खेल

सुदेशलाई श्रद्धाञ्जलि

नसासम्बन्धी रोगका कारण शुक्रबार राति निधन भएका नेपाली राष्ट्रिय भलिबल टोलीका प्रमुख पूर्वप्रशिक्षक सुदेश रिमालप्रति शनिबार अन्तिम श्रद्धाञ्जलि व्यक्त गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा शनिबार रिमालप्रति अन्तिम श्रद्धाञ्जलि दिइएको थियो। राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशकसमेत रहेका रिमाललाई अन्तिम श्रद्धाञ्जलि दिन उनको पार्थिव शरीरलाई त्रिपुरेश्वरस्थित राखेप हातामा राखिएको थियो। युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव रमेशकुमार सिलवाललगायतले रिमालको पार्थिव शरीरमा पुष्पगुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए।

रिमालको पार्थिव शरीरमा उपाध्यक्ष कोइराला र सदस्यसचिव सिलवालले राखेपको झन्डा तथा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्दले भलिबल संघको झन्डा ओढाएका थिए। वीरगन्जका रिमालको शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा ५७ वर्षको उमेरमा निधन भएको थियो। उनी टाउकोको समस्याबाट ग्रसित थिए। २०५० सालमा राखेपमा भलिबल प्रशिक्षक (तृतीय श्रेणी) का रूपमा सेवा प्रवेश गरेका रिमालले त्यसअघि नेपाल विद्युत् प्राधिकरणमा कार्यरत रहेर भलिबल खेलेका थिए।  

राखेपमा भलिबलका प्रमुख प्रशिक्षकको जिम्मेवारीसमेत सम्हालेका रिमालले विभागीय टोली एपिएफ र नेपाल पुलिस क्लबलाई पनि प्रशिक्षण गराएका थिए। वि.सं.२०४० सालपछि करिब एक दशकसम्म राष्ट्रिय टोलीका सदस्य रहेका रिमालले सन् १९८६ मा दक्षिण कोरियाको सोलमा सम्पन्न एसियाडमा नेपाली टोलीबाट प्रतिनिधित्व गरेका थिए।  

रिमालको प्रशिक्षणमा नेपालले विभिन्न संस्करणको सागमा पदक जितेको छ। गत वर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा बिच भलिबल टोलीको मुख्य प्रशिक्षकसमेत रहेका सुदेशले नेपाललाई कांस्य दिलाएका थिए।  

उपाध्यक्ष कोइरालाले रिमालको निधनमा उनले पूरा गर्न नसकेका कामलाई पूरा गर्न उनका सहकर्मीले प्रतिबद्ध भएर अगाडि बढ्नुपर्ने धारणा राखे। सदस्यसचिव सिलवालले रिमाल एक कुशल प्रशिक्षक भएको बताउँदै उनको निधनले भलिबलमा अपूरणीय क्षति पुगेको बताए। उनले रिमालको निधनको शोकमा आइतबार खेलकुदका कार्यालय बन्द गर्ने जानकारी दिए। भलिबल संघका अध्यक्ष शर्माले भलिबलको असल र कुशल प्रशिक्षकलाई गुमाउनुपर्दा निकै दुखी भएको बताए। स्व. रिमालको शनिबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो। रिमालका श्रीमती, छोरा र छोरी छन्।

प्रकाशित: १२ पुस २०७७ ०१:५५ आइतबार