खेल

आठौं पर्वतीय खेलकुद गण्डकीमा हुने

आठौं पर्वतीय खेलकुद महोत्सव गण्डकी प्रदेशमा हुने भएको छ। आठौं पर्वतीय खेलकुद महोत्सव मूल आयोजक समितिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर आगामी फागुन २० देखि चैत २० गतेसम्म गण्डकी प्रदेशमा महोत्सव हुने जानकारी दिएको हो।

खेलकुद महोत्सवमा १५ खेल हुने महोत्सव संयोजक सुवर्ण श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार खेलकुद महोत्सवमा आर्चरी, ठेलो, क्यानोइङ, रक क्लाइम्बिङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्री रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, ट्रायथोलन, गल्फ, स्केट बोर्डिङलगायतका खेल समावेश हुनेछन्। नवौं खेलकुद हुन नसकेको अवस्थामा त्यसको ‘वार्म अप’ का रूपमा आयोजना गरिने महोत्सवमा हुने १५ खेलमध्ये रिङ रेस्लिङ र ट्रायथोलन अन्तर्राष्ट्रिय स्तरको हुनेछ भने ठेलो र टग अफ वार प्रदेशस्तरीय आयोजना हुने आयोजकले जनाएको छ। अन्य खेल भने राष्ट्रिय स्तरका हुनेछन्।

महोत्सव गण्डकी प्रदेशको राजधानी पोखरासहित प्रदेशका विभिन्न जिल्लामा आयोजना गरिने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसमेत रहेका पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले जानकारी दिए। उनका अनुसार घोडा दौड र अल्पाइन खेल मुस्ताङ जिल्लामा हुनेछन्। त्यस्तै, प्रदेशको राजधानी पोखरामा मोटर स्पोर्ट्स, रिङ रेस्लिङ, आर्चरी, साइक्लिङ, क्रस कन्ट्री रनिङ, स्केट वोर्डिङलगायतका खेल हुनेछन्।  

टग अफ वार पोखरामा गर्ने कि स्याङ्जामा भन्ने बारेमा छलफल भइरहेको भट्टराईले बताए। यसै गरी, ठेलो प्रतियोगिता तनहुँमा गर्ने कि पोखरामा गर्ने भन्नेबारेमा निर्णय भइनसेको उनले बताए। उनका अनुसार आइस क्लाइम्बिङ प्रतियोगिता हुने भयो भने त्यो मनाङमा गर्ने छलफल भएको छ। प्रदेशका बाँकी जिल्ला बागलुङ, पर्वत, म्याग्दी, लमजुङलगायतका जिल्लामा पनि एक/एक वटा खेल गर्नेबारे छलफल भइरहेको अध्यक्ष भट्टराईले जानकारी दिए।  

कुल ५ सय खेलाडीले सहभागिता जनाउने खेलकुद महोत्सवमा विदेशी खेलाडी पनि आउने आयोजकले जनाएको छ। ट्रायथोलनमा एसियन देश र रिङ रेस्लिङमा जापान, अमेरिका, मलेसिया, सिंगापुर, भारतलगायतका देशका खेलाडीले आउने चाहना व्यक्त गरेको महोत्सव संयोजक तथा राखेप सदस्य सुवर्ण श्रेष्ठले जानकारी दिइन्।

प्रकाशित: २१ पुस २०७७ ०३:१७ मंगलबार