खेल

रोहितलाई कप्तानी बनाउन माग

इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई ऐतिहासिक उपलब्धि दिलाउँदै आफूलाई सफल कप्तानको रूपमा उभ्याएसँगै रोहित शर्मालाई भारतको ट्वान्टी–२० राष्ट्रिय टोलीको कप्तानीको जिम्मेवारी दिनुपर्ने चर्चा चुलिएको छ।

आइपिएलको १३औं संस्करणसम्म आइपुग्दा पनि भारतीय टोलीका कप्तान विराट कोहलीले कुनै उपाधि जित्न सकेका छैनन्। जबकि रोहितको कप्तानीमा रहेको मुम्बईले मंगलबार दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै कीर्तिमानी पाँचौं पटक आइपिएलको उपाधि जितेको थियो।  

भारतीय टोली यसै साता अस्ट्रेलिया भ्रमणमा निस्कनेछ। जहाँ टोलीले तीन ट्वान्टी–२० शृंखलाका साथै तीन एकदिवसीय र ४ टेस्ट शृंखला खेल्नेछ। यसअघि भारतीय टोली अनिवार्य रूपमा २ साता क्वारेन्टिनमा बस्नेछ।

आइपिएल फाइनलको नतिजासँगै भारतका पूर्वब्याट्सम्यान गौतम गम्भीर र इङ्ल्यान्डका पूर्वकप्तान मिचेल भानले शर्मालाई भारतीय ट्वान्टी–२० टोलीको कप्तानी जिम्मेवारी दिनुपर्ने बताएका हुन्।

आइपिएल फाइनलको नतिजासँगै भारतका पूर्वब्याट्सम्यान गौतम गम्भीर र इङ्ल्यान्डका पूर्वकप्तान मिचेल भानले रोहित शर्मालाई भारतीय ट्वान्टी–२० टोलीको कप्तानी जिम्मेवारी दिनुपर्ने बताएका हुन्।  

‘रोहितले पाँचवटा आइपिएल उपाधि जितिसकेका छन्। उनी आइपिएल इतिहासकै सर्वाधिक सफल कप्तान हुन्,’ गम्भीरले भने, ‘अब पनि रोहितलाई सीमित ओभरको खेल (ट्वान्टी–२०) का लागि भारतीय टोलीको कप्तानी नदिएमा त्यो लज्जाको विषय बन्न सक्छ।’

सन् २०१३ मा रिक्की पोन्टिङले छोडेपछि रोहितले मुम्बई इन्डियन्सको कप्तानी सम्हालेका थिए। मुम्बईले रोहितकै कप्तानीमा २०१३,२०१५,२०१६,२०१९ र २०२० को संस्करण गरी कीर्तिमानी पाँच पटक आइपिएल उपाधि जितेको छ। 

यता पछिल्लो ३ संस्करणमा अन्तिम २ स्थानमा बसेको कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैङ्लोर यस सिजन प्लेअफमा सनराइजर्स हैदराबादसँग निराश भएको थियो।  

भानले पनि शर्मालाई भारतीय ट्वान्टी–२० टोलीको कप्तानी दिइनुपर्ने बताएका हुन्।  

‘रोहितलाई भारतीय ट्वान्टी–२० टोलीको कप्तानको जिम्मेवारी दिइनुपर्छ, यसमा कुनै दुबिधा नै छैन,’ भानले ट्विट गरेका छन्, ‘उत्कृष्ट नेतृत्वकर्ता। ट्वान्टी–२० खेल कसरी जित्नुपर्छ रोहितलाई राम्रोसँग थाहा छ। रोहितलाई कप्तानीको जिम्मेवारी दिएपछि विराटले पनि केही समय विश्राम पाउनेछन्।’  

यद्यपि ह्यामस्ट्रिङका कारण यस सिजन आइपिलमा समेत केही खेल गुमाएका रोहितलाई भारतले अस्ट्रेलियाविरुद्धको ट्वान्टी–२० र एकदिवसीय शृंखलामा भारतीय टोलीमा समावेश गरिएको छैन। रोहितले ४ टेस्ट शृंखलाका लागि भने भारतीय टोलीमा स्थान बनाएका छन्।

प्रकाशित: २७ कार्तिक २०७७ ०४:१४ बिहीबार

ट्वान्टी–२० टोलीको कप्तानी रोहित शर्मा