खेल

अन्तिम दिन रोमाञ्चक प्रतिस्पर्धा

इङ्लिस प्रिमियर लिग

इङ्लिस प्रिमियर लिगको यस सिजन आइतबार सकिँदै गर्दा हरेक खेल रोमाञ्चक बन्दै छन्। म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीले आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने आशास्वरूप एकअर्काविरुद्ध चुनौती प्रस्तुत गर्दा चेल्सीले पनि शीर्ष चारमा अटाउने लक्ष्यसहित सिजनको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै छ।

वुल्भ्स र टोटेनह्यामले पनि अर्को युरोपियन प्रतिस्पर्धा युरोपा लिगको यात्रा जोगाउन सिजनको अन्तिम खेलमा संघर्ष गर्दै छन्। अंकतालिकाको पुछारका टोली एस्टन भिल्ला र वाटफोर्डले रेलिगेसनबाट बच्नका लागि अन्तिम खेलमा संघर्ष गर्नेछन्। एस्टन भिल्ला एक गोल अन्तरका आधारमा रेलिगेसन क्षेत्रको वाटफोर्डभन्दा एक स्थान माथि छ। पुछारबाट दोस्रो स्थानको बर्नमाउथलाई पनि अन्तिम खेलबाट रेलिगेसन जोगाउन अवसर छ।

च्याम्पियन्स लिग योजना

गत सेप्टेम्बरको मध्यदेखि १३ खेलमध्ये तीन मात्र जित निकालेपछि लेस्टरको शीर्ष चार यात्रा कठिन बन्न पुग्यो। कोरोना भाइरस महामारीपछि फर्किएको सिजनमा पनि लेस्टरले राम्रो प्रदर्शन गर्न सकेन। यद्यपि, गत बुधबार म्यानचेस्टर युनाइटेड र चेल्सीले जित निकाल्न नसक्दा ब्रेन्डन रोजरको टोली लेस्टरको शीर्ष चारको यात्रा कायमै छ। घरेलु मैदान किंग्स पावर स्टेडियममा आइतबार जित निकाल्न सके लेस्टर शीर्ष चारमा पुग्नेछ। यद्यपि, जेम्स म्याडिसन, बेन चिलवाल र रिकार्डो पेरेरा चोटमा रहेकाले लेस्टरका लागि चिन्ताको विषय पनि छ।  

ओले गनर सोल्सजायरको टोली युनाइटेडले गत हप्ता एफए कप सेमिफाइनलमा चेल्सीसँग ३–१ ले पराजित भएलगत्तै प्रिमियर लिगमा वेस्ट ह्यामसँग १–१ को बराबरीका कारण अंक बाँडेको थियो। सिजन फर्किएपछि लेस्टरसँग आठ अंकले पछि रहेको अवस्थामा सुधार गर्दै युनाइटेडले शीर्ष चारको दाबेदारी बलियो बनाउन सफल भयो। तथापि रोजरको टोली लेस्टर युनाइटेडविरुद्ध जित निकाल्दै पछिल्ला खराब प्रदर्शनको परिपूर्ति गर्ने अवसर जोगाउन चाहन्छ। ‘हामी युनाइटेडविरुद्ध जित निकाल्न सफल हुन्छौं, तर युनाइटेड या अन्य उत्कृष्ट क्लब च्याम्पियन्स लिगमा हुनुपर्छ,’ लेस्टरका प्रशिक्षक रोजरले भने।

चेल्सीलाई पनि च्याम्पियन्स लिगमा स्थान बनाउन घरेलु मैदानमा वुल्भ्सविरुद्धको एक अंक मात्र आवश्यक छ। तर फ्रान्क लाम्पार्डको टोलीले हार बेहोर्दा लेस्टरले युनाइटेडसँग बराबरी खेले पनि चेल्सी शीर्ष चारबाट बाहिरिनेछ। त्यस किसिमका नतिजा आएमा गोलअन्तरको आधारमा चेल्सीलाई पछि पार्दै लेस्टर शीर्ष चारभित्र अटाउनेछ। लेस्टर पराजित भएको खण्डमा हारका बावजुद पनि चेल्सीले च्याम्पियन्स लिगमा स्थान बनाउनेछ।  

टोटेनह्यामको युरोपा लक्ष्य

युनाइटेड, चेल्सी र लेस्टरमध्ये एक टोली पाँचौं स्थानमा खुम्चिँदा आगामी सिजनको युरोपा लिग खेल्नेछ। वुल्भ्सले पनि सानदार सिजन अगाडि बढाइरहँदा शीर्ष ६ को लक्ष्य राखेको छ र घरेलु टोली चेल्सीको च्याम्पियन्स लिग लक्ष्यमा बाधक बन्न सक्ने क्षमता राख्दछ। तर पराजित भए नुनो इस्प्रिटो सान्टोको टोली वुल्भ्सले टोटेनह्यामलाई शीर्ष ६ मा पुग्ने अवसर दिनेछ। जोजे माउरिन्होको टोली टोटेनह्यामले पछिल्ला तीन खेलमा जित निकालेपछि युरोपा लिगको सम्भावना कायमै राखेको हो। सातौं स्थानमा रहने टोलीले पनि युरोपा लिग खेल्न पाउने सम्भावना रहन्छ, तर त्यसका लागि चेल्सीले आगामी अगस्टमा एफए कप फाइनलमा आर्सनललाई पराजित गर्नुपर्नेछ।  

रेलिगेसनबाट बच्न संघर्ष

नर्विच सिटी आगामी सिजनका लागि च्याम्पियनसिप क्लबमा झर्दा बाँकी दुई टोली इङ्लिस फुटबलको शीर्ष लिगबाट घटुवा हुनेछन्। बर्नमाउथ, वाटफोर्ड र भिल्लामध्ये दुई टोली सिजनका अन्तिम खेलपश्चात् रेलिगेसनमा पर्नेछन्। समान ३४ अंकका बावजुद भिल्ला रेलिगेसनभन्दा एक स्थान माथि छ, त्यसैले बर्नमाउथभन्दा तीन अंकले र वाटफोर्डभन्दा एक गोलअन्तरले माथि रहेकाले भिल्लालाई केही फाइदा छ। गत मंगलबार आर्सनलमाथि १–० को जित निकालेपछि एस्टन भिल्लालाई प्रिमियर लिगको अस्तित्व जोगाउन अन्तिम अवसर मिलेको हो।    

सिजन फर्किएपछि लेस्टरसँग आठ अंकले पछि रहेको अवस्थामा सुधार गर्दै युनाइटेडले शीर्ष चारको दाबेदारी बलियो बनाउन सफल भयो। तथापि रोजरको टोली लेस्टर युनाइटेडविरुद्ध जित निकाल्दै पछिल्ला खराब प्रदर्शनको परिपूर्ति गर्ने अवसर जोगाउन चाहन्छ।     

 

प्रकाशित: ११ श्रावण २०७७ ०४:४४ आइतबार

इङ्लिस प्रिमियर लिग