खेल

अभिषेकलाई भिजनको साथ

राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाललाई भिजन कन्सर्न प्रालिले प्रायोजन गरेको छ।  

बुधबार एक कार्यक्रमबीच भिजन कन्सर्नले युवा खेलाडी अभिषेकलाई एक वर्षका लागि सम्झौता गरेको हो। लाजिम्पाट र बौद्धमा रहेको भिजन कन्सर्नले नेत्र परीक्षण र चस्मा बिक्री वितरण गर्दै आइरहेको छ। सम्झौतापत्रमा अभिषेक र भिजन कन्सर्नका सञ्चालक कृष्ण पोखरेलले हस्ताक्षर गरे। सम्झौताअनुसार भिजन कन्सर्नले एक वर्षका लागि अभिषेकको नेत्र (आँखा) परीक्षण गर्नेछ। यस्तै आवश्यकताअनुसार नेत्रका साधन उपलब्ध गराउनेछ। रकम भने खुलाइएको छैन।  

लिग च्याम्पियन मच्छिन्द्र क्लबमा आबद्ध अभिषेकले भिजन कन्सर्नसँग जोडिँदा निकै खुसी रहेको र आफूलाई यसले झनै प्रोत्साहन गर्ने बताए। ‘चस्मा सम्बन्धित कम्पनीसँग जोडिन पाउँदा निकै खुसी छु। यसले आगामी दिनमा झनै प्रोत्साहन गर्नेछ,’ एन्फा एकेडेमीबाट उत्पादित अभिषेकले भने। सम्झौतालगत्तै भिजन कन्सर्नले अभिषेकको पूर्ण नेत्र चेकजाँच गरेको थियो। अभिषेकले गत वर्ष मलेसिया भ्रमणमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए। दोस्रो खेलमै चाइनिज ताइपेविरुद्ध गोल गर्दै रिजालले राष्ट्रिय टिममा आफूलाई स्थापित गरेका छन्।  

अभिषेक एसियाली फुटबल महासंघ (एएफसी)ले आयोजना गर्ने क्लबस्तरीय एएफसी कपमा गोल गर्ने पहिलो नेपाली खेलाडीसमेत हुन्। उनले कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङ मस्र्याङ्दीबाट भारतको मिनर्वा पन्जाब (हाल पन्जाब एफसी) विरुद्ध गोल गरेका थिए। भिजन कन्सर्नका सञ्चालक कृष्ण पोखरेलले राष्ट्रिय खेलाडी अभिषेकसँग जोडिन पाउँदा आफूहरू निकै गर्वान्वित भएको र दुवैको सहकार्यमा आगामी दिनमा अगाडि बढ्ने बताए।

प्रकाशित: १६ श्रावण २०७७ ०१:४७ शुक्रबार

प्रायोजन राष्ट्रिय फुटबल टिमका सदस्य