खेल

एसियन च्याम्पियनसिपको क्वार्टरफाइनलबाट भिएआर

पछिल्लो समय फुटबलमा प्रयोग भएको नयाँ प्रविधि भिडियो सहायक रेफ्री (भिएआर) अर्को महिना हुने एसियन च्याम्पियनसिपबाट एसियन प्रतियोगितामा प्रयोगमा आउने एसियाली फुटबल महासंघ (एएफसी) ले जनाएको छ।  

संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण ६ महिना धकेलिएको प्रतियोगितामा भिएआर प्रयोगमा ल्याउने जनाइएको हो। पहिलो पटक रसिया विश्वकप २०१८ मा आएको यो प्रविधि त्यसपछि प्रिमियर लिगमा प्रयोगमा ल्याइएको थियो। यो प्रविधि आए पनि निर्णयमा ढिला हुने भन्दै धेरैले आलोचना गरेका थिए। तर पछिल्लो समय यो प्रविधि रेफ्रीका लागि निकै उपयोगी मानिएको छ।

पहिलो पटक २०१९ को एसियन कप फुटबलमा भिएआर प्रविधि क्वार्टरफाइनल खेलबाट प्रवेश गराइएको थियो। एसियाली प्रतियोगितामा प्रवेश गराउन लागिएको यो प्रविधि एसियन च्याम्पियनसिपको खेलअन्तर्गत क्वार्टरफाइनलबाट प्रयोगमा ल्याउने एएफसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

३२ टोलीले सहभागिता जनाउने च्याम्पियनसिपअन्तर्गत सेम्टेम्बर २० बाट पश्चिमी क्षेत्रका क्वार्टरफाइनल खेल हुनेछन् भने पूर्वी क्षेत्रका खेल २५ नेभेम्बरबाट हुने जनाइएको छ। यस्तै फाइनल खेल भने ५ डिसेम्बरमा हुने तालिका छ। यी सबै खेल मार्च महिनाअगाडि आयोजना सम्पन्न गर्ने तयारी रहे पनि कोरोनाका कारण स्थगित भएका थिए।

प्रकाशित: ९ भाद्र २०७७ ०१:०२ मंगलबार

भिएआर फुटबल