खेल

आहा–रारा गोल्डकप गर्न चैत तेस्रो साताको समय माग

मोफसलकै प्रतिष्ठित आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १९ औं सस्ंकरणको संघारमा छ । सहारा क्लव पोखराले १९ औं संस्करणको गोल्डकपको लागि आन्तरिक तयारी गरिरहेको छ । यद्यपी अखिल नेपाल फुटबल संघ(एन्फा)ले तिथि भने उपलब्ध गराईसकेको छैन् ।  

सहारा क्लवले आहा राराको १९ औं संस्करणलाई चैतको तेस्रो साता आयोजना गर्ने गरी तयारी गरिएको जनाएको छ । ‘माघमा आयोजना गर्ने योजनामा थियौं तर समय पर्याप्त नहुदाँ चैतको तेस्रो सातादेखि गर्ने योजना बनाएको छौ,’ सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले भने, ‘एन्फाले मिति तोकिदिएको अवस्था छैन । यद्यपी हामीले आन्तरिक गृहकार्य भने गरिरहेका छौं ।’ 

चैत ११ गतेदेखि कोरोना भाइरसको कहरसँगै लकडाउन शुरु भएको थियो । त्यसपछि सबै क्षेत्र ठप्प हुन पुग्यो । विस्तारै खेलकुद क्षेत्र चलायमान बन्दै गएको छ । नेपालगन्जमा म्याराथन आयोजनापछि आधिकारीक रुपमा खेलकुदका प्रतियोगिता शुरु भएका हुन् । त्यसपछि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरियो । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता भने चलिरहेको छ ।  

मोफसलका केही जिल्लामा स्थानीयस्तरमै फुटबलका गतिविधि शुरु भईसकेको छ । अखिल नेपाल फुटबल संघले मोसफलको ठुला नकाउट फुटबल प्रतियोगिता आयोजनाको जिम्मेवारी क्लवहरुलाई दिईसकेको छैन । ‘चैतको १७ गतेदेखि २८ गतेसम्मको मिति माग गरिएको छ,’ क्लब अध्यक्ष थापाले भने, ‘त्यो मितिमा आयोजना गर्न पाए आन्तरिक तयारी भ्याईन्थ्यो ।’ कुनै बेला मोफसलकै नकाउट फुटबल प्रतियोगिताले फुटबल धानिएको अवस्था थियो । एन्फाले २०७७ सालमा नकाउट फुटवल प्रतियोगिताको लागि कुनै तालिका नै दिएको छैन ।  

कोरोनाले लामो समय अस्तव्यस्त रहँदा फुटवल कुन रुपमा शुरु हुन्छ भन्ने अझै अन्यौल छ । राष्ट्रिय ए डिभिजन लिग, बी डिभिजन एवं महिला लिगको तयारी एन्फाले गरेको छ । एन्फाले मोफसलको प्रतियोगिताको लागि तत्काल पत्र नआईसकेको अवस्थामा हुदाँ अन्यौलता रहेको सहारा क्लबले जनाएको छ । क्लब अनुसार एन्फाकै पदाधिकारीको सुझाव अनुसार चैतको तेस्रो साताको समय मागिएको हो ।  

एन्फाले कुन र कस्तो मोडालिटीमा फुटबल प्रतियोगिता सञ्चालन गर्ने भन्ने यकिन गरेको छैन् । मोडालिटीको बारेमा प्रष्ट नहुदाँ मोफसलका प्रतियोगिता आयोजना गर्न अन्यौल रहेको छ । ‘उहाँहरु (एन्फाका पदाधिकारी)ले लिगको तयारीसँगै मोडालिटी तयार गरेको बताएका छन्,’ अध्यक्ष थापाले भने–‘मोडालिटी दिए स्वास्थ्य र सुक्षाको मापदण्ड अपनाएर आयोजना गर्ने थियौं ।’  

पूर्वको मेची गोल्डकपदेखि पश्चिमको खप्तड गोल्डकपसम्मका प्रतियोगितालाई एन्फाले वर्गिकरण गरेको छ । बुढासुब्बा, आहा–रारा, खप्तड, हेटौडामा आयोजना हुने गोल्डकप, तिलोत्तमा गोल्डकप लगायतका मोफसलका ठुला नकाउट प्रतियोगिता चल्दै आएका छन् ।  तर ती कुनैपनि प्रतियोगिताको तालिका एन्फाले बनाइदिएको छैन । 

प्रकाशित: ५ माघ २०७७ ०८:१६ सोमबार

आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता