खेल

आफ्नो भूमिकामा न्याय दिने चन्द

२०६२ सालमा क्षेत्रीय खेल बैतडीमा हुँदा विनोद चन्द ७ कक्षामा पढ्दै थिए। बैतडीका खेतका पाटामा भलिबल खेल्दै हुर्किएका चन्दले क्षेत्रीय स्तरमा भएको भलिबललाई खुब रुचिका साथ नियाल्दा उनमा भलिबल खेलाडी बन्ने हुटहुटी जागेको थियो। त्यहींबाट भलिबललाई लक्ष्य बनाएका विनोदले अहिले राष्ट्रिय टोलीमा लिबेरोको परिचय बनाइसकेका छन्। सामान्य उचाइ र छरितो शरीरको चालबाट उनको लिबेरो पोजिसन निकै मेल खाएको अवश्य हो।  

‘गाउँस्तरमा भलिबलका खेल हुँदा मेरो रुचि औधी थियो। भलिबल प्रतियोगिताका खेल हाम्रो क्षेत्रनजिक हुँदा म सधैं पुग्ने गर्थें, नियाल्थँे र नयाँ स्किल पनि सिक्थें,’ बाल्यकाल सम्झँदै विनोदले भने, ‘मेरो रुचि भलिबमा रहँदा मलाई धेरैले हाइट कम छ, कसरी भलिबल खेल्छस् भन्दै जिस्क्याउँथे। तर हाइट कम भए पनि मिहिनेतलाई निरन्तरता दिइरहेँ।’  

सामान्य परिवारमा हुर्किएका विनोद पछि २०६९ साल सशस्त्र प्रहरीमा भर्ती भए। भलिबलको रुचि अत्यधिक भएका कारण आन्तरिक प्रतियोगितामा उनले स्थान पाए। २०७२ सालमा उनी एपिएफ क्लबमा आबद्ध भए। इटहरीमा सातौं राष्ट्रिय खेलकुद हुँदा विभागीय टोली एपिएफबाट खेलेका उनको टोलीले रजत पदक हात पा¥यो। जसमा उनको  प्रदर्शन निकै तारिफयोग्य थियो।  

‘विभागीय क्लबमा आबद्ध हुनासाथ मैले लिबेरो पोजिसन पाउन थालें,’ तीन पटक राष्ट्रिय टोलीको अनुभव बटुलेका चन्दले थपे, ‘सामान्य उचाइ र छरितो ज्यानले गर्दा क्लबले मलाई लिबेरोको जिम्मा दियो, निरन्तर खेल्दै गएपछि राष्ट्रिय टोलीमा पनि स्थान बनाउने मौका पाएँ।’

विनोदले नेपालमा सम्पन्न बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए। खेलजीवन सुचारु गर्दा कुनै पनि खेलाडीको राष्ट्रिय टोलीमा रहँदै देशको प्रतिनिधित्व गर्ने लक्ष्य हुन्छ। सोही लक्ष्य बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा पूरा भएको चन्दले बताए।  

‘राष्ट्रिय जर्सीबाट कोर्टमा उत्रिँदा मेरो सपना पूरा भयो र खुुसीको सीमा नै रहेन,’ २६ वर्षीय विनोदले भने, ‘अहिले पहिलोभन्दा भलिबलको क्रेज बढ्दो छ। पहिलेभन्दा प्रतियोगितामा पनि धेरै हुन थालेका छन्। नयाँनयाँ खेलाडीको उदय भएको छ। अबको दिनमा राष्ट्रिय टोलीमा पर्न जोकोहीले निकै मिहिनेत गर्नुपर्छ।’

‘भलिबल टिमवर्क हो। लिबेरो खेलको सबैभन्दा चलायमान पोजिसन हो। सागमा नेपालले विगतका कमजोरीलाई सुधार गर्न सकेन। तर लिबेरो विनोदको खेल राम्रो थियो।’

