खेल

रबाफिलो जितबाट टोटेनह्याम शीर्षमा

टोटेनह्यामले बलियो टोली म्यानचेस्टर सिटीविरुद्ध शनिबार रबाफिलो जित निकाल्दै शीर्ष स्थानमा फड्को मार्दा चेल्सी पनि न्युक्यासललाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ।

म्यानचेस्टर युनाइटेडले अझै पनि आक्रामक लय समात्न नसके पनि घरेलु मैदामा प्रिमियर लिगका पछिल्ला सात खेलमा पहिलो जित निकाल्न सफल भएको हो। पोर्चुगिच मिडफिल्डर ब्रुनो फर्नान्डेजले दोस्रो अवसरको पेनाल्टीमा गोल गर्दा युनाइटेडले कमजोर टोली वेस्ट ब्रुममाथि १–० माथि साँघुरो जित निकाल्न सफल भयो। घरेलु मैदानमा यस सिजन पहिलो जित निकाल्दै युनाइटेड अंकतालिकामा नवौं स्थानमा उक्लिएको छ। सन ह्युङ मिन र जिओभानी लो सेल्सोको गोलबाट टोटेनह्यामले आफ्नै घरेलु मैदानमा बलियो टोली सिटीलाई स्तब्ध बनाएको थियो।

सिटीविरुद्धको जितसँगै टोटेनह्याम ६ वर्षपछि पहिलोपटक अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ। टङ्गे एनडोम्बेलेको पासमा सनले गोल गर्दै खेलको पाँचौं मिनेटमै टोटेनह्यामलाई अग्रता दिलाएका थिए। सनले सिटीको अफसाइड ट्य्राप बिट गर्नुका साथै सानदार तवरबाट सिटीका गोलकिपर एडर्सनलाई जिल्ल्याउँदै गोल गरेका थिए। यससँगै उनले सिजन ११औं गोल पूरा गरेका छन्। सिटीले बल पोसेसनमा दबाब बनाए पनि राम्रा अवसर सिर्जना गर्न भने संघर्ष गरेको थियो। अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका लो सेल्सोले ३५ सेकेन्डभित्रमै गोल गरेपछि टोटेनह्यामले २–० को अग्रता बनाएको थियो। उनले ह्यारी केनको पास सदुपयोग गर्दै गोल गरेका थिए। 

सन ह्युङ मिन र जिओभानी लो सेल्सोको गोलबाट टोटेनह्यामले आफ्नै घरेलु मैदानमा बलियो टोली सिटीलाई स्तब्ध बनाएको थियो। 

टोटेनह्यामसँग एक वर्षको सहकार्य पूरा गरेका जोजे माउरिन्होको टोली पछिल्ला आठ खेलमा अपराजित छ। सिजनको पहिलो खेलमै एभर्टनसँग स्तब्ध भएपश्चात् समालिँदै टोटेनह्यामले उपाधि दाबेदारीको समेत संकेत गरेको छ। ‘हाम्रो रणनीतिअनुसार नै खेलाडीले शतप्रतिशत खेले। उनीहरू उत्कृष्ट प्रदर्शन गरे,’ माउरिन्होले भने, ‘हामीले खेल्ने राम्रो शैली समातिरहेका छौं। उनीहरूले जसरी प्रदर्शन गरे, त्यो देखेर खुसी नै छु।’ पछिल्लोपटक सन् १९६१ उपाधि जितेको टोटेनह्यामले यस सिजन शीर्ष स्थान ओगट्दा दोस्रो स्थानको चेल्सीसँग दुई अंकको अग्रता बनाएको छ।

चेल्सी र टोटेनह्यामले अर्को हप्ता एकअर्काबीच नै चुनौती प्रस्तुत गर्नेछन्। यता, हारसँगै ११औं स्थानमा खस्किएको सिटी शीर्ष टोलीभन्दा आठ अंकले पछि परेको छ। पेप ग्वार्डिओलाले यसै हप्ता सिटीसँग सन् २०२३ सम्मको सहकार्य थप गरे पनि उनको टोलीले भने तुलनात्मक रूपमा कमजोर प्रदर्शन गरिरहेको छ। सन् २०१८ र सन् २०१९ को प्रिमियर लिग च्याम्पियन सिटीले यस सिजन आफ्नो आक्रामक लय समात्न सकिरहेको छैन।    

युनाइटेडको पहिलो सफलता
युनाइटेडले लामो समयपछि घरेलु मैदान ओल्ड ट्राफोर्डमा जित निकाल्दा उपाधिको दाबेदारमा समेत फर्किएको छ। ओले गनर सोल्सजायरको टोली युनाइटेडले दुई पटक पेनाल्टी हान्ने अवसर पाउँदा नै भाग्यमानी साबित भयो। पेनाल्टी एरियामा वेस्ट ब्रुमका डार्नेल फुरलङले ह्यान्ड गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो। युनाइटेडका ब्रुनो फर्नान्डेजको प्रहार वेस्ट ब्रुमका गोलकिपर साम जोन्सटोनले रोके पनि रेफ्रीले पहिलै नै गोलकिपरले गोल लाइन क्रस गरेको भन्दै युनाइटेडलाई दोस्रो अवसर दिए। दोस्रो अवसरमा भने ब्रुनोले गोल गर्न सफल भए, त्यो गोल नै युनाइटेडको जितका लागि पर्याप्त बन्यो।

प्रकाशित: ८ मंसिर २०७७ ०२:४४ सोमबार

टोटेनह्याम