खेल

बंगलादेशी टोली न्युजिल्यान्ड जाने

बंगलादेशले दुई वर्षपछि न्युजिल्यान्ड भ्रमण गर्ने भएको छ।  

क्राइस्टचर्चको मस्जिदमा भएको नरसंहारपछि बंगलादेश क्रिकेट टोलीले पहिलो पटक न्युजिल्यान्ड भ्रमण गर्न लागेको हो। बंगलादेश मार्च १५ मा न्युजिल्यान्ड पुग्नेछ, जहाँ टोलीले ३ एकदिवसीय र ३ ट्वान्टी–२० शृंखला खेल्नेछ। न्युजिल्यान्ड क्रिकेट बोर्डले बंगलादेशसहित अन्य तीन राष्ट्र (वेस्ट इन्डिज, पाकिस्तान र अस्ट्रेलिया) ले पनि न्युजिल्यान्ड भ्रमण गर्ने तालिका रहेको बताएको छ।

२ वर्षअघि दुईवटा मस्जिदमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा भएको सो नरसंहारमा ५१ जनाको ज्यान गएको थियो भने ४० जना घाइते भएका थिए।

उक्त व्यक्तिले सुरुआतमा ह्याग्ले पार्क क्रिकेट ओभलनजिकै रहेको अल नुर मस्जिदमा गोली चलाएको थियो, जहाँ बंगलादेशी टोली न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पूर्वसन्ध्यामा प्रार्थनाका लागि जाने तयारीमा थियो।

खेलाडी प्रवेश गर्नै लाग्दा एक महिलाले मस्जिदभित्र गोली चलिरहेको बताएसँगै बंगलादेशी टोली ज्यान जोगाउन बसभित्र फर्किएको थियो।

‘हामी भाग्यमानी रह्याैं, किनभने हामी मस्जिदभित्र प्रवेश गरिसकेका थिएनौं,’ बंगलादेशी टोलीका म्यानेजर खालिद मन्सुदले भनेका थिए, ‘हामीले बाहिरबाटै घटना देख्यौं, भिडियोमा कुनै चलचित्रको दृश्य हेरेजस्तै। धेरै मानिस रत्ताम्य हुँदै भागदौड गरिरहेका थिए।’

खेलाडी भने सुरक्षित रहन सफल भए। सो घटनापछि टेस्ट शृंखला रद्द भएलगत्तै बंगलादेशी टोली स्वदेश फर्किएको थियो  

यद्यपि न्युजिल्यान्ड क्रिकेट बोर्डका कार्यकारी निर्देशक डेविड ह्वाइटले बंगलादेश र अस्ट्रेलियाविरुद्ध शृंखलाका लागि न्युजिल्यान्ड सरकारले स्वीकृति दिइनसके पनि शृंखला हुनेमा विश्वस्त रहेको बताए। वेस्ट इन्डिज र पाकिस्तानी टोलीलाई भने १४ दिन क्वारेन्टिनमा बस्ने र स्वास्थ्य मापदण्ड पूरा गर्ने सर्तसहित खेल्न गत साता सरकारले अनुमति दिएको थियो।

‘विगत लामो समयदेखि रहेको अन्योल अन्त्य भएको छ,’ ह्वाइटले भने, ‘म सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु।’

प्रकाशित: १४ आश्विन २०७७ ०३:०८ बुधबार

बंगलादेश क्रिकेट टोली न्युजिल्यान्ड भ्रमण