खेल

‘इतिहासकै उत्कृष्ट पुनरागमन’

भारतीय क्रिकेट टोलीका प्रशिक्षक रवि शास्त्रीले मंगलबार अस्ट्रेलियाविरुद्ध दोस्रो टेस्टमा हात पारेको जितलाई इतिहासकै ठूलो पुनरागमनका रूपमा चित्रित गर्दै आफ्ना खेलाडीको समेत तारिफ गरेका छन्।

गत हप्ता मात्र पहिलो टेस्टमा आठ विकेटले हार बेहोर्दा भारत टेस्ट क्रिकेटकै सबैभन्दा न्यून योगफलमा समेटिएको थियो, त्यसलगत्तै दोस्रो टेस्टमा भारतले अस्ट्रेलियालाई आठ विकेटले नै हराएपछि प्रशिक्षक शास्त्रीले इतिहासकै उत्कृष्ट पुनरागमनका रूपमा चित्रित गरेका हुन्। महत्वपूर्ण ब्याट्सम्यान तथा कप्तान विराट कोहलीबिना भारतले मेलबर्नमा अस्ट्रेलियासँग बदला लिँदै आफ्ना आलोचकलाई समेत गतिलो जबाफ दिएको थियो। एडिलेडमा सम्पन्न पहिलो टेस्टमा भारत ३६ रनमै समेटिएको थियो, जुन भारतका लागि टेस्ट इतिहासकै न्यून स्कोरसमेत हो। लज्जापूर्ण हारपछि भारतीय क्रिकेट टोलीले ठूलो आलोचनासमेत सामना गर्नुपर्‍यो।  

‘भारतीय क्रिकेटका साथै विश्व क्रिकेटकै लागि यो सबैभन्दा ठूलो पुनरागमन हो,’ चार खेलको शृंखला १–१ को बराबरी गरेपछि भारतीय प्रशिक्षक शास्त्रीले भने,‘जब हामी ३६ रनमै समेटियौं, केही दिनपश्चात् नै त्यसबाट उठेर यस किसिमको जित निकाल्नु वास्तवमै उत्कृष्ट नै हो। खेलाडीले आफ्नो जुन चरित्रका साथ खेले, त्यो तारिफयोग्य नै छ।’ भारतले कार्यवाहक कप्तान अजिन्क्या रहानेको प्रेरणाबाट पहिलो इनिङमा ३ सय २६ रन बनाउँदै अस्ट्रेलियाको १ सय ९५ रनको जबाफ फर्काएको थियो। भारतका डेब्युटेन्ट शुभमन गिलले पनि प्रशंसनीय ब्याटिङ गरेका थिए। यसबीच भारतले सोमबार आफ्ना तीव्र गतिका बलर उमेश यादवलाई गुमाए पनि अर्का डेब्युटेन्ट बलर मोहम्मद सिराजले सानदार बलिङ गर्दै यादवको अभाव खड्किन दिएनन्।

शास्त्रीले सिराज र गिल दुवै भारतीय क्रिकेट भविष्य रहेको प्रतिक्रिया दिएका छन्। ‘उनीहरूले परिपक्वता देखाउँदा अनुशासित तवरबाट खेले। उनीहरूको खेल देख्दा निकै आनन्द मिल्यो,’ शास्त्रीले भने। नियमित कप्तान कोहलीले आफ्नो घरबाट खेल हेर्दै सहकर्मीको तारिफ गरेका थिए। आफ्नो पहिलो सन्तानको जन्म हुने भएकाले उनी पहिलो टेस्टपश्चात् घर फर्किएका थिए। समग्र टोलीको प्रयासबाट जित प्राप्त भएको छ,’ कोहलीले ट्विटरमार्फत भने, ‘विशेषतः रहानेसँग र मेरो सहकर्मीसँग निकै खुसी छु।’ शास्त्रीले पनि रहानेको तारिफ गर्दै उनीसँग खेलको स्थितिबारे विश्लेषण गर्ने राम्रो क्षमता रहेको बताएका छन्।  

अर्को हप्ता नै भारत तेस्रो टेस्टको तयारीमा हुनेछ भने टोली छनोटमा दुबिधा रहने बताइएको छ। दोस्रो टेस्टमा पाँच बलरको रणनीतिका साथ खेलेको भारतले रवीन्द्र जडेजालाई पनि टोलीमा समावेश गरेको थियो। उनीहरूसँग महत्वपूर्ण ब्याट्सम्यान रोहित शर्मा पनि खेल्न तयार रहेको बुझिएको छ। ह्याम्स्ट्रिङबाट रिकभर भएका रोहित हाल क्वारेन्टिनमा छन्। ‘हामी फेरि पनि पाँच बलरका साथ खेल्न सक्छौं,’ शास्त्रीले भने, ‘रोहित पनि हामीसँग जोडिनेछन्। फिटनेसका कारण रोहितले कुन स्थानबाट खेल्न सक्छन् त्यो विषय पनि उनीसँग छलफल हुनेछ। किनकि उनी क्वारेन्टिनमा रहेकाले केही फिटनेसको समस्या हुन सक्दछ।’ एएफपी

प्रकाशित: १५ पुस २०७७ ०४:२४ बुधबार

इतिहासकै उत्कृष्ट पुनरागमन भारतीय क्रिकेट टोली प्रशिक्षक रवि शास्त्री