खेल

रुटले पहिलो खेल गुमाउने

इङ्ल्यान्डका क्रिकेट कप्तान जो रुटले आउँदो सातादेखि क्यारेबियन टोली वेस्ट इन्डिजसँग हुने पहिलो टेस्ट गुमाउने भएका छन्।  

इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले मंगलबार वेस्ट इन्डिजसँग हुने पहिलो टेस्ट गुमाउने जनाएको हो। आउँदो साता दोस्रो सन्तान हुने भएकाले रुट अभ्यासमा गएका छैनन्। उनी आफ्नी श्रीमतीका साथ रहनका लागि अभ्यास छाडेको जनाइएको छ। कप्तान रुटले बुधबारबाट सुरु हुने तीन दिनको आन्तरिक अभ्यास छाड्न लागेका हुन्। आउँदो साताबाट उनको टोलीले वेस्ट इन्डिजसँग पहिलो टेस्ट क्रिकेट खेल्दै छ। त्यसका लागि एक साताअघि नै क्यारेबियन टोली इङ्ल्यान्ड प्रस्थान गरेको थियो। दुई साता लामो क्वारेन्टिनपछि टोलीले आउँदो साताबाट घरेलु टोलीसँग टेस्ट खेल्न लागेको हो।  

विश्वभर कोरोना (कोभिड–१९) को महामारीपछि पहिलो पटक क्रिकेट खेल फर्किन लागेको हो। रुटले पहिलो खेल गुमाउने यसअघि नै निश्चित थियो। आउँदो साता दोस्रो सन्तानका पिता हुन लागेका रुटले घरमै आइसोलेसनमा बस्नका लागि एक साताअघि नै टोली छाड्न लागेका हुन्। एक साताको घर बसाइपछि रुट परिवारसँगै अस्पताल जानेछन्।  

इमिरेट्स ओल्ड ट्राफोर्डमा जुलाई १६ बाट हुने दोस्रो टेस्टमा भने उनले सहभागिता जनाउने अपेक्षा लिइएको छ। बन्द रंगशालाभित्र आयोजना हुने शृंखलाको फाइनल खेल भने म्यानचेस्टरको मैदानमा हुने तालिका छ। साउथह्याम्पटनमा हुने पहिलो टेस्ट खेलमा पहिलो पटक उपकप्तान बेन स्टोक्सले इङ्ल्यान्ड टोलीको नेतृत्व गर्नेछन्। उक्त खेलमा जोस बट्लरलाई उपकप्तानको जिम्मेवारी दिइनेछ। 

प्रकाशित: १८ असार २०७७ ०३:०३ बिहीबार

इङ्ल्यान्ड क्रिकेट कप्तान