खेल

सन्दीपलाई मिल्यो चार्टर जहाज

‘स्वाभाविक रिदम गुमाएको छैन’

सन्दीप लामिछाने र रमन शिवाकोटी। तस्बिरः सुमन चापागाई/नागरिक

नेपालका लेग स्पिनर सन्दीप लामिछाने बिहीबार क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न चार्टर फ्लाइटमार्फत ट्रिनिडाड एन्ड टोबागो जाँदै छन्। कोरोना भाइरस महामारीका कारण चैत ११ बाट लागू भएको लकडाउनपछि बन्द आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अझै खुलिसकेको छैन। त्यसैले सन्दीपले पछिल्ला केही दिन सन्दीप सिपिएलमा सहभागी हुन जाने वा नजाने भन्नेमा दुबिधा बढे पनि बुधबार मात्र उनी त्यसर्फ जाने पक्कापक्की भएको थियो। यस क्रममा समर्थकको  दिएको शुभेक्षाप्रति सन्दीपले धन्यवाद दिए।

‘मेरो माया उहाँहरूसँग छ। उहाँहरूको माया मसँग छ, यसमा कुनै दुबिधा छैन,’ विगतमा समर्थकसँग टाढिएको आरोपको खण्डन गर्दै सन्दीपले भने, ‘यहाँ सधंै आलोचना हुन्छ र यो हाम्रो नियन्त्रणमा पनि छैन। त्यसैल म त्यसप्रति ध्यान पनि दिन्नँ। तपाईंसँग ८० हजार छ र तपाईंले केही रकम मात्र फजुल खर्चनुहोला। सबै रकम त्यसै त खेर फाल्नु हुँदैन नि। हो त्यस्तै एक वर्षमा ८० हजारभन्दा बढी सेकेन्ड हुन्छ। होला केही सेकेन्डहरु मेरो आलोचनामा बिते होलान्। ती केही सेकेन्डबाहेक मसँग बाँकी त राम्रो समय छ नि। म र मेरा समर्थकबीच सधैं राम्रो सम्बन्ध रहँदै आएको छ।’

‘सायद यही मायाले नै होला मैले विभिन्न देशमा फ्रेन्चाइज लिग खेल्दा रातिराति खेल हेर्दै साथ र हौसला दिनुहुन्छ,’ सन्दीपले थपे, ‘म मेरा समर्थकको माया शब्दमा पनि वर्णन गर्न सक्दिनँ।’

व्यवस्थापक रमन शिवकोटीले सन्दीप बिहीबार कोरियन एयरको चार्टर विमानबाट बेलुका कोरिया पुग्ने र त्यहाँ ६–७ घण्टाको ट्रान्जिटपछि त्यहींबाट डेल्टा एयर हुँदै अमेरिका र त्यहाँबाट अगस्ट १ मा २ बजे सेन्ट लुसिया पुग्ने र त्यहाँबाट वेस्ट इन्डिज क्रिकेट बोर्डले सबै खेलाडीलाई एक साथ चार्टर विमानमार्फत ट्रिनिडाड एन्ड टेबागो लाने बताए। त्यहाँ पुगेपछि सबै खेलाडीलाई १४ दिन अनिवार्य रूपमा क्वारेन्टिनमा राखिने पनि व्यवस्थापक शिवाकोटीले बताए।

सन्दीपले मंगलबार स्टार हस्पिटलमा पिसिआर परीक्षण गरेका थिए र बुधबार त्यसको रिपोर्ट नेगेटिभ आइसकेको छ। उनी लगातार तेस्रो सिजन सिपिएलमा सहभागी हुन लागेका हुन्।

‘कठिन परिस्थितिका बावजुद सन्दीपको सिपिएल यात्रा पक्का गर्न सहयोग गर्नुहुने नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका साथै सबै शुभेक्षुकमा धन्यवाद दिन चाहन्छु,’ शिवाकोटीले भने।

