खेल

शनिबारबाट प्रिमियर लिग: युवालाई अवसर

शनिबारबाट प्रिमियर लिगको नयाँ सिजन सुरु हुँदै छ। यो प्रतियोगिता धेरै युवा खेलाडीका लागि आफ्नो क्षमता प्रमाणित गर्ने अवसर हुनेछ। प्रिमियर लिग सिजन २०२०–२१ मा सम्भावना बोकेका ५ युवा खेलाडी  

फिल फोडिन (म्यानचेस्टर सिटी)


तीन वर्षअघि इङ्ल्यान्डले यु १७ विश्वकपको उपाधि जित्दाका सबैभन्दा प्रभावशाली खेलाडी हुन् फिल फोडिन। प्ले मेकर डेविड सिल्भाको सिटीबाट बहिर्गमनपछि रिक्त रहेको स्थानमा फोडिनले आफूलाई प्रमाणित गर्न सक्छन्। प्रशिक्षक पेप ग्वार्डिओलाले गत सिजन एस्टन भिल्लाविरुद्धको खेलमा २० वर्षे फोडिनलाई पहिलो रोजाइमा मैदान उतार्दै उनीमाथि धेरै विश्वास गरेको संकेत गरिसकेका छन्। साथै च्याम्पियन्स लिग अन्तिम १६ मा रियाल मड्रिडविरुद्ध जित हात पारेको खेलमा पनि ग्वार्डिओलाले फोडिनलाई स्थान दिएका थिए।

‘मैले सिटीका लागि धेरै खेल खेलिसकें। अब मैले दबाबमा समेत खेल्न सक्नुपर्छ। यसले मेरो क्षमता थप निखार्नेछ,’ फोडिनले भने। यद्यपि पहिलो पटक इङ्ल्यान्डको राष्ट्रिय टोलीमा स्थान बनाए पनि टोलीको प्रोटोकलबाहिर गएको भन्दै मासोन ग्रिनउडसँगै फोडिन कारबाहीमा परेका थिए।

केल्भिन फिलिप्स (लिड्स)


व्यावसायिक खेलजीवन सुरु गरेका फिलिप्सले लिड्सलाई प्रिमियर लिगमा पुनरागमन गर्ने लामो समयदेखिको लक्ष्यलाई पूर्णता दिएका थिए। उनले इङ्ल्यान्ड राष्ट्रिय टोलीमा समेत पहिलो पटक स्थान बनाइसकेका छन्। सन् २०१८ मा मार्सेलो बेइल्साले लिड्सको प्रशिक्षण सम्हाल्दा फिलिप्स टोलीका औसत खेलाडी मात्र थिए। बेइल्साले फिलिप्स बक्स टु बक्स भूमिकामा भन्दा मिडफिल्डमा सुहाउँदो खेलाडी भएको बताए। बेइल्साले यही भूमिका दिएपछि उनले आफूलाई लिड्सका प्रभावशाली खेलाडीका रूपमा उभ्याइसकेका छन्। लिड्सका समर्थकले उनलाई इटालीका पूर्वखेलाडी तथा युभेन्ट्सका प्रशिक्षक आन्द्रे पिर्लोको संज्ञा दिन्छन्।

बुकायो साका (आर्सनल)


सन् २०१९–२० सिजनमा गरेको प्रभावशाली प्रदर्शनपछि १९ वर्षे बुकायो साका पिएफए वर्ष खेलाडीको मनोनयनमा पर्न सफल भएका थिए। साकाको लक्ष्य भनेको मिकेल अर्टेटाको टोलीको सिजनका प्रत्येक खेलमा टोलीमा स्थान बनाउने हो। दायाँ र बायाँ दुवै विंग्सबाट खेल्नुका साथै सेन्ट्रल मिडफिल्डरका रूपमा समेत खेल्ने क्षमता भएका साकाले हालै आर्सनलले कम्युनिटी सिल्डमा लिभरपुलविरुद्ध जित हात पार्दा प्रभावशाली प्रदर्शन गरेका थिए।

म्याथ्युज पिइरेरा (वेस्ट ब्रोम)


वेस्ट ब्रोमले गत सिजन च्याम्पियनसिपको उपविजेताको रूपमा प्रिमियर लिगमा बढुवा पाउँदा २४ वर्षे ब्राजिली खेलाडी म्याथ्युज पिइरेरा टोलीका स्टार खेलाडी थिए। च्याम्पियनसिपको आफ्नो पहिलो सिजनमा उनले ८ गोल गर्नुका साथै १६ गोलका लागि असिस्ट गरेका थिए। लोनमा स्पोर्टिङ लिस्बनबाट वेस्ट ब्रोम भित्रिए पनि अहिले भने टोलीले उनलाई १२ मिलियन युरोमा अनुबन्धन गरिसकेको छ।

‘उनले पहिलो सिजन नै उत्कृष्ट प्रदर्शन गर्दै सबैमा प्रभाव छोडेका छन्।उनी अब प्रिमियर लिगको पहिलो सिजन पनि यादगार बनाउन उत्साही छन्,’ वेस्ट ब्रोमका खेलकुद निर्देशक ल्युक डाउनलिङले भने।

कर्टिस जोन्स (लिभरपुल)


गत सिजन एफए कपको तेस्रो चरणमा एभर्टनविरुद्ध जोन्सले लङ रेन्ज सटमा गोल गर्दै आफ्नो क्षमता कस्तो हो भन्ने संकेत दिइसकेका छन्।१९ वर्षे मिडफिल्डर योर्गान क्लोपको रणनीतिका एक महŒवपूर्ण पात्र बन्न सक्छन्। त्यसपछि ८ खेल खेलिसकेका जोन्स गत महिना आर्सनलविरुद्ध कम्युनिटी सिल्डमा समेत वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए।

प्रकाशित: २६ भाद्र २०७७ ०१:३८ शुक्रबार

प्रिमियर लिग