खेल

साग स्वर्ण विजेतालाई सम्मान गरिने

गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक विजेता नेपाली खेलाडीलाई नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले नगदसहित सम्मान गर्ने भएको छ।

विभागको केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको बैठकले नेपालका लागि पदक जित्ने खेलाडीलाई सम्मान गर्ने जनाएको छ। विभाग प्रमुख मोहनबहादुर बस्नेतले सम्मान गर्नेबारे जानकारी गराएका हुन्। तत्कालका लागि एकल स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई मात्र सम्मान गर्ने र बाँकी पदक विजेता, प्रशिक्षक र व्यवस्थापकलाई पनि क्रमैसँग सम्मान गर्ने प्रमुख बस्नेतले जानकारी दिए। ‘सुरुआतमा हामीले एकल स्पर्धाका स्वर्णधारीलाई सम्मान गर्नेछौं। उहाँहरुलाई १० दिनभित्रै सम्मान गर्छौं र अन्यको हकमा भने छलफल गरेर निर्णय लिन्छौं’ विभागका प्रमुख बस्नेतले भने, ‘एक स्वर्णलाई १० हजार, दुईलाई १५ हजार र चार स्वर्णलाई २५ हजार नगदसहित सम्मान गर्ने तयारी भइरहेको छ।’

त्यस्तै टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी र प्रशिक्षकको पनि कोरोना बिमा गर्ने भएको छ। साथै विभागले टोकियो ओलम्पिकलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको प्रशिक्षणमा उच्च सतर्कताका अपनाउन सरकारसँग अनुरोध गर्ने, नेपाली कांग्रेसका सभापतिको नाममा वर्षेनी राष्ट्रियस्तरीय सभापति कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने र १३ देखि २४ वर्षसम्म सेवा अवधि पूरा गरेका राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कर्मचारीको बढुवा प्रक्रिया अगाडि बढाउन माग गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: ७ श्रावण २०७७ ०३:४५ बुधबार

१३औं दक्षिण एसियाली खेलकुद नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग