खेल

पेड्रो रोमामा

स्पेनिस फरवार्ड पेड्रो रोड्रिग्वेजले इटालियन सिरी ‘ए’ क्लब रोमासँग तीन वर्षे सम्झौता गरेका छन् । चेल्सीबाट रोमामा आबद्ध भएका पेड्रोलाई मंगलबार अनुबन्धित गरिएको रोमाले जानकारी दिएको छ ।  

३३ वर्षीय विश्वकप विजेता पेड्रो यो सिजन इटालियन क्लबमा आबद्ध हुने पहिलो खेलाडीसमेत बनेका छन् । पेड्रोको सम्झौता २०२३ को जुनसम्म तीन वर्षका लागि हुने क्लबले जनाएको छ ।  

‘इटालियन क्लब रोमामा आबद्ध हुन पाउँदा खुसी लागेको छ,’ स्पेनिस फरवार्ड पेड्रोले भने, ‘आउँदो सिजनमा रोमालाई सफल क्लबको रूपमा स्थापित गर्न आफ्नो भूमिका अहम् हुनेमा म विश्वस्त छु ।’

स्पेनिस क्लब बार्सिलोना तथा प्रिमियर लिग क्लब चेल्सीका पूर्वखेलाडी पेड्रोले २५ मुख्य प्रतियोगितामा उपाधि जितेका छन् । पेड्रोले च्याम्पियन्स लिग, युरोपा लिग, प्रिमियर लिग र ला लिगा उपाधि जितेका हुन् । स्पेनिस टिमबाट ६५ खेल खेलेका पेड्रोले राष्ट्रिय टोलीबाट १७ गोल गरेका छन् भने उनी सम्मिलित स्पेनले २०१० को विश्वकपको उपाधि उचालेको थियो । यस्तै स्पेनले २०१२ को युरोपियन च्याम्पियनसिप जित्दा उनी टोली सदस्य थिए । ‘पेड्रोजस्ता खेलाडी भित्र्याउन पाउँदा निकै खुसी लागेको छ,’ इटालियन क्लब रोमाका प्रमुख कार्यकारी अधिकृत गुइडो फेइन्गाले भने ।  

रोमामा आबद्ध भएका पेड्रोले पछिल्लो पाँच वर्ष प्रिमियर लिग क्लब चेल्सीमा बिताएका थिए । उनी क्लबमा हुँदा चेल्सीले प्रिमियर लिग, एफए कप र युरोपा लिगको उपाधि जितेको थियो । बार्सिलोनाबाट सिनियर फुटबल करियर सुरुआत गरेका पेड्रोले च्याम्पियन्स लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।  

पछिल्लो सिजन इटालियन सिरी ‘ए’ क्लब रोमाले पाँचांै स्थानमा रहँदै लिगको समापन गरेको थियो । सेप्टेम्बर १९ देखि इटालियन सिरी ‘ए’ को नयाँ सिजन सुरु हुने तालिका छ ।

प्रकाशित: ११ भाद्र २०७७ ०३:०५ बिहीबार

पेड्रो रोड्रिग्वेज इटालियन सिरी ‘ए’ क्लब रोमा