डर पूजा रानालाई खेलाएको थियो। यद्यपि, पूजाले नै आफू खेल्न तयार रहेको बताएपछि उनलाई अवसर दिएको प्रशिक्षक जोशीले स्पष्ट पारे। पुलिसले समान २/२ जित र बराबरीको नतिजा निकालेको छ। लिगमा तुलनात्मक रूपमा बलियो टोली मानिएको पुलिसविरुद्ध जित निकाल्दै विराटनगरले ६ खेलबाट तीन जित, दुई हार र एक बराबरीको नतिजा आत्मसात् गरेको छ।

विराटनगरका प्रशिक्षक पारस चौधरीले बलियो टोलीविरुद्ध खेलाडीले राम्रो प्रदर्शन गरेको उल्लेख गरे। ‘बलियो टोलीविरुद्ध राम्रो प्रदर्शन गरे। सुरुमै गोल निक्लियो र दुई भारतीय डिफेन्डरको तालमेल मिल्दा पुलिसलाई रोक्न सफल भयौं,’ चौधरीले भने। सेटका केही खेलाडी सुरुआती बेन्चमा राखेको पुलिसले खेलमा पछि परेपछि सेटका खेलाडीलाई मैदान पठाए पनि सफलता पाउन भने सकेन। विराटनगरले नवौं मिनेटमा पार्वतीको गोलबाट अग्रता लिएपछि पुलिस दबाबमा परेको थियो।

त्यसपछि खेलमा फर्कन संघर्ष गरे पनि पुलिसले सफलता पाउन सकेन। भारतीय खेलाडी शारदा कुमारी र आशा कुमारीले गोल अवसर गुमाउँदा विराटनगर फराकिलो जित निकाल्नबाट चुकेको थियो। पुलिसले पनि दुई अवसर सदुपयोग गर्न सकेन।

आर्मीकी शर्मिलाको ह्याट्रिक  

बुधबारै सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले तालिकामा अंकविहीन चौदण्डीगढी नगरपालिकामाथि १२–० को फराकिलो जित निकाल्यो। शर्मिला थापामगरको ह्याट्रिकसहित पाँच गोलको मद्दतबाट आर्मीले चौदण्डीगढीविरुद्ध फराकिलो जित निकालेको थियो। खेलको छैटौं मिनेटमा गोलको खाता खोलेकी शर्मिलाले १२औं र २३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन्। उनले २९औं र ३६औं मिनेटमा थप गोल गरिन्।

आर्मीका सपना लामाले दुई गोल तथा अन्जली वाइबा, हेमा चौधरी, विमला चौधरी, रश्मि घिसिङ र विमला विकले १/१ गोल गरेका थिए। पहिलो चरणको खेल सकिँदा आर्मी ६ खेलबाट १३ अंकसहित दोस्रो स्थानमा यथावत् छ भने पराजित चौदण्डीगढीले समान खेलबाट हालसम्म अंकखाता खोल्न सकेको छैन। आर्मीले चार जित र एक बराबरीको नतिजा निकाल्दा शीर्ष स्थानको एपिएफसँग मात्र हार बेहोरेको छ।  

६ नै खेलमा अपराजित शीर्ष टोली एपिएफको १८ अंक छ। महिला लिगमा दोस्रो चरणका खेल आगामी शनिबारबाट सुरु हुनेछन्। दोस्रो चरणको पहिलो खेलमा आर्मीले कमजोर देखिएको चौदण्डीगढीविरुद्ध चुनौती प्रस्तुत गर्नेछ।

प्रकाशित: २२ माघ २०७७ ०६:४९ बिहीबार

नेपाल पुलिस क्लब महिला राष्ट्रिय फुटबल लिग