खेल

जोकोभिचको समर्थनमा थियम

डोमिनिक थियम

विश्व नम्बर ३ डोमिनिक थियमले जुनमा नोभाक जोकोभिचले आयोजना गरेको टेनिस प्रतियोगिताका बारेमा भएको आलोचनालाई अन्यायको संज्ञा दिएका छन्।  

प्रतियोगिताको समापनपछि नै विश्व नम्बर एक जोकोभिचमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। कोरोना भाइरसका कारण विश्वभर खेलकुद गतिविधिमा रोक लगाइएको र सामाजिक दूरीको निर्देशिका दिइएको अवस्थामा जोकोभिचले प्रतियोगिता आयोजना गरेसँगै त्यसले लाखाैंको ध्यान खिचेको थियो। प्रतियोगितादौरान खेलाडीहरूले एकअर्कासँग हात मिलाउनुका साथै अंकमाल, नाचगान र बास्केटबलसमेत खेलेका थिए।  

चर्को आलोचनापछि जोकोभिचले बाल्कनमा भएको प्रतियोगिता आयोजना गर्नु गल्ती भएको भन्दै माफी मागेका थिए।

निक क्रगोसले पनि जोकोभिचसहित प्रतियोगितामा सहभागी भएका थियमको समेत आलोचना गरेका थिए।

यद्यपि थियम आफैंले पनि ४ वटा सहरमा जुन १३ देखि जुलाई ५ सम्म आयोजना भएको प्रतियोगिताको खेलतालिका भने गलत भएको स्वीकार गरेका छन्।  

थियमले प्रतियोगिता आयोजना गरेर जोकोभिचले सकारात्मक सन्देश प्रवाह गर्न खोजेको बताए।

‘यो अन्याय हो किनभने उनले कुनै कानुनको उल्लंघन गरेका छैनन् र हामीलाइै प्रतियोगिता खेल्न कुनै करसमेत गरेका छैनन्,’ थियमले भने, ‘खेलाडीहरू आफैं सहभागी भएका हुन्, कसैले जबरजस्ती गरेको छैन। त्यो सबै खेलाडीको आफ्नै निर्णय थियो। प्रतियोगिता राम्रो उद्देश्यका साथ आयोजना गरिएको थियो।’

प्रतियोगितामा थियमका साथै विश्व नम्बर ७ एलेक्जेन्डर जेभरेभ, बुल्गेरियाका जिगोर दिमित्रोभलगायतको सहभागिता थियो।

जुन २१ मा दिमित्रोभमा कोरोना भाइरस पोजेटिभ देखिएसँगै आयोजकले प्रतियोगिता नै रद्द गरेका थिए। साथै जोकोभिच र उनकी श्रीमती जेलिनका साथै अन्य केही खेलाडीमा समेत कोरोना भाइरस पुष्टि भएको थियो।

‘पक्कै पनि सबैले गल्ती गरेका छन् तर त्यो धेरै पहिलेको कुरा हो। अहिले सबै स्वास्थ्य भएर घर फर्किसकेका छन्। जुन राम्रो संकेत हो,’ थियमले भने, ‘सबैले गल्तीबाटै पाठ सिक्ने हो। सबैलाई पछुतो छ तर अहिले सबै ठीक भइसकेको छ। यो विषयमा थप आलोचना वा चर्चा आवश्यक छैन।’

थियमले अहिले आफ्नो ध्यान अगस्टमा आयोजना हुने युएस ओपनमा भएको बताएका छन्। युएस ओपन अगस्टमा बन्द कोर्टमा हुनेछ।

प्रकाशित: ९ श्रावण २०७७ ०२:४७ शुक्रबार

टेनिस प्रतियोगिता