कुनै पनि खेलमा टिमको प्रदर्शनबाट मात्र नतिजा हात लाग्छ।  एक खेलाडीको उत्कृष्ट खेलबाट टिमको जित असम्भवजस्तै छ। नेपालले दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलले उत्कृष्ट खेल देखाउँदै प्रशंसा बटुल्दा पुरुष भलिबलले भने सोचेजस्तो नतिजा हात पार्न सकेन। यद्यपि टोलीका लिबेरो विनोद भने प्रशंसाका पात्र  रहे।  

‘घरेलु कोर्टमा हामीले सोचेजस्तो प्रदर्शन गर्न नसक्दा निकै दुखी भयौं। पाएका अवसरलाई मैले शतप्रतिशत दिएँ, तैपनि केही कमी कमजोरी रहे,’ राष्ट्रबाट प्रनिधित्व गर्दा बोझ बढी हुने तर्क राख्ने लिबेरो विनोदले भने।  

प्रतियोगिता खेल्दा आफ्नो टोलीले अंक बटुल्दा विनोदको खुसीयाली मनाउने क्षणले उपस्थित दर्शकलाई हौसाउने गर्छ। उक्त स्वभावले विनोदको भलिबलमा थप परिचय चुलिएको छ। निरन्तर भलिबल हेर्ने दर्शकले उनलाई रुचाउने गर्छन्। एक समय दक्षिण एसियामा बलियो मानिने पुरुष भलिबलको स्तर पछिल्लो समय खस्किएको अवश्य हो। महिला भलिबलले सुधारको पारो चढाएको छ। पुरुष भलिबलले स्तरमा छलाङ मार्न नसक्नुमा अरू दक्षिण एसियाली मुलुकले आफ्नो खेललाई सुधार गर्दा नेपाली भलिबल जहाँको तहीं रहनु हो। विगतमा जस्तै नेपाली टिमका रिसिभ र ब्लक राम्रो नहुँदा टोलीले नतिजा निकाल्न असफल रह्यो तर लिबेरोलाई भने सबैले प्रशंसा गरे।  टोलीका सहायक प्रशिक्षक जगदीश भट्टले पनि विनोदको प्रदर्शनलाई तारिफका शब्द खर्चिए।  

‘भलिबल टिमवर्क हो। लिबेरो खेलको सबैभन्दा चलायमान पोजिसन हो। सागमा नेपालले विगतका कमजोरीलाई सुधार गर्न सकेन। तर लिबेरो विनोदको खेल राम्रो थियो,’ महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले भने, ‘सामान्य परिवारबाट हुर्किएका विनोदमा भलिबलको निकै चाहना थियो। अवसर पाउँदा उनले भलिबलको पोजिसनमा दिएको जिम्मेवारीलाई राम्रोसँग निर्वाह गरेका हुन्। टोलीको जितहार भने आफ्नो ठाउँमा छ।’

यस्तै नेपाली पुरुष भलिबलका कप्तान इमबहादुर राना मगरले लिबेरो पोजिसनलाई विनोदले १३औं दक्षिण एसियाली खेलकुद (साग) न्याय गरेको प्रतिक्रिया दिए।  

‘विनोद पसिना बगाउँदै टोलीमा उत्कृष्ट हुन रुचाउने खेलाडी हो। खेलाडीमा हुनुपर्ने गुणले भरिपूर्ण छ,’ राष्ट्रिय टोलीका कप्तान इमले भने, ‘ऊ टिममा पर्न मिहिनेतमा विश्वास गर्छ। आफूभन्दा अन्य खेलाडी राम्रा छन् भने पनि प्रतिस्पर्धाबाट उत्कृष्ट तरिकाले अगाडि बढ्नुपर्छ भन्ने उसको मान्यता  छ।’

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९)ले बंगलादेशमा तय भएको छैटौं एभिसी सेन्ट्रल जोन पुरुष भलिबल स्थगित भएको छ। स्थिति सामान्य अवस्थामा हुनासाथ प्रतियोगिता हुन सक्ने भएकाले कप्तान इमले अन्य खेलाडीलाई शारीरिक रूपमा तन्दुरुस्त रहन सर्कुलेसन गरेको समेत बताए।

प्रकाशित: २६ श्रावण २०७७ ०१:२८ सोमबार

भलिबल