खेल

आर्चर र ओक्सको प्रशंसा

अस्ट्रेलियासँगको दोस्रो एकदिवसीय खेलमा २४ रनको जित निकाल्दा उत्कृष्ट खेल प्रदर्शन गरेका जोफ्रा आर्चर र क्रिस ओक्सलाई इङ्ल्यान्डका कप्तान इयोन मोर्गानले आइतबार प्रशंसा गरेका छन्।  

यसअघि पहिलो खेलमा घरेलु टोली इङ्ल्यान्डमाथि भ्रमणकारी टोली अस्ट्रेलियाले १९ रनको जित निकाल्दा दोस्रो खेलमा इङ्ल्यान्ड दबाबमा परेको थियो। कोरोना महामारीपछि इङ्ल्यान्ड भ्रमण गरेको अस्ट्रेलियाले यसअघि नै सम्पन्न ट्वान्टी–२० शृंखला २–१ ले गुमाएको थियो। दोस्रो एकदिवसीय खेलमा इङ्ल्यान्डले जित निकाल्दा भने अस्ट्रेलियाविरुद्ध बलर हाबी भए। आइतबार इङ्ल्यान्डले जित निकालेपछि शृंखलामा १–१ को स्थिति भएको छ।  

खेलमा विश्व च्याम्पियन इङ्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गरेपछि अस्ट्रेलियालाई निर्धारित ५० ओभरको समाप्तिमा ९ विकेट गुमाएर २ सय ३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। म्यानचेस्टरमा जबाफी ब्याटिङ गरेको अस्ट्रेलियाले ४८.४ ओभरमा सबै विकेट गुमाएर मात्र  २ सय ७ रन बनाउन सक्यो।

अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले सर्वधिक ७३ तथा मार्नस लाबुसेनले ४८ रन बनाए। १ सय ५ बलको सामना गरेका फिन्चले ८ चौका र १ छक्का प्रहार गरेका थिए। यसअघि ओपनर डेभिड वार्नर ६ तथा मार्कुस स्टोइनिस ९ रन बनाएर जोफ्रा आर्चरबाट आउट भएपछि तेस्रो विकेटको लागि फिन्च र लाबुसेनले १ सय ७ रनको साझेदारी गरेका थिए। यस्तै क्यारीले ३६ रनको पारी  खेल्दा हेजलवुड ७ रनमा नटआउट रहे।  

अस्ट्रेलियालाई रोक्न इङ्ल्यान्डका लागि जोफ्रा आर्चर र क्रिस ओक्सले समान ३÷३ विकेट लिए। आदिल रसिदले १ विकेट आफ्नो नाममा लेखाए।  

यसअघि इङ्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३१ रन जोडेको थियो। कप्तान इयोन मोर्गानले सर्वाधिक ४२ रन जोडेका थिए। ५२ बल खेलेका मोर्गानले ५ चौका प्रहार गरेका थिए। यस्तै जो रुटले ३९ बनाउँदा ओपनर जेसन रोयले २१ रन बटुले। टम करनले ३७ रनको व्यक्तिगत स्कोर बनाउँदा बलिङमा एक विकेट हात पारेका आदिल रसिद अविजित ३५ रनको पारी खेले। जोफ्रा आर्चर ६ रनमा अविजित रहे। जस बटलरले ३ रन बनाउँदा अघिल्लो खेलमा शतक बनाएका साम बिलिङ्स ८ रनमा पवेलियन फर्किए। जोनी बेयस्र्टाेले खाता खोल्नै सकेनन्।  

बलिङतर्फ अस्ट्रेलियाका लेग स्पिनर एडम जाम्पाले ३ विकेट लिए। मिचेल स्टार्कले २ विकेट लिँदा हेजलउड, प्याट कमिन्स र मिचेल मार्सले समान १÷१ विकेट हात पारे।  

जित निकाल्दा उत्कृष्ट बलिङ गरेका खेलाडीद्वय जोफ्रा आर्चर र क्रिस ओक्सलाई कप्तान मोर्गानले नायकको संज्ञा दिए।  

‘जोफ्रा र ओक्सको भूमिका उत्कृष्ट रह्यो। जितको श्रेय उनीहरूलाई जान्छ,’ इङ्ल्यान्डका कप्तान मोर्गानले भने, ‘बलिङ राम्रो गर्नु खेलको पाटो हो। तैपनि आवश्यक समयमा विकेटको भूमिका निकै महत्वपूर्ण हुन्छ। महत्वपूर्ण अवस्थामा विकेट लिँदा जित सम्भव भएको हो।’

तीन एकदिवसीय खेलको शृखंलाअन्तर्गत अन्तिम तथा निर्णायक खेल बुधबार हुनेछ।  

प्रकाशित: ३० भाद्र २०७७ ००:५५ मंगलबार