खेल

बक्सिङका पदक विजेता सहितलाई सम्मान

कास्की जिल्ला बक्सिङ संघले १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत बक्सिङमा पदक विजेता खेलाडी, अफिसियल तथा केन्द्रीय संघका अध्यक्षलाई शुक्रबार पोखरामा सम्मान गरेको छ ।  

बक्सिङ संघका केन्द्रीय अध्यक्ष राम अवाले, बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर, सहायक प्रशिक्षक सुरेश मल्ल, स्वर्णपदक विजेता खेलाडीहरु भुपेन्द्र थापा, सनिल शाही र मेनु गुरुङलाई सम्मान गरिएको हो ।  

सम्मानपछि बोल्दै केन्द्रीय अध्यक्ष अवालेले खेलाडी उत्पादनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले प्रशिक्षक नभई खेलाडी उत्पादन नहुने भन्दै प्रशिक्षकको व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाए । ‘माष्टर नभई विद्यार्थी हुदैनन् । प्रशिक्षक विना खेलाडी उत्पादन हुदैन्,’ उनले भने–‘खेलाडी उत्पादनमा कास्की बक्सिङले विशेष ध्यान दिनुपर्छ ।’ उनले जति धेरै खेलाडी भए उति नै गुणस्तरीय खेलाडी छनोट गर्न सकिने बताए ।

‘पहिला संख्या बढाउनुस, त्यहाँबाट गुणस्तर पक्कै निस्कन्छ,’ उनको भनाई थियो । मुख्य प्रशिक्षक प्रकाश थापामगरले राष्ट्रलाई चिनाउने नै खेल भएको भन्दै खेल र खेलाडीको हकहितको लागि संघले तदारुकता देखाउनुपर्ने बताए । उनले संघमा राम्रा र योग्य व्यक्ति आएमात्रै खेलको विकास हुने ठोकुवा गरे ।  

दक्षिण एशियाली खेलकुदमा बक्सिङका पूर्व रजत पदक विजेता खेलाडी गणेशबहादुर भट्टराईले खेलाडीले आफ्नो अस्थित्वको लागि आवाजलाई बुलन्द पार्नुपर्नेमा जोड दिए । कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन श्रेष्ठले खेलाडीले आत्मबल बलियो बनाउँदै खेल्नुपर्नेमा बताए । ‘जबसम्म आत्मबल बलियो हुदैन् तबसम्म खेलाडीले कुनैपनि खेल जित्न सक्दैन् । पदक अपेक्षा गर्न सकिदैन्,’ उनको भनाई थियो ।  

कास्की जिल्लामा लामो समयदेखि राष्ट्रियस्तरको बक्सिङ प्रतियोगिता आयोजना हुन सकेको छैन् । राष्ट्रियस्तरको बक्सिङ प्रतियोगितको लागि केन्द्रीय बक्सिङ संघले क्यालेण्डर बनाउनुपर्ने सुझाव कास्की जिल्ला बक्सिङ संघले दिएको थियो ।  

 

प्रकाशित: ३ पुस २०७७ १०:२८ शुक्रबार

१३ औं दक्षिण एसियाली खेलकुद