खेल

अभ्यास अनुमति: राखेप आफैं अन्योलमा

फाइल तस्बिर।

सरकारले लकडाउन खोलेको घोषणा गरेसँगै नेपाली खेलकुद पुनः चलायमान हुने अनुमान गरिए पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) भने कसरी अगाडि बढ्ने भन्नेमा आफैं अन्योलमा देखिएको छ।  

मन्त्रिपरिषद्को गत साता बसेको बैठकले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न र प्रारम्भिक प्रशिक्षण सुरु गर्न दिने निर्णय गरेको थियो। तर राखेप भने कुनै पनि संघलाई लिखित रूपमा अभ्यासका लागि अनुमति दिने स्थितिमा छैन।  

लकडाउन खुकुलो भएसँगै जेठको अन्तिम साताबाट ब्याडमिन्टन र करातेलगायत केही संघहरूले सामाजिक दूरी र स्वास्थ्य निर्देशिकाको पालना गर्दै अभ्यास सुरु गरेका थिए।  

‘नयाँ खेलकुद ऐनसँगै तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाल पदमुक्त भएपछि अहिले कुनै पनि काम अघि बढेको छैन। केही संघहरूले स्वास्थ्य निर्देशिकाको पालना गर्दै खेलाडीहरूलाई अभ्यास गराइरहेको हामीले पनि समाजिक सन्जालमा देखेका छौं,’ राष्ट्रिय टिम तयारी समितिका निर्देशक महेन्द्रकुमार राईले भने, ‘तर हामीले अहिलेसम्म कुनै पनि संघलाई अभ्यासका लागि अनुमति  दिएका छैनांै। अखिल नेपाल फुटबल संघले पनि अभ्यासका लागि अनुमति मागेको थियो। जुन कुरा केही दिनअघि मन्त्रिपरिषद् बैठकमा पनि उठेको थियो। जसअनुरूप भदौ १ बाट स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै प्रशिक्षण सुरु हुने निर्णय भयो। तर यस विषयमा खेलकुद मन्त्रालयले राखेपसँग कुनै छलफल नै गरेन। हामीलाई अहिले छैटाैं एसियाली बिच खेलकुदका लागि आमन्त्रण आएको छ र तत्कालीन सदस्यसचिव सिलवाल र राष्ट्रिय टिम तयारी समितिबीच प्रशिक्षण केकसरी अघि बढाउने भन्ने भएको थियो, थाहा छैन। नयाँ खेलकुद ऐन लागू भएसँगै उहाँहरू जानुभयो, त्यसपछि त्यो छलफल पनि अघि बढेको छैन।’

सरकारले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न र प्रारम्भिक प्रशिक्षण सुरु गर्न दिने निर्णय गरे पनि त्यसको मापदण्ड भने नतोकेकाले आफूहरू थप अन्योलमा परेको राईको भनाइ छ।  

‘जस्तो कि भारतको सिक्किम, दार्जलिङमा कुनै प्रतियोगिता भएमा त्यसका लागि अनुमति दिने वा नदिने भन्नेमा राष्ट्रिय टिम तयारी समिति नै अन्योलमा छ,’ राईले थपे, ‘सबै अभ्यास भदौ १ बाट सुरु हुने भनिएको छ। अहिले पनि कोरोना भाइरस संक्रमणको डर हटेको छैन। अझै धेरै समय बाँकी छ, त्यो बेलासम्म अवस्था कस्तो हुन्छ अहिले नै भन्न सकिँदैन। अन्योलका बीच हामीले टोकियो ओलम्पिक २०२१  वाइल्ड कार्ड इन्ट्रीको दौडमा रहेका १२ खेलाडीको अभ्यास र यसै वर्षको नोेभम्बरमा आयोजना हुने छैटांै एसियाली बिच खेदकुद लक्षित अभ्यास अघि बढाउने अन्तरिक तयारी गरिरहेका छांै। यद्यपि नयाँ सदस्यसचिव नआएसम्म हामी कुनै पनि योजना अघि बढाउने पक्षमा छैनौं।’

यता अखिल नेपाल फुटबल संघ(एन्फा)ले पनि विश्वकप छनोटका लागि तयारी अघि बढाइरहेको छ।  

‘हामीले ३५ खेलाडीलाई साउन १७ सम्म एन्फाको सम्पर्कमा आउन आग्रह गरेका छौं,’ एन्फा प्रवक्ता किरण राईले भने, ‘सबै खेलाडीलाई साउन २७ सम्म एउटै होटलमा राखिनेछ। २७ गतेपछि ३५ जनै खेलाडीको पिसिआर परीक्षण गरिनेछ। खेलाडीहरूको पिसिआर टेस्टको नतिजा आएपछि सबै खेलाडीलाई भदौ १ सम्म एन्फा मुख्यालयमा रहेको होस्टलमा सारिनेछ र सोही दिनबाट अभ्यास सुरु गरिनेछ। मुख्य प्रशिक्षक योहान कालिन यहाँ छैनन्। अन्तर्राष्ट्रिय उडान सुचारु भएको केही दिनमै उनी नेपाल आइपुग्नेछन्। कालिन नआइपुग्दासम्म सहायक प्रशिक्षक किरण श्रेष्ठले टोलीको प्रशिक्षण सम्हाल्नेछन्।  

नेपालले चैतमा चाइनिज ताइपेई र अस्ट्रेलिया तथा जेठमा जोर्डनविरुद्ध घरेलु मैदानमा विश्वकप छनोटअन्तर्गतको होम म्याच खेल्ने तालिका भए पनि विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउन लागू भएसँगै खेलहरू रोकिएका थिए। जुन खेल अब नेपालले असोज २२ मा चाइनिज ताइपेई र असोज २७ गते अस्ट्रेलियाविरुद्ध खेल्नेछ।  

छनोट चरणमा हालसम्म नेपालले पाँच खेलमा १ जित हात पारेको छ भने ४ खेल गुमाइसकेको छ।  

प्रकाशित: १२ श्रावण २०७७ ०१:५३ सोमबार

खेल_अभ्यास राष्ट्रिय खेलकुद परिषद्