आगामी साता युरोपको ठूला व्यावसायिक फुटबल लिगमध्ये एक इङ्लिस प्रिमियर लिग सकिँदै छ, जसमा हरेक टोली फरक लक्ष्य पूरा गर्दै सिजनको अन्त्य गर्ने योजनामा हुनेछन्। हालसम्म अधिकांश टोलीको यस सिजनका दुई खेल खेल्न बाँकी छन् भने उनीहरू आआफ्नो लक्ष्य पूरा गर्न संघर्षरत हुनेछन्। कोही च्याम्पियन्स लिग, कोही युरोपा लिग छनोट हुन प्रयासरत छन् भने केही क्लब रेलिगेसनबाट बच्दै प्रिमियर लिगकै अस्तिव जोगाउन चाहन्छन्। तीन खेल बाँकी छँदा नै नर्विच प्रिमियर लिगबाट घटुवा हुँदा थप दुई टोली इङ्लिस फुटबलको शीर्ष लिगबाट च्याम्पियनसिप क्लबमा झर्नेछन्।
शीर्ष चारको दौड
चेल्सी, लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडमध्ये दुई क्लब शीर्ष चारमा पर्ने सम्भावना प्रबल छ। त्यसअघिका शीर्ष तथा सिजनको च्याम्पियन लिभरपुलसँगै म्यानचेस्टर सिटीले शीर्ष दुई स्थान पक्का गरिसकेका छन्। पछिल्ला समय लयमा रहेको म्यानचेस्टर युनाइटेड रोकिए चेल्सी र लेस्टर च्याम्पियन्स लिगको यात्रा गर्ने दाउमा छन्। दुई खेल बाँकी छँदा तेस्रो स्थानको चेल्सीले त्यसपछिका लेस्टर र युनाइटेडसँग एक अंकको अग्रता बनाएको छ र गोलअन्तरका आधारमा भने युनाइटेड अगाडि छ। आइतबार राति लेस्टरले टोटेनह्यामविरुद्ध चुनौती प्रस्तुत गर्दा बुधबार म्यानचेस्टर युनाइटेडको बाधक वेस्ट ह्याम बन्न सक्नेछ।
यी दुई टोलीले खराब नतिजा सामना गरे बुधबार नै चेल्सीलाई लिभरपुलसँग अंक निकाल्दै फाइदा उठाउने अवसर हुनेछ। जुलाई २६ को अन्तिम चरणका खेलअगावै नै यसै साता शीर्ष चारको समीकरण पूरा हुन सक्नेछ। चेल्सीले दुई खेलबाट चार अंक प्राप्त गरेमा आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का हुनेछ। यद्यपि, चेल्सीलाई घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुने अन्तिम चरणको खेल वुल्भ्सविरुद्ध अंक निकाल्न सहज भने हुनेछैन। लिगको अन्तिम चरणको खेलमा लेस्टर र युनाइटेडबीच किङ्स पावर स्टेडियममा प्रतिस्पर्धा हुँदा त्यसको फाइदा चेल्सीलाई मिल्न सक्नेछ।
युनाइटेड र लेस्टरबीचको खेलमा पराजित टोलीले युरोपा लिगमा स्थान बनाउनेछ। सिजन सुरु भएपछि युनाइटेडले सातमध्ये पाँच खेलमा जित दर्ता गरेको छ। चेल्सी र लेस्टर भने पछिल्ला समय लयमा छैनन्।
युरोपा लिग दौड
लिगको अंकतालिकामा पाँचौं र छैटौं हुने टोली आगामी सिजनको युरोपा लिगका लागि छनोट हुनेछन्। आगामी सिजनको युरोपा लिगको मुख्य दाबेदार अंकतालिकाको आधारमा युनाइटेड र वुल्भ्स देखिएका छन्। यद्यपि, बाँकी दुई खेलमा जित निकाल्न सके युनाइटेडको च्याम्पियन्स लिगको यात्रा पनि खुल्न सक्छ। यदि एफए कप विजेता शीर्ष ६ भित्र परेमा प्रिमियर लिग अंकतालिकाको सातौं स्थानको टोली आगामी सिजनको युरोपा लिग खेल्ने पाउनेछ।
हाल अंकतालिकाको छैटौं टोली वुल्भ्सले बाँकी दुई खेलमा क्रिस्टल प्यालेस र चेल्सीविरुद्ध जित निकाले युरोपा लिगमा स्थान बनाउनेछ। वुल्भ्सभन्दा एक अंकले मात्र पछि रहेको टोटेनह्यामले पनि बाँकी दुई खेल लेस्टर र क्रिस्टल प्यालेसविरुद्ध जित निकाल्न सके युरोपा लिगको ढोका खोल्न सक्नेछ। टोटेनह्यामभन्दा एक अंकले पछि रहेको सेफिल्ड युनाइटेड आठौं स्थानमा छ। छैटौंको वुल्भ्स र सातौंको टोटेनह्यामले लगातार हार बेहोरे सेफिल्डका लागि पनि अवसर कायमै हुनेछ। तर, त्यसका लागि सेफिल्डले बाँकी दुई खेलमा एभर्टन र साउथह्याम्पटनविरुद्ध जित दर्ता गर्नुपर्छ।
रेलिगेसन भय
यस सिजन प्रिमियर लिगबाट नर्विच घटुवा भइसकेको छ भने बाँकी दुई टोली आगामी हप्ता च्याम्पियनसिप क्लबमा झर्नेछन्। रेलिगेसन क्षेत्रबाट ६ अंकको अग्रता बनाएको वेस्ट ह्याम र ब्राइटनको भने घटुवा हुने सम्भावना न्यून छ भने वाटफोर्ड, बर्नमाउथ र एस्टन भिल्लामध्ये दुई टोली घटुवामा पर्नेछन्। रेलिगेसन क्षेत्रको बर्नमाउथभन्दा तीन अंकको अग्रता रहेकाले वाटफोर्डलाई केही सहज छ। साउथह्याम्पटनविरुद्ध आइतबार बर्नमाउथले वाटफोर्डसँग अंक बराबरी गर्नेछ।
यता, वाटफोर्डलाई भने मंगलबार म्यानचेस्टर युनाइटेडविरुद्ध जित निकाल्न कठिन हुने भएकाले बर्नमाउथलाई फाइदा उठाउने अवसर छ। आर्सनलविरुद्ध जित निकाले एस्टन भिल्लासँग पनि रेलिगेसन क्षेत्रबाट माथि उठ्ने अवसर हुनेछ, तर भिल्ला गोलअन्तरका आधारमा बर्नमाउथ र वाटफोर्ड निकै पछि रहेकोले केही कठिनाइ छ। तीन टोलीमध्ये राम्रो स्थितिमा रहेको वाटफोर्डले आगामी बुधबार सिटीविरुद्ध जित निकाल्यो भने बाँकी खेल अगावै बर्नमाउथ र एस्टन भिल्ला घटुवा हुनेछन्।
प्रकाशित: ५ श्रावण २०७७ ०३:०१ सोमबार