खेल

बन्दैछ नेपालगन्जमा क्रिकेट मैदान

‘क्रिकेट रंगशाला गौरवको योजना’

नेपालगन्ज अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर । तस्बिरः नागरिक

आगामी दुई वर्षमा क्रिकेट खेल्ने मैदान तयारी गर्ने लक्ष्यसहित नेपालगन्ज अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य अगाडी बढ्दैछ । क्रिकेट रंगशाला निर्माणलाई नेपालगन्जले गौरवको आयोजनाको रुपमा लिइएको छ । रंगशाला निर्माणका लागि जनप्रतिनिधिले मिहिनेत गरिरहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले सुरुआतमा पर्खालको जग र माटो पटानलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको छ । सुरुआती चरणमा क्रिकेट मैदान निर्माणका लागि २ करोड ५० लाख रकम खर्च हुदैछ । प्रदेश सरकारको सहयोगमा १ करोड रुपैयाँमा माटो पटान र उपमहानगरपालिकाले पर्खाल निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

घरेलु क्रिकेटमा नेपालगन्जलाई महिला क्रिकेटको उद्गम थलोका रुपमा मानिन्छ । तर मैदान अभावले यहाँको क्रिकेटको स्तर पछिल्लो समय खस्कदो अवस्थामा छ । खेल्ने र प्रतियोगिता गर्ने मैदान नहुँदा रंगशाला नजिकै रहेको मंगलप्रसाद उच्च माविको मैदानमा निर्भर छ, नेपालगन्जको क्रिकेट ।

उपमहानगरपालिकाले क्रिकेट रंगशाला निर्माणलाई गौरवको योजनाको रुपमा अगाडी सारेपछि भने नेपालगन्जका क्रिकेटप्रेमी खुसी भएका छन् । क्रिकेट मैदान निर्माण कार्य सुरु हुनु भनेको नेपालगन्जवासीका लागि सफलताको विषय भएको बताउँछिन् पूर्व टेनिस खेलाडी तथा नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा मगर । मगरले भनिन्, ‘क्रिकेट मैदान नेपालगन्जको प्रमुख आवश्यकता हो । तर रंगशाला निर्माणका लागि नगरभित्र उपयुक्त जमिन थिएन । रंगशाला निर्माणको कुरामा वर्षौदेखि सहमति जुट्न नसकेको जमिनमा स्थानीय सहमत हुनु भयो । यो सहमति नगरलाई एक कदम समृद्ध बनाउने प्रयास हो । यसले नेपालगन्जको पहिचानलाई बढाउनेछ ।’

नेपालगन्ज उपमहानगरपालिकाले निर्माण गर्न लागेको रंगशालाको डिपिआर तयार भएर माटो पटान र पर्खाल निर्माणको काम केहि साताभित्र सुरु हुने नगरपालिकाले बताएको छ । नेपालगन्ज उपमहानगरपालिले वडा नम्बर–६ मा रहेको करिब १२ विगाहा जमिन मध्ये पाँच विगाहा जमिनमा रंगशाला निमार्ण हुनेछ । नगरपालिकाले आगामी दुई वर्षमा क्रिकेट खेल्ने मैदान तयार गर्ने लक्ष्य लिएको छ । जति सक्दो छिटो क्रिकेट खेल्ने मिल्ने मैदान बनाउने प्रयास भैरहेको बताउँछिन् उपमेयर मगर । उनले थपिन्, ‘पर्खाल निर्माणका लागि मात्र हामीलाई करिब ४ करोड बजेट आवश्यक देखिन्छ । बजेट अभाव भएका कारण हामीले सुरुआतमा पर्खालको जग बनाउने र मैदानमा माटो पटानलाई प्राथमिकता दिएका छौं । अन्तरराष्ट्रिय स्तर क्रिकेट मैदान निर्माण गर्न भएकोले हामीलाई केहि वर्ष लाग्छ । तर सुरुआतमा क्रिकेट खेल्नका लागि मैदान तयार गर्नेमा हामी केन्द्रित छौं ।’  

नेपालगन्जको फुल्टेक्रास्थित करिब १२ विगाहा जमिन मुस्लिम समुदायको लागि कर्वला, केहि जमिन हिन्दु धर्मावलम्वीहरुले प्रयोग गर्दै आएका थिए । रंगशाला निर्माणका लागि पटक–पटक प्रयास गरिएपनि स्थानीय बासिन्दाबिच सहमति नहुँदा रंगशाला निर्माण गर्ने कार्य सुरु हुन सकेको थिएन । जग्गा सम्बन्धी विवाद मिलाउन नेपालगन्ज उपमहानगरपालिकाले वडा नम्बर २ अध्यक्ष एवं जग्गा छनोट समिति संयोजक सुनिल सिह हमालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो । जसले रंगशाला निर्माणमा सहमति जुटाउने काम गरेको थियो ।

नेपालगन्जमा क्रिकेट रंगशाला निर्माण कार्यलाई क्रिकेट संघले महत्वका साथ लिएको छ । प्रदेश ५ क्रिकेट संघ अध्यक्ष दुर्गा थापा नगरपालिकाले सुरुआत गरेको योजनालाई स्थानीय र अन्तरराष्ट्रिय सहयोग जुटाउन संघले प्रयास गर्ने बताउँछन् ।

बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहेका थापाले भने, ‘क्रिकेट मैदान प्रयोग क्रिकेट संघ र खेलाडीले गर्ने हो । नगरपालिकासँग हाम्रो एउटा सम्झौता भएपछि संघले क्रिकेट रंगशाला निर्माणका लागि एसियाली क्रिकेट र अन्तरराष्ट्रिय क्रिकेट एशोसियसनसँग सहयोगका लागि प्रस्ताव गर्नेछ । नेपालगन्जको क्रिकेटका बारेमा हामीले धेरैलाई चिनाउनु पर्दैन । बाँके जिल्ला क्रिकेट संघले महिला क्रिकेटको विकासमा उत्कृष्ट काम गरेको भन्दै पुरस्कार पनि पाएको छ । हामीलाई विश्वास छ क्रिकेट मैदान निर्माणमा विभिन्न निकायले सहयोग गर्नेछन् ।’

प्रकाशित: ८ श्रावण २०७७ ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App