खेल

उल्भ्सको युरोपा लिग सम्भावना जीवितै

क्रिस्टल प्यालेसमाथि २–० को जित निकालेको उल्भ्स युरोपा लिग खेल्ने स्थान नजिकै उक्लिँदा इङ्लिस प्रिमियर लिगकै अर्को खेलमा एभर्टनले सेफिल्ड युनाइटेडलाई उसैको मैदानमा १–० हराएको छ।  

लिगअन्र्तगत अर्को खेलमा ब्राइटनले न्युक्यासल युनाइटेडसँग गोलरहित बराबरी खेल्दै प्रिमियर लिगकै अस्तित्व सुरक्षित गरेको छ। सोमबार क्रिस्टल प्यालेसमाथि सहज जित निकालेको उल्भ्स पछिल्ला तीन खेलमा सतप्रतिशत नतिजा आत्मसात गर्न सफल भयो। सुरुआतबाटै आक्रामक देखिए पनि उल्भ्सले ४१औं मिनेटमा मात्र अग्रता लिन सफल भएको थियो। ड्यानियल पोडेन्सले गोल गर्दै घरेलु टोली उल्भ्सलाई पहिलो हाफमा अग्रता दिलाएका थिए। ६८औं मिनेटमा जोनीले गोल थप्दै उल्भ्सको अग्रता दोब्बर बनाए। त्यसपछि केही रक्षात्मक देखिएको उल्भ्सविरुद्ध क्रिस्टल प्यालेसले खेलमा फर्किन निकै संघर्ष ग-यो।  

तर, पाएका राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा प्यालेस अंक सुम्पिन बाध्य भयो।  नुनो स्प्रिन्टो सान्टोको टोली उल्भ्स सोमबारको जितपछि अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ। टोटेनह्यामभन्दा एक अंकले मात्र अगाडि रहेको उल्भ्सले आगामी सिजनको युरोपा लिग सम्भावनालाई बलियो बनाएको छ। आगामी आइतबार चेल्सीविरुद्धको खेलमा उल्भ्सले सुखद नतिजा निकाले तथा टोटेनह्यामले प्यालेसविरुद्ध खेल गुमाए उल्भ्सले युरोपा लिगमा स्थान पक्का गर्नेछ। एक खेल कम खेलको म्यानचेस्टर युनाइटेड ५९ अंकका साथ अंकतालिकाको पाँचौं स्थानमा रहँदा ५८ अंक भएको उल्भ्स छैटौं स्थानमा अटाएको हो।  

आगामी आइतबार चेल्सीविरुद्धको खेलमा उल्भ्सले सुखद नतिजा निकाले तथा टोटेनह्यामले क्रिस्टल प्यालेसविरुद्ध खेल गुमाए उल्भ्सले युरोपा लिगमा स्थान पक्का गर्नेछ।

‘रणनीति र खेलाडीको स्तर बढेसँगै पछिल्ला खेलमा हामीले सोचेजस्तो नतिजा निकाल्न सफल भएका छौं। आज हामीले अघिल्लो सिजनभन्दा दुई अंक बढी लिन सफल भयौं। यद्यपि, अझै एक खेल बाँकी छ,’ उल्भ्सका प्रशिक्षक नुनोले भने, ‘आइतबार हुने खेल हाम्रा लागि निकै कठिन हुनेछ। कडा चुनौति दिनेमा म विश्वस्त छु।’ सोमबारकै अर्को खेलमा भ्रमणकारी टोली एभर्टनलाई नतिजा सुम्पिएको सेफिल्डले लगातार दोस्रो खेलमा अंक गुमाएको छ। सेफिल्डले यस अघि लेस्टर सिटीलाई २–० ले नतिजा सुम्पिएको थियो र एभर्टनसँगको पराजयसँगै सेफिल्डको युरोपा लिग खेल्ने सम्भावना सकिएको छ।

एभर्टनले संघर्षपूर्ण जित निकाल्दा दोस्रो हाफको पहिलो मिनेटमा ब्राजिलियन स्ट्राइकर रिचार्लिसनले गोल गरेसँगै जारी सिजनमा १५औं गोल पूरा गरेका छन्। आठौं स्थानको सेफिल्ड उल्भ्सभन्दा पाँच अंकले र टोटेनह्यामभन्दा चार अंकले पछाडि छ। टोटेनह्याममाथि सन् २००९÷१० पछि पहिलोपटक कुनै पनि युरोपियन प्रतियोगितामा सहभागिता जनाउन नपाउने खतरामा बढेको छ। प्रिमियर लिगमा शीर्ष ६ मा रहेर लिग समापन गरेको टोलीले एफए कपको उपाधि उचालेको खण्डमा सातौं स्थानको टोली युरोपा लिगका लागि छनोट हुने प्रावधान छ। 

प्रकाशित: ७ श्रावण २०७७ ०३:०३ बुधबार

युरोपा लिग