खेल

महिला भलिबल टोलीले एसियन च्याम्पियनसिप खेल्ने

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा यादगार प्रदर्शन गरेको नेपाली महिला भलिबल टोलीले एसियन च्याम्पियनसिप खेल्ने भएको छ। चीनको गोङ्झाउमा आगामी अगस्ट २९ देखि सेप्टेम्बर पाँचसम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालले खेल्ने भएको हो। एसियन भलिबल महासंघ (एभिसी) को बैठकबाट नेपाललाई उक्त च्याम्पियनसिप खेल्ने अवसर मिलेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए। यससँगै नेपालले एसियन च्याम्पियनसिप दोस्रो पटक खेल्न लागेको हो। यसअघि सन् १९८३ मा नेपालको पुरुष टोलीले जापानमा भएको एसियन च्याम्पियनसिप खेलेको थियो।

आयोजकको हैसियतले चीनसहित १६ राष्ट्रले प्रतिस्पर्धा गर्दा गत संस्करणका शीर्ष १० टोलीले सीधै प्रतिस्पर्धा गर्ने अवसर पाएका हुन्। सेन्ट्रल जोनमध्ये इस्ट जोन र वेस्ट जोनबाट कुनै पनि राष्ट्रले दाबेदारी प्रस्तुत नगरेकाले उज्वेकिस्तान, श्रीलंका र नेपाललाई च्याम्पियनसिपमा सहभागी गराउने एभिसीले निर्णय गरेको हो। नेपाल भलिबल संघका महासचिव चन्दले कोभिड–१९ का कारण च्याम्पियनसिप प्रभावित नभएमा नेपालले ठूलो अवसर प्राप्त गरेको उल्लेख गर्दै आगामी वैशाखदेखि तयारी थालिने बताएका छन्।

‘कोभिड–१९ को अवस्था हेरेर एभिसीले दुई महिनाअघि खेल हुने÷नहुने विषयमा पक्का गर्नेछ। हामीले राम्रो अवसर पाएका छौं। हामीले जोनबाट छनोट नखेली अवसर पाएका छौं। त्यसैले यो अवसर सदुपयोग गर्न राम्रो तयारी गर्ने लक्ष्य छ,’ चन्दले भने, ‘यदि कोरोनाबाट प्रभावित भएन भने समय तालिम सुरु गर्नेछौं।’ पछिल्ला समय अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सुखद नतिजा ल्याएको नेपाली महिला भलिबल टोलीले सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न लागेको छ।

महिला भलिबल टोलीले गत वर्ष घरेलु भूमिमा सम्पन्न १३औं सागमा सनसनीपूर्ण प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको थियो। यद्यपि, जितनजिक पुगेर नेपाली महिला भलिबल टोली भारतसँग ३–२ ले पराजित हुँदा स्वर्ण जित्नबाट चुकेको थियो। यद्यपि, त्यसअघि बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबलमा स्वर्ण पदक जित्दै नेपाली महिला भलिबल टोलीले सबैभन्दा ठूलो सफलता प्राप्त गरेको थियो।

प्रकाशित: २१ माघ २०७७ ०५:२२ बुधबार