खेल

नेपालगन्ज म्याराथनः गोपी र पुष्पा च्याम्पियन

गोपी चन्द्र पार्की र पुष्पा भण्डारी(हाफ म्याराथन) छैटौं धारा नेपालगन्ज म्याराथनमा च्याम्पियन भएका छन्। पहिलो हुने दुबै खेलाडी एपिएफका हुन्। कोरोना कारण झन्डै नौ महिना खेलकुदका गतिविधि ठप्प भएका थिए। लकडाउन पछि भएको ठूलो प्रतियोगितामा एपिएफका खेलाडीले बर्चस्व जमाए।  

शनिबार नेपालगन्जमा भएको प्रतियोगितामा पहिलो भएका गोपी जापानमा हुने टोकियो ओलम्पिकका लागि पनि छनोट हुन सफल भएका छन्।  

नेपाल ओलम्पिक कमिटी र नेपाल एथ्लेटिक्स संघले नेपालगन्ज म्याराथनको पुरुष तर्फको प्रतिस्पर्धालाई ओलम्पिक छनोटको रुपमा लिएको थियो।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पाँच हजार मिटर दौडमा स्वर्ण जितेका गोपीले निर्धारित ४२ दशमलव १ सय ९५ किलोमिटर दूरी २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा पुरा गरेका थिए।

२५ धावकले प्रतिस्पर्धा गरेको छैठौ संस्करणमा दोस्रो भएका आर्मीका कृष्ण बस्नेतले २ घन्टा २० मिनेट ४९ सेकेन्डमा दौड पुरा गरे।  

आर्मीकै खगेन्द्र भाटले २ घन्टा २७ मिनेट २८ सेकेन्डमा पुरा गर्दै तेस्रो तथा गतवर्षको विजेता आर्मीकै नवराज साउदले २ घन्टा ३१ मिनेट २१ सेकेन्डमा चौथो स्थान हासिल गरे। आर्मीकै ज्ञानप्रसाद भट्टराईले २ घन्टा ४६ मिनेट ४१ सेकेन्डमा पाँचौ स्थान तथा सुदूरपश्चिम प्रदेशका मुकेशबहादुर पालले २ घन्टा ४७ मिनेट ५५ सेकेन्डमा पुरा गर्दै छैटौ स्थान हात पारे। कालिकोटका जगदिश गिरी सातौ तथा दाङका सनम घर्ती आठौं भए।  

म्याराथन विपीचोक सुरु भएर कोहलपुर चौराहा, उत्तरतर्फ कौशिलानगर पुगेर सोही रुट हुँदै विपीचोक पुगेर दौड टुगिंएको थियो। उपाधि विजेता गोपीले ७५ हजार, कृष्णले ३० हजार, र खगेन्द्रले १० हजार रुपैयाँ प्राप्त गरे। नवराजले १०, ज्ञानप्रसादले ८, मुकेशले ७ हजार, जगदीश ६ र सनमले ५ हजार रुपैयाँ प्राप्त गरे।  

महिला तर्फको हाफ म्याराथन पुष्पाले १ घन्टा २६ मिनेट ५४ सेकेन्डमा पुरा गरिन्। १० खेलाडीको सहभागिता रहेको प्रतिस्पर्धामा जुम्लाकी मन्जु राउत (१ घन्टा ३० मिनेट ०७ सेकेन्ड) दोस्रो र दाङकी शर्मिला घर्ती (१ घन्टा ३८ मिनेट १४ सेकेन्ड) तेस्रो भइन्।

सुदूरपश्चिमकी सकुन्तला ठगुन्ना चौथो, दाङकी अनिषा चौधरी पाँचौं, बर्दियाकी कल्पना चौधरी छैटौं, बाँकेकी अंकिता गुरुङ सातौं र कास्की ललिता लामिछाने आठौं भएकी थिइन्। पुष्पाले ३० हजार, मन्जुले २० हजार र शर्मिलाले १० हजार रुपैयाँ प्राप्त गरिन्। शकुन्तलाले ८ हजार, अनिषाले ७ हजार, कल्पना ५ हजार, अंकिताले २ हजार ललिताले १ हजार प्राप्त गरिन्।  

विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपालगञ्ज उप महानगरपालिकाका मेयर डा.धवल शमशेर राणा, दुग्गड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड लगायतले पुरस्कृत गरे।

प्रतियोगिताको समापनको अवसरमा आयोजकले नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर तथा एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङलाई सम्मान गरेको छ। आयोजक क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले गुरुङलाई पाँच हजारसहित सम्मान गरेका थिए।

प्रकाशित: ६ मंसिर २०७७ १४:०२ शनिबार

नेपालगन्ज म्याराथन