खेल

क्यानद्वारा वर्गीकरण परिमार्जन

नेपाल क्रिकेट संघ (क्यान)ले विवादित बनेको पुरुष तथा महिला खेलाडी वर्गीकरणमा परिमार्जन गरेको छ। शनिबार बसेको क्यान बोर्ड बैठकले खेलाडी वर्गीकरण छनोट समितिले गरेको सिफारिसमा नयाँ वर्गीकरणलाई सर्वसम्मतिले पारित गरेको हो। परिमार्जित वर्गीकरण अनुसार यसअघि ‘बी’ श्रेणीमा रहेका तीव्र गतिका बलर सोमपाल कामी ‘ए’ श्रेणीमा परेका छन् भने ‘सी’ श्रेणीमा रहेका अविनाश बोहोरालाई ‘बी’ श्रेणीमा राखिएको छ। 

क्यानको सेन्ट्रल कन्ट्य्राक्टमा नसमेटिएका ललितनारायण राजवंशी ‘बी’ श्रेणीमा अटाउँदा सन्दीप जोरा ‘सी’ श्रेणीमा परे। त्यसै गरी महिला क्रिकेट खेलाडीतर्फ सरस्वती चौधरीलाई ‘बी’ श्रेणीमा तथा ममता चौधरी र सुमन खतिवडालाई ‘सी’ श्रेणीमा राख्ने निर्णय गरेको छ।  

क्यानले असोज ६ मा चितवनमा सम्पन्न बोर्ड बैठकले राष्ट्रिय पुरुष र महिला क्रिकेट खेलाडीको वर्गीकरण सार्वजनिक गरेको थियो। परिमार्जित वर्गीकरणअनुसार अब क्यानको सेन्ट्रल कन्ट्य्राक्टमा पुरुषतर्फ २० र महिलातर्फ २२ जना खेलाडी छन्। वर्गीकरणअनुसार पुरुषतर्फ ‘ए’ श्रेणीका खेलाडीले मासिक ५० हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक ४० हजार र ‘सी’ श्रेणीको खेलाडीले मासिक ३० हजार रूपैयाँ तलब पाउनेछन्। महिलातर्फ ‘ए’ श्रेणीका खेलाडीले मासिक १५ हजार, ‘बी’ ले मासिक १२ र ‘सी’ श्रेणीका खेलाडीले १० हजार रुपियाँ मासिक पाउनेछन्। 

साथै क्यान बैठकले स्वास्थ्य मापदण्ड पूरा गर्दै मंसिर १० गतेबाट पुरुष राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु गर्ने निर्णय गर्नुका साथै मंसिर ३ गते साधारणसभा गर्ने निर्णयसमेत गरेको छ। असोज ६ मा चितवनमा बसेको क्यानको बोर्ड बैठकले असोज २८ गते साधारणसभा गर्ने निर्णय गरे पनि नेपालमा कोरोना भाइरस संक्रमितको संख्या  बढ्नुका साथै क्यान अध्यक्षसहितका केही पदाधिकारीमा कोरोना पुष्टि भएपछि साधारणसभा स्थगित गरेको थियो। साथै बैठकले डिसेम्बरको अन्तिम साताबाट प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता गर्ने र प्रतियोगिता सञ्चालका लागि आवश्यक अनुमति प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ। 

त्यस्तै बैठकले भारतीय दूतावासको सहयोगमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको पवेलियन हल स्तरोन्नति गर्ने निर्णयका साथै मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा ड्रेनेज निर्माण र स्तरोन्नति प्रक्रिया अघि बढाउने, दुर्गाराज पाठकको संयोजकत्व रहने गरी नेसनल क्रिकेट एकेडेमी सञ्चालन कार्यविधि निर्माण गर्ने निर्णय गरेको छ। त्यस्तै प्रशान्तविक्रम मल्लको संयोजकत्वमा दुई साताभित्र तीन वर्षीय रणनीतिक योजना निर्माण गर्ने समेत बैठकले निर्णय गरेको छ।

प्रकाशित: २३ कार्तिक २०७७ ०३:४३ आइतबार