खेल

बर्नलीलाई पहिलो सफलता

क्रिस वुडको गोलप्रेरित बर्नलीले यस सिजनको इङ्लिस प्रिमियर लिगमा पहिलो सफलता निकाल्दा तुलनात्मक रूपमा बलियो क्रिस्टल प्यालेसलाई १–० ले स्तब्ध बनाएको छ।

यता, बर्नलीले सोमबार सिजनको पहिलो सफलता हात पार्दा साउथह्याम्पटनले भने वुल्भ्ससँग १–१ को बराबरीमा रोकिँदै अंकतालिकाको तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ। बर्नलीले क्लब इतिहासमा सुरुआती सात खेलमा संयुक्त रूपमा खराब सुरुआत गर्दा एक पनि जित निकाल्न सकेको थिएन। सिन डिचेको बर्नली यसअघि घरेलु मैदानमा गोल गर्न नसक्ने एउटा मात्र टोली थियो। यद्यपि, न्युजिल्यान्डका स्ट्राइकर वुडले गोल गर्दै बर्नलीको त्यो खराब रेकर्डलाई मेटाए। बर्नलीले पनि बलियो डिफेन्स प्रस्तुत गर्दै पहिलो हाफको सुरुआतमै गरेको गोलको अग्रता जोगाएको थियो। वुडले जे रोड्रिग्वेजको पास सदुपयोग गर्दै खेलको आठौं मिनेटमा बर्नलीलाई अग्रता दिलाएका थिए। 

त्यो गोल नै बर्नलीलाई अंक दिलाउन पर्याप्त बन्यो। यसबाट बर्नली रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि उक्लिएको छ। ‘हामीले एक–दुईवटा मात्र राम्रा अवसर सिर्जना गरेका थियौं, त्यसमध्ये एउटालाई गोलमा परिणत गर्न सफल भयौं। पहिलो जित नै निकाल्न नसकेकाले केही दबाब थियो, तर अब अझैं राम्रो गर्दै जानेछौं,’ डिचेले भने, ‘समग्र टोलीको प्रयासबाट यो जित सम्भव भएको हो। बिस्तारै हामी लयमा फर्कनेछौं।’ प्यालेसले आइभरी कोस्टका फरवार्ड विलफ्रिड जाहालाई कोरोना भाइरस पोजेटिभ र रोय हडसनलाई चोटका कारण गुमाएको थियो। प्यालेसले बर्नलीविरुद्ध यी दुवै खेलाडीको अभाव महसुस गरेको थियो। प्यालेसले पछिल्ला तीन खेलमा दुई हार बेहोरिसकेको छ।

बर्नलीले सोमबार सिजनको पहिलो सफलता हात पार्दा साउथह्याम्पटनले भने वुल्भ्ससँग १–१ को बराबरीमा रोकिँदै अंकतालिकाको तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ।

यता, जित निकाले पनि बर्नलीले यस सिजन तीन गोल मात्र गरेको छ र गत अक्टोबर तीनमा एस्ले वेस्टवुडले न्युक्यासलविरुद्ध गोल गरेपछि बर्नलीले एक गोल पनि गर्न सकिरहेको थिएन। तथापि, क्रिस वुडले आठौं मिनेटमै गोल गर्दै लगातार चार खेलमा गोलरहित बनेको बर्नलीको खडेरी तोडेका थिए। एन्ड्रोस टाउनसेन्डको सशक्त प्रहारमा प्यालेस बराबरीनजिक देखिए पनि बर्नलीका गोलकिपर निक पोपले उत्कृष्ट बचाउ गरेका थिए। जोहान गुडमन्डसनले बर्नलीको अग्रता दोब्बर बनाउने अवसर पाए पनि उनको प्रहार बारमा लागेर फर्किएको छ।  

प्यालेसका लागि मिचे बात्सुईले पनि बराबरी गर्ने अवसर गुमाएका थिए। खेलको अतिरिक्त समयमा पनि क्रिस्टियन बेनटेकेको प्रहार बिफल बनाउँदै पोपले बर्नलीलाई स्पष्ट तीन अंक दिलाउन उत्कृष्ट प्रदर्शन गरे। वुल्भ्सको घरेलु मैदानमा साउथह्याम्पटन थियो वालकटको गोलमा चौथो जितनजिक पुगेको थियो। यद्यपि, अतिरिक्त खेलाडी पेड्रो नेटोले अन्तिम १५ मिनेट बाँकी छँदा गोल गर्दै

वुल्भ्सलाई १–१ को बराबरीमा पु-याए। तर, थप गोल हुन नसक्दा साउथह्याप्टन पाँचौं स्थानमा रहँदै सातौं खेलमा अपराजित रह्यो।

प्रकाशित: १० मंसिर २०७७ ०२:२८ बुधबार

इङ्लिस प्रिमियर लिग