खेल

नेपाली क्रिकेटमा हाई प्रोफाइल प्रशिक्षक

श्रीलंकालाई सन् १९९६ को विश्वकप दिलाएका अस्ट्रेलियन प्रशिक्षक डेभ ह्वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन्।

टेस्ट मान्यता प्राप्त श्रीलंका, बंगलादेश, पाकिस्तान र जिम्बाब्वेको प्रशिक्षण समालिसकेका ६६ वर्षे ह्वाटमोरले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका हुन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय र व्यावसायिक क्रिकेटमा पनि कयौं सफलता दिलाएका ह्वाटमोरलाई प्रशिक्षकको जिम्मेवारी दिइएको जनाएको थियो। क्यानले उनीसँग एक वर्षको सम्झौता गरेको छ, तथापि आपसी सहमतिका आधारमा सम्झौता थपिन सक्ने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए। आगामी जनवरी १ देखि उनको जिम्मेवारी लागू हुनेछ। क्यानले ह्वाटमोरको पारिश्रमिकका विषयमा उल्लेख गर्न नमिल्ने बतायो।  

यद्यपि, क्यानको सर्त र सुविधाअनुरूप उनले १० हजार अमेरिका डलर बुझ्ने बताइएको छ। हाल अस्ट्रेलियामा रहेका ह्वाटमोर नयाँ वर्ष मनाएर जनवरीको ६–७ मा नेपाल आइपुग्ने प्याकुरेलले जानकारी दिएका छन्। गत फेब्रुअरीमा भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक पद रिक्त थियो। त्यसबीच जगत टमाटाले कार्यवाहक प्रशिक्षकका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए। तर, विश्व क्रिकेटकै हाई प्रोफाइलका प्रशिक्षक ह्वाटमोरको नियुक्तिबाट नेपाली क्रिकेटले ठूलो उचाइ लिने आशा गरिएको छ।  

श्रीलंकामा जन्मिए पनि ह्वाटमोरले सन् १९७९–८० सम्म अस्ट्रेलियाबाट अन्तर्राष्ट्रिय क्रिकेट करियर अगाडि बढाएका थिए। खेलाडी करियरमा खासै सफल नभएका ह्वाटमोरले दुई दशकभन्दा बढीको प्रशिक्षणका क्रममा भने धेरै सफलता चुमेका छन्। दुई फरक कार्यकालमा श्रीलंकाको प्रशिक्षण समालेका उनले सन् १९९६ मा भने श्रीलंकालाई विश्व च्याम्पियन बनाएका थिए। तर, उनको प्रशिक्षणमा श्रीलंका सन् ११९९ विश्वकपमा समूहचरणबाटै बाहिरिए पनि ०३ को विश्वकपमा भने सेमिफाइनलसम्म पुगको थियो।

त्यसपछि उनले सन् २००३–०७ सम्म बंगलादेशको प्रशिक्षण समाले पनि खासै ठूलो सफलता दिलाउन सकेनन्। तथापि, उनको प्रशिक्षणमा बंगलादेशले सन् २००५ मा पहिलो टेस्ट म्याच जितेको थियो। अर्को वर्ष नै बंगलादेशले एकदिवसीय क्रिकेटमा शीर्ष टोली अस्ट्रेलियालाई हराउँदै विश्व क्रिकेटलाई नै चकित पारेको थियो, जसमा उनको भूमिका अहम् रह्यो। उनकै प्रशिक्षणमा बंगलादेशले सन् २००७ को विश्वकपमा ‘सुपर–एट’ को यात्रा तय गर्दा समूहचरणमा भारतलाई स्तब्ध बनाएको थियो।

त्यस विश्वकपपछि उनले बंगलादेशबाट राजीनामा दिँदै भारत र इङ्ल्यान्डको प्रशिक्षकमा दाबेदारी प्रस्तुत गरे पनि जिम्मेवारी पाउन सकेनन्। तथापि, उनले भारतको यु–१९ टोलीको प्रशिक्षकको जिम्मेवारी पाए। उनले सन् २००८ को यु–१९ विश्वकप उपाधि भारतलाई दिलाए, जति बेला विराट कोहली कप्तान थिए। इन्डियन प्रिमियर लिग (आइपिएल) मा सन् २०१० र २०११ मा कोलकाता नाइट राइडर्सको प्रशिक्षण समालेका थिए। सन् २०१२ मा पाकिस्तानको प्रशिक्षकमा नियुक्त भएका उनले पहिलो पटक पाकिस्तानलाई एसिया कप उपाधि दिलाएका थिए।  

पाकिस्तानमा दुई वर्ष बिताएपछि उनले जिम्बाब्वेको टोली समाल्न पुगे। तथापि, ९ महिनाको सम्झौता अवधि बाँकी छँदा नै सन् २०१६ मा जिम्बाब्वेले उनलाई बर्खास्त गरेको थियो। गत फेबु्रअरीदेखि केही समय सिंगापुर क्रिकेट टिमको मुख्य प्रशिक्षण समालेका उनले अब नेपालको क्रिकेट टोलीलाई रोजेका छन्। यसैबीच उनको नियुक्तिबाट नेपालले सन् २०२३ विश्वकप छनोट र एकदिवसीय मान्यता जोगाइराख्ने विश्वास गरिएको छ। क्यानका सचिव प्याकुरेलले वाटमोरको प्रशिक्षणमा नेपाली क्रिकेटले थप उचाइ लिने विश्वास व्यक्त गरेका छन्। ‘उहाँ हाई प्रोफाइल कोच हुनुहुन्छ। उहाँको सफलताबारे हामी सबै जानकार पनि छौं, त्यसैले स्वाभाविक रूपमा पारिश्रमिक पनि धेरै थियो। तर पनि उहाँ नेपालको सर्तअनुरूप नै नेपाली क्रिकेटलाई उचाइमा पु¥याउन सहमत हुनुभयो,’ प्याकुरेलले भने।  

पूर्वकप्तान दास म्यानेजर

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान विनोद दास क्यानको क्रिकेट म्यानेजर पदमा नियुक्त भएका छन्। क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै जनवरी १ देखि हुने गरी नेपालको यु–१९ टोलीका प्रशिक्षकसमेत विनोदलाई म्यानेजरमा नियुक्त गरेको हो।

क्यानले जनरल म्यानेजरमा रौनकबहादुर मल्ल र चिफ फाइनन्स अफिसरमा रमेशकुमार न्यौपानेलाई नियुक्त गरेको जनाएको छ। क्यानको सर्तअनुसार म्यानेजरका लागि कम्तीमा इङ्ल्यान्ड क्रिकेट बोर्ड वा क्रिकेट अस्ट्रेलियाबाट लेभल–२ कोचिङ गरेको हुनुपर्ने भएकाले विनोद मात्रै अन्तर्वार्ताका लागि योग्य भएका थिए।

उनले सन् २००० मा संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध नेपालबाट डेब्यु गरेका थिए। ०५ देखि ०८ सम्म नेपालको कप्तानी समालेका उनले २०१२ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए। उनकै प्रशिक्षणमा सन् २०१७ मा नेपालले यु–१९ एसिया कपमा भारतलाई पहिलो पटक हराएको थियो।

प्रकाशित: ३ पुस २०७७ ०७:२७ शुक्रबार

नेपाली राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलियन प्रशिक्षक डेभ ह्वाटमोर