खेल

तेह्रौं सागमा बक्सिङका स्वर्ण विजेतालाई सम्मान

तीनजना खेलाडीलाई जनही ५१ हजार ५ सय रुपैयाँ

तेह्रौं सागमा बक्सिङका स्वर्णपदक विजेता पुलिसका भुपेन्द्र थापा मगर, आर्मीकी मीनु गुरुङ र सनिल शाही एकेडेमीको सम्मानपछि । तस्बिर ः उमेश पुन÷नागरिक

मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)को बक्सिङ स्पर्धामा स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ । एकेडेमीले विहीबार पोखरामा कार्यक्रम गरि सागको बक्सिङ स्पर्धामा स्वर्ण पदक जित्ने ३ खेलाडीलाई जनही ५१ हजार ५ सय रुपैयाँ सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

एकेडेमीले स्वर्ण पदक विजेता पुलिसका भुपेन्द्र थापामगर, आर्मीकी मीनु गुरुङ र सनिल शाहीलाई सम्मान गरेको हो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, एकेडेमीका राष्ट्रिय अध्यक्ष विनोद श्रेष्ठ, एकेडेमीका गण्डकी प्रदेश अध्यक्ष राजेश गुरुङ लगायतले सम्मान गरेका थिए ।

एकेडेमीका गण्डकी प्रदेश अध्यक्ष राजेश गुरुङले बक्सिङ खेलमा स्वर्ण पदक जित्ने खेलाडीलाई मदन भण्डारी स्पोर्टस एकेडेमीको तर्फबाट स्वर्ण पदकसहित सम्मान गर्ने घोषणा गरेअनुसार विहीबार सम्मान गरेको एकेडेमीले बताएको छ । सुनको पदक बनाउन समय अभाव भएपछि आधातोला सुनको मुल्य बराबरको रकमसहित सम्मान गरिएको एकेडेमीका गण्डकी प्रदेश अध्यक्ष गुरुङले जानकारी दिए ।

एकेडेमीले साग अन्तर्गत पोखरामा भएका आठवटा प्रतियोगितालाई सफल बनाउन भूमिका खेल्ने समितिलाई पनि सम्मान गरेको छ । त्यस्तै पत्रकारिताको माध्यमबाट खेलकुदको क्षेत्रमा पु¥याएको योगदान तथा तेह्रौं सागका खेल सम्पन्न गर्न सहयोग गरेको भन्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, नेपाल पत्रकार महासंघ कास्की र खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशलाई जनही २१ हजार रुपैयाँसहित सम्मान गरेको छ ।

खेल्ने क्रममा घाइते भई हाल उपचारार्थ खेलाडी तथा दिवंगत भएका खेलाडीका परिवारलाई पनि नगद सहयोग गरेको छ । एकेडेमीले हालैमात्र प्याराग्लाइडिङ दुर्घटनामा ज्यान गुमाएका वडी विल्डिङ तथा क्यूकोसिन कराते खेलाडीसमेत रहेका प्याराग्लाइडिङ पाइलट राजु गैरे (नेपाली) को परिवारलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।  

त्यस्तै, पोखरामा रहेर महिला भलिबल खेलाडी उत्पादन गर्न अहम भूमिका खेल्ने पूर्व भलिबल खेलाडी तथा प्रशिक्षक जीवन चौधरीलाई ७० हजार ७ सय ७० रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरिएको छ ।  

यसैगरी, गतवर्ष सम्पन्न ढोरपाटन महिला राष्ट्रिय भलिबल प्रतियोगितामा खेल्ने क्रममा घाइते भएकी राष्ट्रिय महिला भलिवल खेलाडी लक्ष्मी कुमाललाई २१ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरिएको छ । पोखरामा भएको क्लव स्तरिय क्रिकेट प्रतियोगितामा फिल्डिङ गर्ने क्रममा घाइते भएका सन्तोष न्यौपानेलाई ३० हजार ३ सय ३० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । यस्तै एकेडेमीले टेनिसका खेलाडी सुरज नगरकोटीको परिवारलाई ५० हजार ५ सय ५० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

मिति सर्छ ः सदस्य सचिव शिलवाल

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले नवौं राष्ट्रिय खेलकुद तोकिएको समयमा नहुने बताएका छन् । कोरोना भाईरसका कारण खेलाडी छनौट प्रक्रिया प्रभावित भएकाले अब चाहेर पनि समयमा प्रतियोगिता गर्न नसकिने उनको भनाई छ । मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले विहीबार पोखरामा आयोजना गरेको खेलाडी सम्मान तथा सहयोग कार्यक्रममा उनले भने, ‘नवौं राष्ट्रिय खेलकुद यो वर्ष हुन सक्दैन, अब २०७८ भित्र गर्छौं ।’ कोरोनाका कारण खेलाडी छनौट प्रक्रिया प्रभावित भएको बताउँदै उनले भने, ‘स्थानीय तहबाट खेलाडी छनौट गर्न एकमहिना समय लाग्छ । त्यस्तै जिल्ला र प्रदेशस्तरप्य खेलाडी छनौट गर्न थप समय लाग्छ, त्यसले गर्दा समय अभाव हुन्छ  ।’

प्रकाशित: २ पुस २०७७ १०:२० बिहीबार

खेलकुद