खेल

र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताः प्रिन्स र रत्नजित क्वार्टरफाइनलमा

त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र सिल्क ग्रुपका प्रिन्स दाहाल सिराहाको गोलबजारमा जारी योनेक्स सनराइज दशौं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।  

राष्ट्रिय वरीयतामा रहेका शीर्ष १६ भित्रको प्रतिस्पर्धामा आर्मीका रत्नजित समूह ‘ए’ बाट र प्रिन्स समूह ‘डी’ बाट पहिलो हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेका हुन्। रत्नजितकै समूह ‘ए’ बाट एपिएफका गौतम कठायत पनि दोस्रो हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। बिहीबार पुरुषतर्फ शीर्ष १६ र महिलातर्फ शीर्ष १२ को प्रतिस्पर्धाअन्तर्गतको क्वार्टरफाइनल समीकरणसमेत पूरा भएको छ। लिगका तीनै खेल जितेका रत्नजितले क्वार्टरफाइनलमा समूह ‘सी’ को उपविजेता भोजपुरका विकास श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछन्।  

तीनमध्ये दुई खेल जितेका गौतमले समूह ‘सी’ का विजेता आर्मीका प्रफुल महर्जनको सामना गर्नेछन्। प्रफुलले पनि समूहका तीनै खेल जितेका थिए। समूह ‘बी’ बाट एपिएफका दीपेश धामी विजेता र आर्मीका नवीन श्रेष्ठ उपविजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गरेका छन्। दीपेशले तीनै खेल जित्दा नवीनले तीनमध्ये एक खेल गुमाए। अन्तिम आठमा दीपेशले समूह ‘डी’ का उपविजेता रुकेश महर्जनसँग प्रतिस्पर्धा गर्नेछन्। यता, समूह ‘डी’ विजेताका प्रिन्सले अन्तिम आठमा आर्मीका नवीनसँग प्रतिस्पर्धा गर्नेछन्। प्रिन्सले पनि आफ्नो समूहका तीनै खेल जिते।  

बिहीबार भएका लिगका अन्तिम खेलहरूमा एपिएफका गौतमले आफ्नै विभागका सुमन लिम्बुलाई २१–९, २१–८ ले, नेपाल पुलिसका सुनील जोशीले बाँकेका इरफान अन्सारीलाई २१–१८, २१–१६ ले, आर्मीका प्रफुलले एपिएफका विजित थापामगरलाई २१–१६, २३–२१ ले हराएका थिए। अन्य खेलमा आर्मीका रुकेश महर्जनले पुलिसका जीवन आचार्यलाई २५–२३, २१–६ ले र आर्मीका रत्नजितले धादिङका सुदीप सेढाईलाई २१–११, २१–११ ले हराएका थिए।  

त्यस्तै एपिएफका दीपेश धामीले आर्मीका नवीन श्रेष्ठलाई २१–११, २१–१७ ले, भोजपुरका विकाश श्रेष्ठले पुलिसका दीपक बोहोरालाई २१–१५, २१–१२ ले र सिल्क ग्रुपका प्रिन्सले एपिएफका साजनकृष्ण ताम्राकारलाई २१–८, २१–९ ले पराजित गरे। राष्ट्रिय ब्याडमिन्टन संघ तथा गोलबजार नगरपालिकाको संयुक्त आयोजना सञ्चालित प्रतियोगिताको महिलातर्फ समूह ‘ए’ बाट भोजपुरकी नङ्सलदेवि तामाङ विजेता र विराट ब्याडमिन्टन क्लबकी सीमा राजवंशी उपविजेताका रूपमा क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।  

नङ्सलले क्वार्टरफाइनलमा समूह ‘सी’ की उपविजेता एपिएफकी शोभा गौचनसँग प्रतिस्पर्धा गर्दा सीमाले समूह ‘सी’ की विजेता राष्ट्रिय च्याम्पियन आर्मीकी रसिला महर्जनको चुनौती सामना गर्नेछिन्। समूह ‘बी’ बाट आर्मीकी अमिता गिरि र एपिएफकी सुनैयना मुखिया क्रमशः विजेता र उपविजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरे। अमिताले समूह ‘डी’ की उपविजेता अनुमाया राई र सुनैयनाले एपिएफकी जेसिका गुरुङको सामना गर्नेछन्।

राष्ट्रिय वरीयतामा शीर्ष १६ बाहेकका पुरुष एकलतर्फको प्रतिस्पर्धामा पविन लिन्थेपले नवीन सिलवाललाई २०–२२, २१–१४, २१–१३, विशाल तामाङले रोशन खत्रीलाई २१–९, २१–७, पूर्णबहादुर थापाले सौरभ बमलाई २१–१०, २१–१७ र डेविड थापामगरले सुजन थापालाई २१–१७, २१–१६ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएका छन्। देवराज रानाले रोहित बराललाई २१–१२, २१–१६ ले, एसिया जबेगुले भोजबहादुर गुरुङलाई २१–१६, २१–१४ ले, गोकुल जोराले प्रियान्सुसिंह क्षेत्रीलाई २१–१८, २१–१८ ले र विवेक चौधरीले कृष्ण पाठकलाई २१–९, २१–१० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएका छन्।

सन्तोष पनेरुले राज बर्मालाई २१–१४, २१–१५ ले हराउँदा शिव थापाले रोशन साउदलाई १९–२१, २१–१९ (रिटायर्ड हर्ट), ईन्द्रबहादुर मेहताले नरेन्द्र बमलाई २१–१८, २१–१६ ले, सुजन श्रेष्ठले निशान्त कटुवालबाट वाकओभर पाउँदै अन्तिम १६ को स्थान सुरक्षित गरेका छन्। त्यसैगरी दिवस शंकरले प्रकाश चन्दलाई २१–१६, १७–२१, २१–८ ले, पेम्बा शेर्पाले योगेश खड्कालाई २१–१७, १७–२१, २१–१९ ले, आयुष्मान नागरीले अनिल मल्ल ठकुरीलाई २१–१७, २१–३ ले, निराजन देवकोटाले बिन्याक्स खत्रीलाई २१–१५, २१–११ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएका छन्।

प्रकाशित: २ माघ २०७७ ०३:१४ शुक्रबार