खेल

संरक्षकको अभावमा वैजनाथपुर रंगशाला अलपत्र

विराटनगर–१९ स्थित निर्माणधिन क्षेत्रीय रंगशाला संरक्षणको अभावमा अलपत्र परेको छ। विराटनगर–१९ वैजनाथपुरस्थित निर्माणाधिन क्षेत्रीय रंगशाला प्रदेशको मातहतमा आए पनि प्रदेशस्तरमा रंगशाला संरक्षण गर्ने निकाय नै नभएका कारण रंगशाला अलपत्र परेको हो।  

रंगशालाको संरक्षक नै नभएपछि निर्माण भएका पूर्वाधारहरू जीर्ण बन्दै गएका छन्। सातौं राष्ट्रिय खेलकुदका लागि निर्माण भएका संरचनाको संरक्षणमा सम्बन्धित निकायले ध्यान नदिएपछि निर्माण भएका पूर्वाधार जीर्ण बनेका हुन्। रंगशालामा अन्तर्राष्ट्रियस्तरका सुटिङ र सफ्ट टेनिस खेल खेलाउन सकिने पूर्वाधार निर्माण भए पनि ती पूर्वाधारको संरक्षण नहुँदा खिया लागेर जीर्ण बनेका छन्। कतियम संरचना भत्किसकेका छन्।  

सातौं राष्ट्रिय खेलकुदका लागि वैजनाथपुरस्थित रंगशालामा सफ्ट टेनिस र सुटिङका कुनै पनि खेल सञ्चालन भएका छैनन्। रंगशाला खेलाडीले खेल खेल्ने नभई गाई बस्तु चराउने र घाँस काट्ने स्थानका रुपमा परिणत भएको छ। रंगशाला परिषरमा कतै धान खेति गरिएको छ भने माछा मार्नेहरू माछा मार्न व्यस्त देखिन्छन्। रंगशालाको स्तरोन्नति र निर्माण भएका संरचनाको संरक्षणमा सम्बन्धित निकायले ध्यान नदिएको विराटनगरका खेलाडी पारस चौधरीले बताए  । ‘रंगशालाको संरक्षक नै नहुँदा कस्ले संरक्षण गर्ने भन्ने अन्यौल रहेको छ’ उनले भने।  

यता रंगशालाको संरक्षण र रेखदेख गर्दै आएको पूर्वाञ्चल खेलकुद विकास समितिले भने तीन तहको सरकार बनेपछि रंगशाला कसले हेर्ने भन्ने नै अन्यौल रहेको जनाएको छ। वैजनाथपुर रंगशाला प्रदेशको क्षेत्राधिकारभित्र परेको तर प्रदेशमा संरचना नै नभएका कारण संरक्षण गर्ने निकायको अभावमा रंगशालामा बनेका पूर्वाधार अलपत्र परेको पूर्वाञ्चल खेलकुद विकास परिषद्का कार्यालय प्रमुख चण्डिका बास्तोला बताउँछन्। उनले अहिले सम्म अधिकार क्षेत्र नै स्पष्ट नभइसकेकाले केन्द्र, प्रदेश र स्थानीयतहमध्ये कसको अधिकार क्षेत्रभित्र वैजनाथपुर रंगशाला पर्छ भन्ने निक्यौल भएपछि मात्रै रंगशालाको संरक्षण हुने स्पष्ट पारे।  

मुलुक संघीयतामा गएपछि अन्य क्षेत्र जस्तो खेलकुद क्षेत्रमा पनि अन्यौल कायमै छ। प्रदेश सरकारले खेलकुल सम्बन्धमा व्यवस्था गर्न ऐन निर्माण गरिसकेको छ। तर, ऐन कार्यान्वयनका लागि नियमावली र प्रदेशस्तरमा आवश्यक संरचना निर्माण गर्न ढिलाई गर्दा प्रदेशमा निर्माण भएका र निर्माणाधिन खेलकुदका पूर्वाधारको संरक्षमा समस्या भइरहेको छ।

प्रकाशित: ३१ भाद्र २०७७ १२:२७ बुधबार