सन्दीपले मंगलबार स्टार हस्पिटलमा पिसिआर परीक्षण गरेका थिए र बुधबार त्यसको रिपोर्ट नेगेटिभ आइसकेको छ। उनी लगातार तेस्रो सिजन सिपिएलमा सहभागी हुन लागेका हुन्। उनले सन् २०१८ मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्स र गत वर्ष बार्बाडोस ट्रिडेन्ट्सबाट खेलिसकेका छन्। यस सिजन भने सन्दीपलाई जमैका तल्लावाजले ९० हजार अमेरिकी डलरमा अनुबन्धित गरेको हो।

‘कोरोना भाइरसपछिको लकडाउनले सायद सबै क्रिकेट खेलाडी र व्यवस्थापकलाई केही समय मानसिक रूपमा आराम गर्न समय दियो, नेपालमा मात्र नभई सारा विश्वमा,’ सन्दीपले भने, ‘म पुनः मैदान फर्कन पाउँदा निकै उत्साही छु। म मात्र नभई सबै जना उत्साही हुनुहुन्छ होला, किनभने लामो समयको अन्तरपछि क्रिकेट पुनरागमन हुँदै छ।’

‘लामो समय मैदानबाहिर रहे पनि मैले स्वाभाविक रिदम गुमाएको छैन,’ सन्दीपले थपे, ‘आशा छ मैले अझ उत्कृष्ट प्रदर्शन गर्नेछु। मैले घरमै केही समय फिटनेसको सामान्य अभ्यास गरें। लकडाउन केही खुकुलो भएपछि भने म अन्य केही खेलाडीसँग अभ्यासमा फर्किएको थिएँ। पछिल्लो केही दिनयता भने म क्लबसँग निरन्तर सम्पर्कमा रहनुपर्ने र उपलब्ध हुनुपर्ने भएकाले मैदानमा अभ्यासका लागि आइनँ। जे कुरा हुन्छ त्यो राम्रैका लागि हुन्छ भनेर कुनै पनि दिन मेरो सिपिएल यात्रा के हुन्छ भनेर दबाबमा बसिनँ। यसका लागि म रमन (व्यवस्थापक) दाइलाई विशेष धन्यवाद दिन चाहान्छु साथै पर्यटन मन्त्रालय र खेलकुद मन्त्रालयका साथै मेरा समर्थकप्रति पनि आभारी छु।’

सन्दीपले विगतमा जस्तै यस वर्ष पनि सिपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए। गत संस्करणमा सन्दीपले राष्ट्रिय टोलीमा फर्कनुपरेकाले बिचै लिग छोड्नु परेको थियो। गत सिजन उनको टोली बार्बाडोस ट्राइडेन्टले सिपिएलको उपाधि जितेको थियो। सन्दीपले गत सिजन ६ खेलमा ८ विकेट लिएका थिए।

‘मैले लकडाउनको समयमा मानसिक रूपमा पनि आरामको समय पाएँ,’ सन्दीपले भने, ‘मैले यसबीचमा ४–५ वटा लिग पनि खेलें। साथै फेसबुकमा आफ्ना समर्थकसँग कुराकानी गर्ने अवसर पनि  पाएँ। मैले रिफ्रेस हुने समय पाएँ।’

सिपिएलपछि सन्दीप ट्रिटिडाड एन्ड टोबागोबाटै इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न भारत जानेछन्। पछिल्लो दुई वर्षदेखि सन्दीपले दिल्ली क्यापिटल्सबाट खेल्दैै आएका छन्। यस सिजनको आइपिएल सेप्टेम्बर १९ देखि युएईमा हुँदै छ। सन्दीपले आफू स्वाभाविक लयमा रहे पनि सिपिएलले आफुलाई थप लयमा फर्कन सहयोग पु¥याउने बताए।

सिपिएल अगस्ट १८ बाट सुरु हुँदै छ। जमैकाले आफ्नो पहिलो खेल अगस्ट १९ मा सेन्ट लुसियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

सन्दीपले बुधबारकै पत्रकार सम्मेलनमा त्रिवि मैदानमा कार्यरत १५ कर्मचारीलाई एक लाख रुपैयाँ नगद सहयोग गर्ने घोषणा गरेका छन्।

प्रकाशित: १५ श्रावण २०७७ ०२:०७ बिहीबार

सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग चार्टर जहाज