खेल

ओसाकालाई तेस्रो ग्रान्ड स्लाम

पहिलो सेट गुमाए पनि जापानकी नाओमी ओसाकाले उत्कृष्ट पुनरागमन गरेपछि शनिबार युएस ओपनको उपाधिसहित करियरको तेस्रो ग्रान्ड स्लाम उचाल्न सफल भएकी छन्।

नवौं वरीयताकी ओसाकाले युएस ओपनको फाइनलमा बेलारुसकी गैरवरीयता प्राप्त खेलाडी भिक्टोरिया अजारिन्कालाई १–६, ६–३ र ६–३ ले हराउँदै फ्लसिङ मिडोजमा करियरको तेस्रो ग्रान्ड स्लाम उचालेकी हुन्। ‘खेलमा खासै रमाउन पाइनँ। मेरा लागि खेल निकै कठिन भयो,’ ओसाकाले भनिन्। आर्थर एस स्टेडियममा भएको फाइनलमा ओसाकाले एक घण्टा ५३ मिनेट समय खर्चदै उपाधिसँगै तीन मिलियन डलर नगद पुरस्कार पनि प्राप्त गरिन्। ३१ वर्षीया अजारिन्काले २६ मिनेटमा नै पहिलो सेट आफ्नो बनाउँदै युवा खेलाडी ओसाकामाथि पूर्ण रूपमा हाबी हुने संकेत गरेकी थिइन्।  

अनुभवी खेलाडी अजारिन्काले पहिलो सेटमा ८८ प्रतिशत पहिलो सर्भमा सफलता प्राप्त गरेकी थिइन्। ओसाकाले ३१ वटा अस्वाभाविक त्रुटि दोहो-याएपछि पहिलो सेटमा निकै सुस्त प्रदर्शन गरेकी थिइन्। दोस्रो सेटमा पनि अजारिन्काले २–० को अग्रता बनाउँदा ओसाकामाथि हाबी हुने संकेत गरेकी थिइन्। तर, ओसाकाले लगातार अजारिन्काको सर्भिस ब्रेक गर्दै ४–३ ले अग्रता उल्टाइन्। त्यसपछि ओसाकाले लय समातिन् र तेस्रो सेट पनि आफ्नो बनाउँदै खेल निर्णायक सेटतर्फ धकेलेकी थिइन्। सन् १९९४ पछि युएस ओपनको फाइनलमा पहिलो सेट गुमाएर पनि उपाधि जित्ने ओसाका पहिलो महिला टेनिस खेलाडी बन्न सफल भइन्। 

सन् १९९४ पछि युएस ओपनको फाइनलमा पहिलो सेट गुमाएर पनि उपाधि जित्ने ओसाका पहिलो महिला टेनिस खेलाडी बन्न सफल भइन्।  

उनी तीन ग्रान्ड स्लाम जित्ने पहिलो एसियाली खेलाडी पनि बनिन्। यसअघि चीनकी ली नाले दुई ग्रान्ड स्लाम जितेकी छन्। ‘पहिलो सेट छिटै गुमाएपछि एक घण्टाभित्र नै खेल हार्नु निकै लज्जापूर्ण अवस्था हुने महसुस भयो। त्यसपछि जति सक्दो मेरो उत्कृष्ट खेल दिने प्रयास गरें र आफ्नो खराब पक्ष पनि सुधार गरेको थिएँ,’ खेलमा पुनरागमनबारे ओसाकाले भनिन्। ओसाकाले प्रतिद्वन्द्वीमाथि सफलता हात पारेलगत्तै -याकेट टच गरेर खेलभावना प्रस्तुत गरिन्। त्यसपछि उनी कोर्टमा सुतिन् र खुला आकाशमाथि हेर्दै जितको खुसीयाली मनाइन्। बन्द रंगशालाबीच भएको फाइनल खेलमा करिब एक दर्जन मात्र प्रत्यक्षदर्शी थिए, जसमा अफिसियल, पत्रकार र इभेन्ट स्टाफको सहभागिता रहेको थियो।

कोर्टबाट बाहिरिने क्रममा ओसाकाले तमिर राइस नाम गरेको मास्क लगाएकी थिइन्।  सन् २०१४ मा १२ वर्षे अश्वेत बालक तमिरलाई ओहायोमा गोरो वर्णको पुलिसले गोली हानी हत्या गरेका थियो। ओसाकाले पहिलो राउन्डदेखि नै अमेरिकी प्रहरीको क्रुरता र जातीय विभेदमा मारिएका व्यक्तिलाई स्मरण गर्दै मास्क लगाएकी थिइन्। यता दुई ग्रान्ड स्लाम च्याम्पियन अजारिन्काले भने सन् २०१३ पछि पहिलो ग्रान्ड स्लाम फाइनलमा खेले पनि सफलता हात पार्न सकिनन्। त्यसपछि चोट र सन् २०१६ मा एक छोराको आमा बनेपछि उनी केही वर्ष टेनिसबाट टाढा रहेकी थिइन्। ‘मप्रति विश्वास र भरोसा गर्ने मेरो टिमलाई सर्वप्रथम धन्यवाद दिन चाहन्छु,’ अजारिन्काले भनिन्, ‘यो सफलता प्राप्त गर्न निकै संघर्ष र यात्रा गरिरहेको छु।’ 

प्रकाशित: २९ भाद्र २०७७ ०१:१८ सोमबार

नाओमी ओसाका युएस ओपन ग्रान्ड स्लाम