विराटनगरस्थित सहिद रंगशालामा फ्लड लाइट राख्ने कामले तीव्रता पाएको छ। रात्रीकालीन खेलका प्रदेश सरकारले गत वर्ष असोजमा लाइट राख्नका लागि ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो।
लामो समयदेखि विभिन्न प्राविधिक समस्या देखाउँदै ठेकेदार कम्पनीले निर्माण कार्य ढिला र सुस्ती गतिमा गर्दै आएको थियो। पछिल्लो समय खेलसँग आवद्ध विभिन्न संघसंस्थालगायत सरोकारवाल निकायले चासो राख्न थालेपछि निर्माण कम्पनीले काम अघि बढाएको हो।
सोही क्रममा बिहीबार रंगशालाको चारै कुनामा फ्लड लाइटको ‘मास्ट’ राख्ने काम थालेको छ। रंगशालामा रात्रीकालीन खेल हुने गरी फ्लड लाइट राखिएको हो। विराटनगरमा हुने ‘विराट गोल्डकप’फुटबलको रात्रीकालीन खेल हुँदा दर्शकको उत्साह र माग पनि रहेको थियो। रात्रीकालीन खेल हुँदा अन्य वर्षको भन्दा धेरै नै दर्शक हेर्न आएका थिए।
सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाले संयुक्त रूपमा रंगशालाको निरीक्षण गरेका थिए। ‘समयको आवश्यकता र माग अनुरूप रंगशालालाई अत्याधुनिक बनाउनु पर्छ,’ प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले भने, ‘प्रदेशलाई खेलकुदको हब बनाउने योजना अनुसार भौतिक संरचना निर्माणको कार्य सकारले थलेको छ। तीन तहको सरकारको समन्वयमा खेलकुद विकास कार्य अघि बढाउने छौं।’
प्रदेश सरकारले विराटनगरलाई खेलकुदमय बनाउनका लागि काम थालेको छ। यससँगै प्रदेशका अन्य स्थानमा भौतिक संरचना निर्माणको कार्य भइरहेको छ। ‘कोभिडबाट थलिएको खेलकुदलाई परिस्थिति हेरेर चाँडै गतिविधि सञ्चालनको अनुमति दिन सकिने छ,’ मन्त्री घिमिरेले भने, ‘प्रदेशमा भएका पुराना संरचना सुधार र मर्मत गर्दै खेलकुदलाई चलायमान बनाउने छौं। कोभिडका कारण प्रदेश सरकारको आम्दानी घटेको छ। खेलकुदको विकासका लागि तीन तहको सरकार लाग्ने र सोही अनुसार समवन्य गरेर अघि बढ्छौं।’
‘सहिद रंगशालाको संरचना पुरानो भएकोले पुनर्निमाण गर्न जरुरी भएको छ,’ विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने, ‘खेलकुदलगायतका भौतिक संरचना निर्माणमा नागरिकको सहभागिता आवश्यक रहेको छ। सहिद रंगशालाको प्याराफिट, बैजानाथपुरमा रहेको स्पोर्टस कम्प्लेक्सको स्तारोन्नतिमा विशेष ध्यान दिएका छौं। बैजनाथपुर रंगशाला निर्माणको गुरूयोजना भए पनि बजेट अभावका कारण पूर्णता पाउन सकेको छैन। त्यसको व्यवस्थाका लागि तीन नै तहको सरकार लाग्नु छ।’
लाइटका लागि ‘मास्ट’ राख्ने कार्य भए पनि बाँकी भागमा भने केही समय लाग्ने निर्माण कम्पनी कार्की बन्धु अमर जेभी कन्स्ट्रक्सनले जनाएको छ। मैदानलगायत अन्य धेरै निर्माणको काम बाँकी भएकाले पनि लाइट निर्माण पूरा हुन केही समय लाग्ने निर्माण कम्पनीले जनाएको छ। भारतको मुम्बईस्थित ट्रान्सरेल कम्पनीबाट झिकाइएको लाइट जडानका लागि हाल भारतको मुम्बईबाट १, कोलकाताबाट २, सिलगुढीबाट ४, आसामबाट ३ जना रहेका छन्। ३३ मिटर अग्लो रहने प्रत्येक मास्टमा १ हजार वाटका २७ वटा बल्ब रहने छन्।
सामाजिक विकास मन्त्रालयसँग निर्माण कम्पनीले लाइट जडानका लागि ४ करोड २९ लाख रूपैयाँमा सझौता गरेको थियो। सुरूआती २ सय १० दिनभित्र निर्माण कार्य सम्पन्न गर्ने भनिएको थियो। सरकारसँग दोस्रो पटकको सम्झौता अनुसार पौष मसान्तभित्र काम सक्नुपर्ने हुन्छ।
प्रकाशित: १८ मंसिर २०७७ १२:२७ बिहीबार