खेल

वर्षाले खेल रद्द

वेस्ट इन्डिज र न्युजिल्यान्डबीचको तेस्रो ट्वान्टी–२० क्रिकेट वर्षाका कारण रद्द हुँदा घरेलु टोली न्युजिल्यान्डले तीन खेलको शृंखला २–० ले आफ्नो बनाएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले २.२ ओभरमा एक विकेट गुमाएर २५ रन बनाउँदा खेल वर्षाका कारण प्रभावित भएको थियो। तर, दुई घण्टासम्म पनि वर्षा रोकिने सम्भावना नभएपछि अम्पायरले तेस्रो ट्वान्टी–२० रद्द गर्ने निर्णय गरेका थिए। शृंखलामा सात विकेट लिएका न्युजिल्यान्डका लोकी फर्गुसन प्लेयर अफ दी सिरिज घोषित भए। पहिलो खेलमा उनले पाँच विकेट लिएर २१ रन खर्चदै सानदार प्रदर्शन गरेका थिए। अन्तिम खेलमा पनि उनले वेस्ट इन्डिजको एक विकेट लिएका थिए।  

पहिलो पटक न्युजिल्यान्डको कप्तानी गरेका मिचेल सान्टनरले टस जित्दै बलिङ गर्ने निर्णय गरेका थिए। तर, उनको पहिलो नेतृत्वमा न्युजिल्यान्डले जितको अवसर पाएन। न्युजिल्यान्डले पहिलो ट्वान्टी–२० पाँच विकेटले र दोस्रो ७२ रनले जितेको थियो। यी दुईबीचको पहिलो टेस्ट शृंखला आगामी बिहीबार ह्यामिल्टनमा सुरु हुनेछ।

प्रकाशित: १६ मंसिर २०७७ ०३:१८ मंगलबार

वर्षाका कारण खेल रद्द वेस्ट इन्डिज न्युजिल्यान्ड ट्वान्टी–२० क्रिकेट