खेल

सहज जितबाट बायर्न फाइनलमा

च्याम्पियन्स लिग

लियोनविरुद्ध गोल गरेपछि बार्यन म्युनिखका सर्जी जिनाब्री(बिच) तस्बिर: एएफपी

च्याम्पियन्स लिग सेमिफाइनलमा लियोनमाथि ३–० को सहज जितका साथ सिजनको तेहेरो उपाधि संघारमा पुगेसँगै बायर्न म्युनिखका प्रशिक्षक हांस फ्लिकले अझै सुधारिएको प्रदर्शन गर्न जरुरी रहेको बताएका छन्।  

बायर्नले आइतबार हुने फाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) को सामना गर्नेछ। पिएसजी मंगलबार आरबी लिपजिगमाथि ३–० को जितका साथ पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको थियो।  

लियोनका कप्तान मेम्फिर डेपेको प्रहार पोस्टनजिकैबाट बाहिरिएको थियो भने कार्ल इकाम्बीको प्रहार पोस्टमा लागेर फर्किएसँगै बायर्नको संकट टरेको थियो। पहिलो हाफमा सर्जी गिनाब्रीले गरेको दुई गोलमा बायर्न फाइनलनजिक पुगेको थियो। अन्तिम २ मिनेट बाँकी हुँदा रोबर्टो लेबान्डोवस्कीले हेडरमार्फत गोल गर्दै  पिएसजीसँगको उपाधि भिडन्त पक्का गरेका थिए। लेवान्डोवस्कीको यो १५औं च्याम्पियन्स लिग गोल हो।  

‘लियोनले कडा चुनौती दियो र हामीलाई सम्हालिन धेरै संघर्ष गर्नुप-यो। हामीलाई थाहा छ, पिएसजीसँग आक्रामक खेलाडी छन् र हामीले त्यसलाई निस्तेज पार्न योजनाबद्ध रक्षापंक्ति बनाउनु आवश्यक छ,’ फ्लिकले भने, ‘पिएसजी राम्रो टोली हो। उनीहरू उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेका हुन्। उनीहरूसँग आक्रामक खेलाडी छन् तर विपक्षीलाई दबाबमा राख्नु नै हाम्रो टोलीको बलियो पक्ष हो।’

बायर्नले अहिलेसम्म ५ पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ भने ५ पटक फाइनल खेल गुमाएको छ। बायर्नले पछिल्लो १० वर्षमा मात्र दुई पटक फाइनल खेल गुमाइसकेको छ।

बायर्नले यस सिजन बुन्डेसलिगा र जर्मन कप गरी दुई उपाधि जितिसकेको छ। त्यसैले टोली च्याम्पियन्स लिग विजेता बन्दै सिजनको तेहेरो उपाधि उचाल्न चाहन्छ। बायर्नले यसअघि सन् २०१३ मा तेहेरो उपाधि जितेको थियो।

‘पिएसजीमा नेइमार, किलियन एम्बाम्पे र एन्जेल डी मारियाजस्ता ठूला खेलाडी छन्,’ बायर्नका गोलकिपर म्यानुअल नुअरले भने, ‘उत्कृष्ट दुई टोली फाइनल प्रवेश गरेका छन्, समर्थकका लागि पनि लामो समयपछि यो उत्कृष्ट खेल हुनेछ। हामी फाइनलका लागि खुसी छांै।’

१८औं मिनेटमा गिनाब्रीले गरेको गोलमा बायर्नले अग्रता लिएको थियो। ३३औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको अग्रता दोब्बर पारेका थिए। खेल सकिन २ मिनेट बाँकी हुँदा लेबान्डोवस्कीले बललाई जाली चुमाउँदै बायर्नको फाइनल यात्रा पक्का गरे।

बायर्नले अहिलेसम्म ५ पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ भने ५ पटक फाइनल खेल गुमाएको छ। बायर्नले पछिल्लो १० वर्षमा मात्र दुई पटक फाइनल खेल गुमाइसकेको छ।

यता प्री क्वार्टरफाइनलमा युभेन्ट्सलाई अवे गोल तथा क्वार्टरफाइनलमा म्यानचेस्टर सिटीलाई ३–१ ले हराउँदै अन्तिम चार पुगेको लियोनको यस पटक पनि च्याम्पियन्स लिग यात्रा सेमिफाइनलमै अन्त्य भएको छ। यस सिजन लिग वानमा समेत गतिलो प्रदर्शन गर्न नसकेको लियोन आगामी सिजन कुनै पनि युरोपेली प्रतियोगितामा नदेखिने समेत स्पष्ट छ।

लियोनका प्रशिक्षक रुडी गार्सियाले पाएको सुनौलो अवसरलाई सदुपयोग गर्न नसक्दा खेल गुमाउनुपरेको प्रतिक्रिया दिए।

‘हामी फाइनल प्रवेश गर्न चाहन्थ्याैं, हामी त्यसमा आशावादी पनि थियौं। हामीले राम्रो प्रदर्शन गरे पनि पाएको अवसर सदुपयोग गर्न सकेनौं,’ गार्सियाले भने, ‘१–० को अग्रता लिएको भए खेलले अर्कै रूप लिन्थ्यो।’

प्रकाशित: ५ भाद्र २०७७ ०४:१६ शुक्रबार

बायर्न म्युनिख च्याम्पियन्स लिग