खेल

रोमाञ्चक जितबाट भारतलाई शृंखला

हार्दिक पाण्ड्याको आक्रामक ब्याटिङप्रेरित भारतले आइतबार घरेलु टोली अस्ट्रेलियासँगको दोस्रो ट्वान्टी–२० मा जित रच्दै शृंखला आफ्नो बनाएको छ।

सिड्नीमा भएको दोस्रो ट्वान्टी–२० क्रिकेटमा भारतले १ सय ९५ रनको लक्ष्य दुई बल बाँकी छँदा पूरा गर्दै तीन खेलको शृंखला २–० ले आफ्नो बनाएको हो। पाण्ड्याले डेब्युटेन्ट ड्यानिएल स्याम्सको बलमा छक्का प्रहार गर्दै भारतलाई ६ विकेटले जित दिलाएका थिए। भारतलाई अन्तिम ओभरमा जितका लागि १४ रन आवश्यक थियो, तर पाण्ड्याले अन्तिम ओभरको चार बलमा दुई छक्का प्रहार गर्दै टोलीलाई रोमाञ्चक जित दिलाएका थिए। यस शृंखलामा सशक्त ब्याटिङ गरिरहेका पाण्ड्याको ब्याटिङबाट भारतले अन्तिम दुई ओभरमा मात्र २५ रन बटुलेको थियो।  

ओपनर शिखर धवनले ३६ बलमा ५२ रन र कप्तान विराट कोहलीले २४ बलमा ४० रन बनाउँदै भारतको इनिङ सम्हालेका थिए। त्यसपछि पाण्ड्याले २२ बलमा ४२ रनको आक्रामक ब्याटिङ गर्दै उत्कृष्ट फिनिसिङ गरे। एकदिवसीय शृंखला २–१ ले गुमाएको भारतलाई तीन खेलको ट्वान्टी–२० क्रिकेट शृंखला २–० ले जितेसँगै केही राहत महसुस भएको छ। भारतले तेस्रो तथा अन्तिम ट्वान्टी–२० क्रिकेट आगामी मंगलबार सिड्नीमा खेल्नेछ। ‘यस किसिमको दबाबपूर्ण अवस्था मैले धेरैपल्ट बेहोरिसकेको छु। त्यसबाट मैले धेरै पाठ पनि सिकेको थिएँ,’ दोस्रो खेलबारे पाण्ड्याले भने, ‘मेरो खेल जहिले पनि आत्मविश्वासका साथ हुने गर्दछ, आज पनि मैले त्यसैलाई अवलम्बन गरें।’

भारतलाई अन्तिम ओभरमा जितका लागि १४ रन आवश्यक थियो, तर पाण्ड्याले अन्तिम ओभरको चार बलमा दुई छक्का प्रहार गर्दै टोलीलाई रोमाञ्चक जित दिलाएका थिए।  

कप्तान कोहलीले पनि पाण्ड्याको टिम इफोर्टबारे गर्व महसुस गर्दै सानदार तवरबाट शृंखला जित्न सफल भएको प्रतिक्रिया दिएका छन्। ‘लयमा रहेका दुई खेलाडी आज खेलेका थिएनन्, तर पनि जित निकाल्न सफल भयौं,’ कोहलीले भने। यता पाण्ड्याले पनि फिनिसिङमा राम्रो गर्नुपर्ने महŒवाकांक्षासहित सफलता मिलेको बताए। शिखर र केएल राहुलले उत्कृष्ट सुरुआत दिलाउँदा पाँच ओभरमा ५६ रन बनाएका थिए,तर राहुल २२ बलमा ३० रन बनाउँदा आउट भए। त्यसपछि धवन र कोहलीले इनिङ समाल्दै जितको आधारस्तम्भ तय गरेका थिए।  

यद्यपि, धवनलाई एडम जाम्पा र कोहलीलाई ड्यानियलले आउट गरेका थिए। त्यसअघि कप्तान म्याथ्यु वेड र स्टिभ स्मिथको अर्धशतकीय योगदानप्रेरित अस्ट्रेलियाले पाँच विकेटको क्षतिमा १ सय ९४ रनको योगफल बनाएको थियो। आरोन फिन्च चोटका कारण उपलब्ध हुन नसक्दा वेडले कप्तानको जिम्मेवारी पाएका थिए। वेडले ५८ रनको कप्तानी पारी खेल्दा स्मिथ ४६ रनमा आउट भए। त्यसपछि म्याक्सवेलले २२ रन, मोइसेस हेनरिकले २६ र मार्कुस स्टोनिसले नटआउट १६ रन बनाउँदा अस्ट्रेलियाले विशाल योगफल बनाए पनि रक्षा गर्न सकेन। भारतको बलिङमा टी नटराजनले यादगार बलिङ गर्दै चार ओभरमा दुई विकेट लिँदा २० रन खर्चिए। त्यस्तै शार्दूल ठाकुर र युजभेन्द्र चाहलले १÷१ विकेट लिए पनि उनीहरू महँगा साबित भए। 

प्रकाशित: २२ मंसिर २०७७ ०२:१९ सोमबार

ट्वान्टी–२० क्रिकेट अस्ट्रेलिया भारत