खेल

ढाका म्याराथनमा पुष्पा च्याम्पियन

नेपालकी पुष्पा भण्डारी बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा च्याम्पियन भएकी छन्।  ढाका म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा भारतीय प्रतिद्वन्द्वीलाई पछि पार्दै पुष्पा च्याम्पियन भएकी हुन्। पुष्पाले निर्धारित दूरी दुई घन्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गरिन्। च्याम्पियन पुष्पाले पाँच लाख टाका नगद पुरस्कार प्राप्त गरिन्। पुष्पाले गत वर्ष नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि यसै विधामा रजत जितेकी थिइन्। सागमा रजत जित्ने क्रममा दुई घन्टा ५० मिनेट ११ सेकेन्ड समय खर्चिएकी पुष्पाले आफ्नो व्यक्तिगत समयमा भने सुधार गर्न सकिनन्। पुष्पाको सफलतापछि नेपाली टोलीका प्रशिक्षक धनिराम चौधरीले निकै आरोहअवरोहका बाजजुत स्वर्ण जित्न सफल भएकोमा खुसी व्यक्त गरे।  

यसै विधामा भारतका ज्योति गवाते र दिव्यांका चौधरी क्रमशः दोस्रो र तेस्रो स्थान रहे। ज्योतिले तीन घन्टा १६ सेकेन्डमा र दिव्यांकाले तीन घन्टा ७ मिनेट ४१ सेकेन्डमा उक्त दूरी पूरा गरेका थिए। भारतकै जिगमेत डोल्माले तीन घन्टा ९ मिनेट ४१ सेकेन्डमा उक्त दूरी पूरा गर्दै चौथो स्थान प्राप्त गरिन्। यस विधामा आयोजक बंगलादेशका आठ, भारतका तीन र नेपालको एक गरी कुल १२ खेलाडीको सहभागिता रहेको थियो। १३औं सागमा पुरुष म्याराथनका स्वर्ण विजेता नेपालका किरणसिंह बोगटी भने बंगलादेशमा आइतबार चौथो स्थानमा खुम्चिए।

निर्धारित दूरी दुई घन्टा २६ मिनेट १३ सेकेन्डमा पूरा गरेका किरणसिंह चौथो स्थानमा रहेका हुन्। दोस्रो राउन्डमै चोट बेहोरेका कारण उनले लक्ष्यअनुरूप प्रदर्शन गर्न नसकेको प्रशिक्षक चौधरीले बताए। सो विधामा भारतका बहादुरसिंह धौनी, रासपाल सिंह र हित राम शीर्ष तीन स्थानमा रहे। बहादुर सिंहले २ घन्टा २१ मिनेट ४० सेकेन्ड समयमा उक्त दूरी पार गर्दा रासपाल १ सेकेन्डले पछि परे। हित रामले भने दुई घन्टा २५ मिनेट १३ सेकेन्डमा उक्त दूरी पार गरेका थिए। प्रशिक्षक चौधरीका अनुसार किरणबाहेक म्याराथनमा भारतबाट पाँच, माल्दिभ्सबाट एक र बंगालदेशबाट ७०/८० धावकले प्रतिस्पर्धा गरेका थिए। 

प्रकाशित: २७ पुस २०७७ ०३:२२ सोमबार