खेल

व्यावसायिक क्रिकेटबाट बेलको संन्यास

इङ्ल्यान्डका पूर्वब्याट्सम्यान इयान बेलले यसै वर्षको अन्तिममा घरेलु प्रतियोगितापश्चात् व्यावसायिक खेलबाट संन्यास लिने घोषणा गरेका छन्।

शनिबार संन्यास घोषणा गरेका ३८ वर्षीय बेलले  इङ्ल्यान्डबाट खेल्दा पाँच पटक एसेस उपाधि जितेका छन्। बेलले २०१५ मा पछिल्लो पटक इङ्ल्यान्ड टोलीबाट खेलेका थिए। त्यसपछि राष्ट्रिय टोलीबाट ओझेलमा परेका उनी घरेलु प्रतियोगिता खेल्न वारविकसायरमा अनुबन्धित छन्। २०१९ मा बेलले चोटका कारण टोलीमा समावेश हुने मौका गुमाएका थिए।  

‘खेलमा जीवन बिताएका कुनै पनि खेलाडीलाई संन्यास लिने अवसर आउँछ। उपयुक्त समयमा निर्णय लिइन्छ। मेरा लागि यो उपयुक्त समय हो,’ पूर्वब्याट्सम्यान बेलले भने, ‘क्रिकेटको प्यास मैले मेटाएको छु। क्रिकेटमा मेरो खेलले सोचेजस्तो मूर्तता पाउन सकेन। क्रिकेटको आवश्यकता मेरो खेलभन्दा धेरै माथि छ।’

२००५ मा इङ्ल्यान्डले एसेस क्रिकेट खेल्दा बेलले अन्तिम पटक टोलीमा स्थान बनाएका थिए। उनी उनको पुस्तामा निकै स्टाइलिस खेलाडी थिए। उनले क्रिकेट करियरमा १ सय १८ टेस्ट खेल्दा कुल ७ हजार ७ सय २७ रन जोडेका छन्। जसमा २२ वटा सेन्चुरी सामेल छन्। त्यस्तै उनले १  सय ६१ एकदिवसीय र ८  ट्वान्टी–२० खेल खेलका छन्।  

‘इङ्ल्यान्ड र वारविकसायरमा अनुबन्धित हुन पाउनु मेरा लागि ठूलो स्थान हो। यस क्लबमा आबद्ध भएर क्रिकेटको प्यास मेटाएको छु,’ बेलले थपे, ‘बाल्यकालदेखि नै क्रिकेट खेल्ने सोख पूरा भएको छ। क्रिकेटबाट नै देशको पनि प्रतिनिधित्व गर्न पाएँ। क्रिकेटसँग जोडिएर २२ वर्षको अवधिमा धेरे पाठ सिकेँ। आउँदा दिनमा झन् जिम्मेवार भएर क्रिकेटमा लाग्नेछु।’

प्रकाशित: २२ भाद्र २०७७ ०२:२४ सोमबार

इयान बेल व्यावसायिक क्रिकेट संन्यास