खेल

पर्यटनसँगै खेलकुद पूर्वाधारमा चासो

क्याप्शन

पोखरा पर्यटकीयसँगै खेलकुदको पनि सहर हो।त्यसैले होला अहिले यहाँ खेलकुद पूर्वाधार निर्माण भइरहेका छन्।देशकै दोस्रो ठूलो सहर पोखरामा पूर्वाधार क्षेत्रमा लगानी पनि बढ्दै गएको छ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संघारमा छ।गण्डकी प्रदेश सरकार नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लिएर उत्साहित छ।त्यहीँ उत्साहलाई थप उर्जासहितको खेलकुद उचाईमा पुर्याउन प्रदेशका ११ वटै जिल्लामा पूर्वाधार निर्माणको गतिले तिव्रता लिएको छ।

गण्डकी प्रदेशमा सबै जिल्लामा खेलकुद पूर्वाधार निर्माणले गति दिएको छ।पोखरामा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत प्राप्त बजेटले अधिकांश पूर्वाधार निर्माण भइसकेका छन्।केही निर्माणको चरणमा छन्।अब गण्डकी प्रदेश खेलकुदको गन्तव्य समेत बन्नेछ।हिमाली क्षेत्रमा हाईअल्टिच्युड खेल मैदान निर्माणको संघारमा छ।हिमालपारीको जिल्ला मुस्ताङमा गत वर्षदेखि फुटबल मैदानसहित भलिबल तथा बास्केटबल कोर्ट निर्माणको योजनासहित काम अघि बढाइएको छ।त्यस्तै नवलपुरमै आधा दर्जन कभर्ड हल निर्माण भएका छन्।‘एक स्थानीय तह, एक खेल मैदान’ प्रदेश सरकारक नीति रहेको छ।सोही नीति अनुसार सरकारले लगानी बढाउँदै गएको छ।

पोखरा रंगशालाभित्र पूर्वाधार

पोखराको खेलकुद पहिलो पटक गत वर्ष मंसिर १५ देखि २४ गतेसम्म १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता आयोजनाको अवसर पायो।त्यो अवसरलाई पूर्वाधार विकासमा समेत उपयोग गरियो।पोखरा रंगशालाभित्र नेपालकै सर्वाधिक दर्शक क्षमताको फुटबल मैदान तथा प्याराफिट निर्माण गरिएको छ।केही पूर्वाधार निर्माणकै चरणमा छ।उक्त समय महिला फुटबल प्रतियोगिता निर्माणाधिन खेल मैदानमा सम्पन्न गरिएको थियो ।

१ अर्ब २८ करोड रूपैयाँमा मैदानसहित प्याराफिट निर्माण गरिएको छ।प्याराफिट १६ हजार ५ सय दर्शक क्षमताको छ।३ हजार ५ सय सिट बढाउने योजनासहित काम भइरहेको छ।फ्रान्सेली स्टिल मडुलर सिष्टमको प्याराफिट, ट्रयाक बनाउन जर्मनबाट रबर ल्याइएको हो।फुटबल मैदानभन्दा दुई वर्षअघि मात्रै नेपालकै ठूलो दर्शक क्षमताको बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिएको थियो।झण्डै १६ करोडको लागतमा २ हजार दर्शक क्षमताको कभर्ड हल बनाइयो। जहाँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला तथा पुरुष ह्याण्डबल सम्पन्न गरिएको थियो।

‘पोखरा रंगशाला देशकै उत्कृष्ट खेलकुद पूर्वाधारयुक्त सहरको रूपमा विकास हुँदै गएको छ,’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने, ‘साना ठूला पूर्वाधार जिल्लाका विभिन्न स्थानीय तहमा समेत निर्माण गरिएको छ ।’ पोखरा रंगशालामै थपिएको अर्को पूर्वाधार हो व्याडमिन्टन कभर्ड हल। ४ करोड रूपैयाँको लागतमा सागकै अघि पूर्वाधार तयार गरिएको थियो।उक्त कभर्ड हल परिषद र कास्की जिल्ला व्याडमिन्टन संघको सहकार्यमा तयार गरिएको हो।नेपालकै एक मात्रै आर्चरी मैदान पनि पोखरा रंगशालाभित्रको अर्को महत्वपूर्ण पूर्वाधार हो। रंगशालाभित्र टेनिसका ६  वटा क्ले कोर्ट छन्।एउटा हार्ड कोर्ट छ।पूर्वाधार समेत तयार छ।साढे दुई करोड रूपैयाँको लागतमा तयार गरिएको हो।टेनिस कोर्टमा नेपालले यु–१४ को ग्रेड ५ र ४ को विश्वव्यापी प्रतियोगिता आयोजना गर्दै खेल पर्यटन प्रवद्र्धनमा नयाँ आयाम हुन पुग्यो।आर्चरी मैदानमा सागकै आर्चरी प्रतियोगिता टुंग्याइएको थियो।

सागलाई नै लक्षित गरी पोखरा महानगरपालिका भित्र दुईवटा फुटबल मैदान निर्र्माण गरियो।महानगरपालिका–१९ लामाचौरस्थित गोस्ते खेल मैदान निर्माणाधिन छ।चेन्जिङ रुम निर्माण पूरा गरेपछि आवश्यक सबै काम सम्पन्न हुने छ।मैदान तथा प्याराफिट तयार भइसकेको छ।‘सरकार तथा अन्य विभिन्न संघ संस्थाको सहयोगमा खेलकुदको पूवर्धार तयार गर्‍यौँ ।’ जिल्ला फुटबल संघका पूर्वसचिव समेत रहेको गोस्ते खेल मैदान निर्माण समितिका सचिव बुद्धिबहादुर खत्री क्षत्रीले भने, ‘पोखरा रंगशाला फुटबल मैदानको वैकल्पिक मैदानको रूपमा विकास गरिएको छ ।’

