खेल

विकासलाई टेनिसको उपाधि

रेबान पोखराद्वारा आयोजित टेनिस डबल्स तर्फको उपाधि विजेता तथा रेबानका पदाधिकारीहरु । तस्बिर नागरिक

पोखरा सडक महोत्सवको अवसरमा आयोजित टेनिस प्रतियोगिताको उपाधि विकास गुरुङले जितेका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले आयोजना गरेको प्रतियोगितामा मंगलबार गुरुङ भिलेज टेनिस कोर्टमा भएको फाईनलमा कर्ण तामाङलाई ६–३, ६–४ को सेटले पराजित गर्दै उपाधि जितेका हुन् ।  

२२ औं संस्करणको सडक महोत्सवकै पूर्वसन्ध्यामा आयोजना टेनिसको डबल्स तर्फको उपाधि भने नविन चालिसे र नविन श्रेष्ठको जोडीले जितेको छ । नविनद्वयको जोडीले सुर्य भुजेल र विकास गुरुङको जोडीलाई सुपर टाईमा पराजित गर्दै उपाधि जित्न सफल भएका हुन् । पहिलो सेट भुजेल र गुरुङको जोडीले लिदैं नविनद्वयको जोडीलाई दबावमा राखे । तर एकलतर्फको फाईनल प्रतिस्पर्धा गरेर डबल्स तर्फको फाईनलमा उत्रिदाँ विकास थकित देखिन्थे । जसले गर्दा दोस्रो र तेस्रो सेट भने गुमाउँदै उपाधिविहीन टुग्याएका हुन् ।  

पहिलो सेट ३–६ ले गुमाएको नविनद्वयको जोडीले दोस्रो सेट ६–३ ले आफनो पक्षमा पार्दै खेललाई सुपर टाईमा धकेले । सुपर टाईमा १०–८ ले लिदैं नविनको जोडीले उपाधि आफनो नाममा लेखाउन सफल भएको हो । एकल विजेतालाई १० हजार रुपैयाँ र उपविजेतालाई ५ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी प्रदान गरिएको थियो ।  

डबल्स तर्फको विजेता जोडीले नगद ७ हजार र उपविजेता जोडीले ४ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेका छन् । प्रतियोगितामा २६ जना पोखराका टेनिस खेलाडीले प्रतिस्पर्धा गरेका थिए । डबल्स तर्फ १३ टोलीको सहभागिता थियो । रेबानले यो वर्ष आयोजना गरेको सडक महोत्सव केवल तीन दिन मात्रै गर्ने निर्णय गर्दै खेलकुद प्रतियोगितालाई प्रर्वद्धन गरेको छ ।

सडक महोत्सव १५ देखि १७ गतेसम्म पोखराको तीन किलोमिटर सडकमा आयोजना गरिने छ । सडक महोत्सवकै अवसरमा पुस १६ गते पर्यटन संस्थाबीच फेवा किनार बाराही खेलमैदानमा बिच भलिबल प्रतियोगिता आयोजना गरिने रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए । उनका अनुसार अन्तिम दिन बाराही खेलमैदानमै कलाकारसँग पर्यटन व्यवसायीले मैत्रीपूर्ण खेल खेल्दै सडक महोत्सवलाई बिट मार्ने छन् ।

प्रकाशित: १४ पुस २०७७ ०७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App