खेल

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष गुरुङको निधन

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष मे.दिपकबहादुर गुरुङको निधन भएको छ । उनको ८३ वर्षको उमेरमा निधन भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । उनको निधनले खेलकुदको अभिभावक गुमाएको छ ।  

मे. गुरुङ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका चौथो अध्यक्ष हुन् । उनले तत्कालिन समयमा सबैभन्दा लामो समय चार वर्ष(पूर्ण कार्यकाल) अध्यक्षको पद सम्हालेको उनी पहिलो अध्यक्ष समेत रहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले बताए । यद्यपी उनको समयमा भने कुनैपनि राष्ट्रिय खेलकुद प्रतियोगिता भने भएनन् । गुरुङ २०५५ सालदेखि २०५९ सालसम्मको अध्यक्षको जिम्मेवारी लिएका थिए । उनकै पालामा पोखरा रंगशालाभित्र अधिग्रहण गरिएको केही जग्गाको मुआब्जा वितरण गरिएको थियो ।  

उनीभन्दा अघि तीनले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अधयक्षको जिम्मेवारी सम्हालेका थिए । प्रकाशबहादुर गुरुङले २०५१–२०५२ सालसम्म अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि हितकाजी गुरुङले २०५२–२०५३ सालसम्म अध्यक्ष बने । तेस्रो अध्यक्षको रुपमा फणिन्द्र धितालले २०५३–२०५५ सम्म जिम्मेवारी सम्हालेका हुन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्ष हुँदा चार वर्षे कार्यकाल खाने उनी पहिलो अध्यक्ष समेत हुन् । त्यसपछि दिपकबहादुर कोइरालाले मात्रै चार वर्ष पुरा गरेका थिए ।  

कास्कीको मादी गाउँपालिका ताङतिङ निवासी स्व. मे. गुरुङ नेपाली कांग्रेसबाट राष्ट्रिय सभाको सदस्य समेत बनिसकेका हुन् । पोखरा–१२ शितलदेवी घर भएका उनी लामो समय गेसोको अध्यक्ष समेत रहेर संघर्ष गरेका थिए । उनले झण्डै चार कार्यकाल नै गेसोको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनको निधनले पश्चिमाञ्चल तथा कास्की जिल्लाले खेलकुदको अभिभावक गुमाएको जिल्ला खेलकुदका विका समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।

प्रकाशित: २ श्रावण २०७७ ११:३१ शुक्रबार

निधन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पूर्व अध्यक्ष