नेपाली कांग्रेस विराटनगर महानगर समितिले बिपीको स्मृति दिवस मनाउने क्रममा खेलाडीहरूलाई सम्मान गरेको छ । बिपी कोइरालाको ३९ औं स्मृति दिवसका अवसरमा शुक्रबार विराटनगरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता सातजना खेलाडीलाई सम्मान गरिएको छ ।
सम्मानका क्रममा १३ औं साग खेलकुदमा ब्याडमिन्टनतर्फ महिला टोलीमा कास्य पदक जितेकी नीता लम्साल, थ्रीस्टार क्लब पाटनमा आवद्ध अशोक खवास, भारतमा आयोजित विभिन्न प्रतियोगितामा स्वर्ण पदकधारी उसु खेलकी एरिजा मारिक, टेबलटेनिसका बोधित डिसी, तेक्वान्दोका नेत्रबहादुर कार्की, करातेबाट सुरज कामत, गोपालमान सिंहलाई ट्रयाक सुट र प्रशंसापत्रले सम्मान गरियो ।
सम्मान ग्रहण गर्दै ब्याडमिन्टनकी नीता लम्सालले भनिन्, ‘खेलाडीलाई सबैले माया गरेर सम्मान गर्दा खुसी लाग्छ । राष्ट्रका लागि खेल्ने हामी खेलाडीले पदक जित्नु ठूलो गर्व लाग्ने कुरा हो र यस्तो सम्मान कार्यक्रमले खेलाडीलाई खेल्न थप उत्साह थप्छ ।’
कार्यक्रममा महानगर समितिका उपसभापति अरुण अर्यालले आर्थिक रूपमा खेलबाट व्यावसायिकता झल्काउन बाँकी रहेको भए पनि खेलाडीले स्वास्थ्यस्थितिमा सधैं जित हात पार्ने बताए । सो अवसरमा बोल्दै क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख चण्डी बाँस्तोलाले खेलकुदको राजनीति गर्नेको अभाव देखिएको छ । लामो समयदेखि १९ नम्बर वडामा रहेको बैजनाथपुरको १५ विघा क्षेत्रफललाई पूर्ण रूपमा सदुपयोग गर्न नसकिएको बताए । खेलकुदको विकासका लागि सो क्षेत्रको विकास, निर्माण गर्नमा सबैले जोड दिनुपर्ने बताए । खेलकुदमा प्रगति गर्दै अघि बढेको इटहरीमा एकैपटक १४ खेल आयोजना गर्ने क्षमता बनिसक्दा विराटनगर अझै पनि विकासकै लागि तयार हुने क्रममा रहेको उनले बताए ।
कार्यक्रममा महानगरका प्रमुख भीम पराजुली, एन्फाका पूर्व मानार्थ उपाध्यक्ष सन्तोष बानियाँ, पूर्वअन्तर्राष्ट्रिय रेफ्री किरण गिरी, विराट गोल्डकप ट्रष्टका महासचिव मनोज बस्नेत, जिल्ला खेलकुद विकास समिति मोरङका कार्यालय प्रमुख देवराज कट्वाललगायतले शुभकामना दिएका थिए ।
प्रकाशित: ९ श्रावण २०७७ १२:२२ शुक्रबार