प्रदेशको बजेट तथा योजना

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष खेलकुद विकास र पूर्वाधारको लागि ८ करोड ३५ लाख रूपैयाँ छुट्टाएको छ।क्रिकेट मैदानको लागि २ करोड रूपैयाँ विनियोजन भएको छ।प्रदेशस्तरीय बहुउद्देश्यीय रंगशाला निर्माण सरकारको पहिलो एजेण्डा हो।गण्डकी प्रदेश सरकारको पहिलो आर्थिक वर्षको बजेटबाटै यो एजेण्डालाई समेटिएको छ।तर ठोस निर्णयसहितको बजेट निकासा भने हुन सकेको छैन।बहुउद्देश्यीय रंगशाला कुन ठाँउमा निर्माण गर्ने भन्ने बारेमा अझै प्रदेश सरकारले निर्णय गरेको छ।

क्रिकेट रंगशाला प्रदेश सरकारको अर्को इच्छा हो।महानगरपालिका–३३ पशुपतिघाटस्थित करिब ४ सय रोपनी क्षेत्रफलमा क्रिकेट रंगशाला बनाउने तयारी छ।गल्फकोर्ष अर्को महत्वपूर्ण एजेण्डा हो।गल्फ कोर्ष कुन ठाँउमा बनाउने भन्ने अझै प्रदेश सरकारले टुंगो लगाएको छैन्।यद्यपी कास्की जिल्ला गल्फ संघले पोखरा–१ सिम्पानीस्थित सेती नदीको दायाँबायाँ किनारको सिंचाईको जग्गालाई गल्फ कोर्ष बनाउन उपयुक्त हुने बताउँदै आएको छ।सिंचाईको जग्गासहित केही व्यक्तिगत जग्गा समेत पर्ने भएकाले त्यसको मुअब्जा वितरण गरी गल्फ कोर्ष बनाउन उपयुक्त हुने संघको सुझाव छ।

बन्दै/बन्ने योजनामा रहेका पूर्वाधार

परिषदले आर्थिक वर्षकै लागि पोखरामा निर्माण गर्न सुटिङ रेन्जको पूर्वाधार निर्माण गर्न ५० लाख रूपैयाँ विनियोजन गरेको थियो।तर, छुट्टाइएको त्यो बजेटबाट काम भने सुचारु हुनसकेन्।स्वीमिङ पुल र सुटिङ रेन्जको लागि टेण्डर आह्वान हुनै सकेन्।आर्थिक वर्ष २०७७/७८ का लागि पुनः सुटिङ रेन्जको लागि परिषदले ५० लाख रूपैयाँ विनियोजन भएको छ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका पूर्वाधारको लागि परिषदले ४ करोड ६५ लाख रूपैयाँ विनियोजन गरेको छ।जुन बजेटमा सुटिङको ५० लाख रूपैयाँ समेत समावेश गरिएको छ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा कभर्डहल पूर्वाधार निर्माणाधिन अवस्थामा छन्।बजेटकै अभावमा पूर्वाधारले पूर्णता पाउन सकेका छैनन्।राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय र स्थानीय तहले खेलकुदको पूर्वाधारमा लगानी गर्दै आएका छन्।परिषदले उपलब्ध गराएको बजेटबाटै गण्डकी प्रदेशका अधिकांश जिल्लामा कभर्ड हल निर्माणाधिन अवस्थामा छन्।तर पूरा कुनै पनि भएका छैनन्। 

‘सबै खेल आयोजना गर्न सक्छौं’

पोखरा रंगशाला नेपालकै ठूलो रंगशाला हो।क्षेत्रफलको हिसाबले सबै प्रतियोगिता एउटै रंगशालाभित्र खेल्न सकिने एकमात्रै रंगशाला हो।पूर्वाधार विकासले गति लिएको छ।देश संघीय संरचनामा गएपछि पोखरा रंगशालामा पूर्वाधार निर्माणले फड्को मारेको पक्कै हो।  

पोखरा रंगशाला विशेष गरी २०६१ सालमा पर्खाल निर्माण भएपछि संरक्षणको अभियान सुरु भएको हो।त्यसभन्दा अघि ४ सय १७ रोपनी क्षेत्रफलको पोखरा रंगशाला स्थानीयको गौचरन जस्तै थियो।नेपाल भूतपुर्व खेलाडी मञ्चको अगुवाइमा पर्खाल घेराबन्दी गरिएपछि रंगशालाको संरक्षण हुन पुग्यो।

पर्खाल निर्माणपछि अनावश्यक व्यक्तिको प्रवेशमा रोक लाग्यो। २०६७ सालपछि मात्रै भौतिक पूर्वाधारले गति लिएको होे।टेनिस कोर्ट, आर्चरी मैदान, क्रिकेट मैदानलगायतको पूर्वाधार निर्माण गरिएको थियो।एक दशककोबीचमा नेपालकै ठूलो बहुउद्देश्यीय कभर्ड हल निर्माण गरियो।१६ करोडको लागतमा २ हजार दर्शक क्षमताको कभर्ड हल बनेको छ।उक्त कभर्ड हलमा १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको ह्याण्डबल प्रतियोगिता सफलता पूर्वक सम्पन्न गरियो।  त्यसपछि दुई वर्षअघि मात्रै १ अर्ब २८ करोडको लागतमा फुटबल मैदान एवं प्याराफिटको योजना अघि बढ्यो

प्रकाशित: ८ पुस २०७७ ०२:२१ बुधबार