खेल

बोर्ड सदस्यको शपथ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्डका नवनियुक्त ६ सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।  

त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री तथा परिषद्का अध्यक्ष जगतबहादुर विश्वकर्मा सुनुवारले ६ सदस्यलाई शपथ खुवाएका हुन्। शपथ लिनेमा रिम रानाभाट, इन्दिरा निरौला, गोविन्द भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ छन्। युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्डलाई पूर्णता दिने हेतुले ६ सदस्यलाई नियुक्त गरेको थियो। नयाँ ऐनमा व्यवस्था भएअनुसार खेल विज्ञ, खेल प्रशिक्षक, प्राविधिक वा एन्टी डोपिङमध्येबाट रिम रानाभाट र इन्दिरा निरौला मनोनयन परेका थिए। रानाभाट र निरौला ऐन जारी भएपछि गठित सदस्यसचिव सिफारिस समितिमा विज्ञका रूपमा थिए। मन्त्री विश्वकर्माले दुवैलाई विज्ञको रूपमा समेत बोर्ड सदस्यमा मनोनयन गरेका हुन्। त्यस्तै अर्जुनबहादुर केसी, सम्पन्न श्रेष्ठ र सुभास श्रेष्ठलाई राष्ट्रिय खेल संघको सिफारिसबाट मनोनयन गरिएको थियो भने परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्वका रूपमा गोविन्दप्रसाद भट्टराई मनोनयमा परेका थिए। शपथ कार्यक्रम पछि युवा तथा खेलकुदमन्त्री विश्वकर्माले नवनियुक्त सदस्यहरूलाई जिम्मेवारीपूर्वक कार्यभार पूरा गर्न शुभकामना दिँदै छिट्टै बोर्ड सदस्यले पूर्णता पाउने बताए।  

‘नयाँ ऐन लागू भइसकेको छ। खेलक्षेत्रमा भएका अवरोधलाई नयाँ ऐनले सम्बोधन गरेको छ। यही मर्मअनुसार खेलकुद क्षेत्र अगाडि बढ्नेमा विश्वस्त छु,’ मन्त्री विश्वकर्माले भने, ‘छिट्टै बोर्ड सदस्यले पूर्णता पाउँछ। त्यसका लागि गृहकार्य भइरहेको छ।’  

नयाँ ऐन राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार बोर्ड सदस्यमा कुल संख्या ३७ हुने प्रावधान राखिएको छ। यसअघि मन्त्रिपरिषद्को निर्णयबाट राखेपको उपाध्यक्षमा शिव कोइराला र सदस्यसचिवमा रमेशकुमार सिलवाल नियुक्त भइसकेका छन्।

प्रकाशित: २ भाद्र २०७७ ०३:११ मंगलबार

राष्ट्रिय खेलकुद परिषद् बोर्ड सदस्य शपथ