खेल

इङ्ल्यान्डमाथि पाकिस्तानको रोमाञ्चक जित

इङ्ल्यान्डका कप्तान इयान मोर्गानलाई रनआउट गरेपछि खुसी साट्दै पाकिस्तानका सर्फराज अहमद र सादाब खान (दायाँ) ।तस्बिर: एपी

भेट्रान अलराउन्डर मोहम्मद हाफिज र डेब्यु गरेका हैदर अलीको उत्कृष्ट खेलमद्दतमा मंगलबार भ्रमणकारी टोली पाकिस्तानले इङ्लिस टोलीमाथि रोमाञ्चक ५ रनको जित निकाल्दा ट्वान्टी–२० शृंखला एक/एक बराबरीमा सकिएको छ ।  

तीन खेलको शृंखलामा पहिलो खेल वर्षाका कारण स्थगित भएको थियो । दोस्रो खेलमा घरेलु टोली इङ्ल्यान्डले पाँच विकेटको जित निकालेको थियो । ट्राफोर्डमा भएको खेलमा हाफिजले अविजित ८६ रनको पारी खेल्दा हैदरले ५४ रनको योगदान गरेका थिए । हाफिजले ५२ बल सामना गर्दा ४ चौका र ६ छक्का प्रहार गरेका थिए । उता हैदरले भने ५ चौका र २ छक्काको मद्दतमा ५४ रन जोडेका थिए । ६६ दिन लामो इङ्ल्यान्ड बसाइमा पाकिस्तानले पहिलो जित निकालेको छ ।  

अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरको समाप्तिमा ४ विकेट गुमाएर १ सय ९० को योगफल तयार पारेको थियो । २० वर्ष उमेर अन्तर भएका खेलाडीद्वय हाफिज र हैदरबीचको साझेदारीले पाकिस्तानले घरेलु टोलीसामु उक्त लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो । ३२ रन जोड्दा २ विकेट गएको अवस्थाबाट इनिङ सम्हालेका उनीहरूले पाकिस्तानको स्कोरलाई उकासेका थिए ।  

ओपनर फखर जमान १ रन तथा कप्तान बाबर आजम २१ रन बनाएर आउट भएपछि हैदर र हाफिजबीच तेस्रो विकेटका रूपमा १ सय रनको साझेदारी भएको थियो । हैदरको विकेटपछि हाफिजले सदाब खानसँग चौथो विकेटका लागि ४५ रनको साझेदारी गरे । कप्तान बाबर आजमले १८ बलको सामना गर्दै २१ रन जोडेका थिए । हैदरले ५४ रनको योगदान गर्दै मैदान बाहिरिँदा हाफिजलाई सादाब खानले साथ दिए । खान पनि १५ जोड्दै पवेलियन फर्किएका थिए । इमाद वासिमले अविजित ६ रन जोड्दै हाफिजलाई साथ दिँदा ओभर समाप्त भएको थियो ।  

१ सय ९१ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन जोड्न सक्यो । मोइन अलीले सर्वाधिक ६१ रन जोडेका थिए ।

बलिङतर्फ इङ्ल्यान्डका लागि क्रिस जोर्डनले २ विकेट हात पार्दा मोइन अली र टम करनले एक÷एक विकेट आफ्नो नाममा लेखाए ।  

१ सय ९१ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन जोड्न सक्यो । मोइन अलीले सर्वाधिक ६१ रन जोडेका थिए । ओपनर जोनी बेयरस्टो शून्यमा पवेलियन फर्किंदा अर्का ओपनर टम बेन्टोनले ४६ रनको योगदान दिए । ६९ रन जोड्दा ४ विकेट गुमाइसकेको इङ्ल्यान्डका लागि दविड मलानले मात्र ७ रन जोडेका थिए । कठिन अवस्थामा पुगेको घरेलु टोलीलाई साम वेलिङ्सले धैर्यतापूर्वक इनिङ सम्हाल्ने प्रयास गरे पनि २६ रन जोड्दै पवेलियन फर्किंदा इङ्ल्यान्ड झन् संकटमा परेको थियो । बाँकी ब्याट्सम्यान पाकिस्तानका बलरसामु खुलेर खेल्न सकेनन् र इङ्ल्यान्ड १ सय ८५ रनमा समेटियो । अन्तिम ट्वान्टी–२० खेलमा इङ्ल्यान्डमाथि जित निकाल्न पाकिस्तानका लागि शाहिन अफ्रिदी र बहाव रियाजले समान २÷२ विकेट लिए । यस्तै इमाद वसिम र हरिस रौफाले एक÷एक विकेट आफ्नो नाममा लेखाए ।  

खेलमा पाकिस्तानका हाफिज प्लेयर अफ दि सिरिज घोषित भए । पाकिस्तानको इनिङ उकास्न उकास्न सहयोग गरेका १९ वर्षे हैदरको ३९ वर्षे हाफिजले प्रशंसा गरे । ‘दबाबमा परे पनि हैदरले परिपक्व खेल देखाए । उनको अनुहारमा दबाबको झल्को भए पनि परिपक्व खेल रह्यो,’ सर्वाधिक रन जोडेका हाफिजले भने, ‘सबै साथ दिन सम्भव पनि छैन । यही कुरा मैले उनलाई पनि भनेको छु । उनी उदीयमान खेलाडी हुन् । उनको भविष्यमा राम्रो छ ।’

यस्तै पाकिस्तानका कप्तान बाबर आजमले पनि युवा खेलाडी हैदरको खेललाई प्रशंसाका शब्द खर्चिए । पाकिस्तानी टोली स्वदेश फर्किने भए पनि बाबर इङ्ल्यान्डमा नै रहनेछन् । उनी त्यहाँको खेलमा सम्मिलित हुनेछन् । 

प्रकाशित: १८ भाद्र २०७७ ०१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App