खेल

टोटेनह्यामका सहकर्मीबीच धकेलाधकेल

एभर्टनमाथि १–० को जित निकाल्दा सोमबार टोटेनह्यामका ह्युगो लोरिसले सहकर्मी सन ह्युङसँगको खराब गतिविधि मेलमिलापमा परिवर्तन भएको बताएका छन्।

हाफ टाइममा मैदानबाट बाहिरिने क्रममा फ्रान्सेली गोलकिपर लोरिस आफ्नै टोलीका सनमाथि जाइलागे र सनलाई कराउँदै उनको काँधमा धकेलेका थिए। धेरै जसो शान्त स्वभावमा देखिने सनले पनि लगत्तै गोलकिपर लोरिसमाथि प्रतिक्रिया जनाएपछि टोटेनह्यामकै सहकर्मी ह्यारी विङ्स र मौसा सिसोकोले छिट्टै उक्त गर्मागर्मीलाई शान्त पारेका थिए। एभर्टनका रिचार्लिसनले चुनौती सामना गर्नुअघि सनले मिडफिल्डमा बल फुत्काएका कारण लोरिस उनीसँग चिडिएका हुन्।  

‘दोस्रो हाफ सकिनुभन्दा केही सेकेन्डअगाडि गोल बेहोर्ने खतरा थियो, कसैको ध्यान नगएपछि त्यस्तो अवस्था सिर्जना भयो। फुटबलमा यस किसिमका घटना भइराख्छन्,’ लोरिसको स्पष्टीकरण थियो। टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले हाफ टाइमको समयमा विवाद समाधान गर्न खोजेपछि क्लबले खासै ठूलो क्षति बेहोर्नुपरेन। उत्तरी लन्डनमा रेफ्रीले खेल सकिएको संकेत गर्दै अन्तिम सिटी फुकेपछि दुवैले रिस त्यागे र लोरिसले सनलाई बोक्दै खुसी व्यक्त गरेका थिए। सिजन फर्किएपश्चात् टोटेनह्यामले दोस्रो सफलता निकाल्दा सन र लोरिसले दुवै झगडा बिर्सिए।

उत्तरी लन्डनमा रेफ्रीले खेल सकिएको संकेत गर्दै अन्तिम सिटी फुकेपछि दुवैले रिस त्यागे र लोरिसले सनलाई बोक्दै खुसी व्यक्त गरेका थिए।

‘चेन्जिङ रुम जाँदा मात्र त्यो घटना देखिएको थियो। मैदानबाहिर चाहेअनुरूप नहुँदा त्यस्तो हुन सक्छ र फुटबल कहिलेकाहीं भइरहेका पनि छन्। इमानदारिताका साथ भन्नुपर्दा त्यो अवस्थामा हामी खुसी थिएनौं  र त्यसैले झगडा ग¥यौं। हामी हाम्रो लक्ष्य भेट्याउन चाहन्थ्यौं,’ लोरिसले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा टिम गेमतर्पm ध्यान केन्द्रित हुन जरुरी हुन्छ र हामीले टिमका हित हुने तवरबाट त्यो गतिविधि गरेको हुनुपर्छ। तर अहिले उनी र मबीच कुनै समस्या छैन, जुन तपाईंहरूले पनि खेल सकिने बित्तिकै देखिहाल्नु पनि भयो होला।’ पहिलो हाफमा पाएको आत्मघाती गोलबाट टोटेनहमले तीन अंक प्राप्त गरेको थियो।

टोटेनह्यामका जिओभानी लो सेल्सोको सट प्रहार रोक्ने क्रममा एभर्टनका डिफेन्डर मिकाइल किनले आफ्नै पोस्टमा गोल गर्न पुगे। सन र लोरिसबीच भड्किलो वातावरण सिर्जना भएको दिन माउरिन्होले प्रिमियर लिगमा व्यक्तिगत दुई सयौं जित दर्ता गराए। ‘मैले उनीहरू (सन र लोरिस)बाट धेरै आशा गरेको थिएँ र त्यसैले सहकर्मीबीच पनि दबाब बढ्यो। पहिलो हाफमा त्यस किसिमका अवस्था सिर्जना भयो र कप्तान विचार सनले अभैm धेरै राम्रो गरुन् भन्ने थियो,’ माउरिन्होले भने, ‘उनीहरूबीच त्यस्तो ठेलाठेला भएको थिएन, तर टिमका लागि राम्रो होस् भन्ने धारणा व्यक्त थियो। दोस्रो हाफको अन्तसम्म उनीहरू एक भएर भिडे।’  

सबै प्रतियोगितामा गरेर पछिल्ला १० खेलबाट दोस्रो जित निकालेको टोटेनह्याम प्रिमियर लिग अंकतालिकामा आठौं स्थानमा उक्लिएको छ र सातौं स्थानको उत्तरी लन्डन प्रतिद्वन्द्वी आर्सनलभन्दा एक अंकले पछि छ। माउरिसियो पोचेटिनोको नेतृत्वमा च्याम्पियन्स लिग फाइनल खेलेको टोटेनह्यामले एक वर्षपछि नै युरोपा लिगका लागि संघर्ष गरिरहेको छ। जितसँगै टोटेनह्याम सन् २००९÷१० को सिजनपश्चात् युरोपियन प्रतिस्पर्धाबाट बाहिर रहने भय केही कम भएको छ। सन् २०१२ देखि टोटेनह्यमलाई हराउन नसकेको एभर्टनले पछिल्ला चार खेलमा पहिलो हार बेहोरसँगै आगामी सिजनको युरोपियन प्रतिस्पर्धाबाट टाढिएको छ।

प्रकाशित: २४ असार २०७७ ०६:०६ बुधबार

टोटेनह्याम एभर्टन