खेल

सदस्यसचिवसँग संघहरूको गुनासो, सागको पैसा कहिले आउँछ ?

पोखरा रंगशालामा संघहरूद्वारा आयोजित स्वागत कार्यक्रममा सम्बोधन गर्दै राखेप सदस्यसचिव सिलवाल । तस्बिर : नागरिक

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सकिएको एक वर्ष बित्यो । एक वर्षको अवधिमा समेत बनाइएका पूर्वाधारको रकम अझै निकासा भएको छैन । रकम निकासा नहुँदा संघहरू ऋणमा छन् ।  

वर्षदिनसम्म रकम निकासा नहुँदा मर्कामा रहेका संघका पदाधिकारीले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवसँग गुनासाका पोकाहरू एकपछि अर्को गरी फुकाए । अधिकांश गुनासो भने रकम निकासा नहुँदा भोग्नुपरेको पीडाबारे थियो । २०७६ मंसिर १५ गतेख २४ गतेसम्म पोखरा रंगशालामा आयोजित सागमा ८ वटा खेल  आर्चरी, ह्यान्डबल, बिच भलिबल, क्रिकेट, फुटबल, ब्याडमिन्टन, ट्रायथोलन र भारोत्तोलन आयोजना गरिएको थियो ।

‘साग आयोजना गरिँदा पूर्वाधार निर्माण र प्रतियोगिताकै रकम निकासा भएको छैन’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने, ‘वर्षदिनसम्म रकम नआउँदा अन्य काम गर्न कठिनाइ भएको छ ।’ सागकै लागि क्रिकेट मैदानभित्र ट्रेनिङ सेन्टर, मोबाइल शौचालय तथा साइटस्क्रिनलगायत अन्य पूर्वाधार बनाइएको थियो । तिनीहरूको रकम राखेपबाट निकासा नहुँदा रुनु न हाँस्नुको अवस्थामा पुगिएको गुनासो अध्यक्ष सिग्देलको थियो । उनका अनुसार २८ लाख रुपैयाँभन्दा बढी रकम आउनुपर्नेछ । ‘क्रिकेटका लागि सागको एक पैसा पनि आएको छैन,’ उनको भनाइ थियो । क्रिकेट प्रतियोगिता आयोजना खर्चसमेत आएको छैन ।  

‘साढे तीन लाख रुपैयाँ संघकै अध्यक्षले तिर्ने र आएपछि पाउने गरी माइन्युट गरिएको छ । काम गरेपछि पैसा नपाउँदा कामदार घरमै आउन थाले । आफ्नो इज्जतले पनि दिनुपर्ने बाध्यता आयो ।’

त्यति मात्रै नभई गत आर्थिक वर्ष परिषद्ले निर्णय नगर्दा छुट्ट्याइएको तीन करोड रुपैयाँसमेत फिर्ता हुन पुग्यो । क्रिकेट मैदानको स्तरोन्नति गर्ने उद्देश्यसहित दुई वर्षअघि बनाइएको डिपिआरअनुसार पूर्वाधार तयार गर्ने योजनाको टेन्डरसमेत आह्वान गरिएको थियो । तीन पटक म्याद थप्दै टेन्डरलाई फाइनल  गर्ने  प्रक्रियासमेत अनिर्णीत हँुदै रद्द हुन पुग्यो । ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रूपमा परिचित गराउने ध्येयसहित छुट्ट्याइएको बजेटअनुसार काम गर्ने योजना थियो’ उनले भने, ‘तर त्यो तुहिन पुग्यो ।’ पभेलियनसहित चेन्जिङ रुम, मैदानमा तारजाली लगाउने, नाली (डे«नेज) निर्माण गर्ने लगायतका कामहरू गर्ने योजना बनाइएको थियो ।  

समुद्रका किनारका खेलिने बिच भलिबलको कोर्टसमेत फेवा किनारमा तयार गरिएको थियो । तयार गरिए पनि पूरा पैसा नआउँदा समस्यामा घेरिनुपरेको पीडा कास्की जिल्ला भलिबल संघको थियो । ‘७ लाख रुपैयाँ पाउन बाँकी छ । ५० लाख रुपैयाँ आएको थियो । खर्च ५७ लाख रुपैयाँ हुन पुग्यो,’ कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले भने, ‘कोर्टसँगै दर्शकका लागि प्यारापिटसमेत निर्माण गरिएको थियो ।’ आर्चरी संघले पनि परिषद्का सदस्यसचिव स्वागत गर्ने क्रममा आफ्ना गुनासो फुकायो । संघका अध्यक्ष योगेन्द्र शेरचनले सागकै बेलामा आन्तरिक रूपमा खर्च गरिएको साढे ३ लाख रुपैयाँ जति आउनुपर्नेमा बताए । ‘हिजो सागको बेलामा मन्त्री, सदस्यसचिवले तपार्इंहरु काम गर्नोस्, पैसाको चिन्ता नगर्नोस् भन्ने अभिव्यक्ति दिए’ उनले भने, ‘धमाधम काम गरियो । आउने बेलामा पैसा थोरै थोरै आउँछ । तिर्नुपर्ने ठाँउमा तिर्न पाइएको छैन ।’ उनका अनुसार साढे तीन लाख रुपैयाँ संघकै अध्यक्षले तिर्ने र आएपछि पाउने गरी माइन्युट गरिएको छ । काम गरेपछि पैसा नपाउँदा कामदार घरमै आउन थाले । आफ्नो इज्जतले पनि दिनुपर्ने बाध्यता आएको उनले सुनाए । शीर्षकअनुसार पैसा आए पनि खर्च बढी भएको उनको भनाइ थियो ।  

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले पनि परिषद्सँग तिर्नुपर्ने फेहरिस्त तयार गरी पत्राचार गरिसकेको छ । पत्राचार गरे पनि परिषद्बाट रकम निकासा नहुँदा गुनासो दैनिकजसो सुन्नुपरेको बताउँदै आएको छ । ‘सागकै मात्रै २ करोड रुपैयाँ तिरनतारन गर्नुपर्नेछ,’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखा प्रमुख डम्बरबहादुर (डिबी) नेपालीले भने, ‘परिषद्लाई एकमुष्ठ हिसाब गरी भुक्तानीको लागि पत्राचार गरिसकिएको छ । तर निकासा भएको छैन ।’ रकम निकासा नहुँदा कार्यालयमै संघका पदाधिकारी दैनिकजसो पैसा आयो कि आएन भनेर मात्रै गुनासो सुनाउँछन् ।  

आर्चरी र भारोत्तोलनको भने शीर्षकअनुसार सबै पैसा आइसकेको उनले बताए । उनका अनुसार ब्याडमिन्टन कभर्ड हलको ८४ लाख रुपैयाँ आउनुपर्नेछ । सागकै लागि हतारिएर कभर्ड हल तयार गरिएको थियो । तयारी गरिएअनुसार परिषद्बाट फटाफट रकम निकासा हुने अपेक्षा गरिएको थियो । परिषद् सदस्यसचिव रमेशकुमार सिलवालले पनि संघहरूको गुनासोलाई बढीमा डेढ हप्ताभित्रमा निकासा गर्ने प्रतिबद्धता जनाए । 

प्रकाशित: २६ कार्तिक २०७७ ०४:०५ बुधबार

राष्ट्रिय खेलकुद परिषद्